यौनिक तथा लैंगिक अल्पसंख्यक सांस्कृतिक नृत्य प्रतियोगिता भव्य रुपमा सम्पन्न, नवलपरासीको कौडा नृत्य ५० हजार पुरस्कार जित्न सफल

यौनिक तथा लैंगिक अल्पसंख्यक सांस्कृतिक नृत्य प्रतियोगिता भव्य रुपमा सम्पन्न, नवलपरासीको कौडा नृत्य ५० हजार पुरस्कार जित्न सफल

अम्बिका दाहाल/काठमाडौ (पहिचान) असार ११ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिलो राष्ट्रिय नृत्य प्रतियोगिताको उपाधी कौडा नृत्य प्रस्तुत गरेको नवलपरासीको समूहले हात पारेको छ । ५० हजार रुपैयाँ राशीको पहिलो पुरस्कार नवलपरासीको कौडा नृत्य प्रस्तुत गर्ने समूहले पाएको हो ।

विविध यौनिकता विविध लैंगिकता संस्कृति संवर्धन गर्ने हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नील हिरा समाजले आयोजना गरेको राष्ट्रिय सांस्कृतिक नृत्य प्रतियोगितामा सोरठी नृत्य प्रस्तुत गर्ने भैरहवाको समूहले दोस्रो भएर ४० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । यस्तै सोरठी नृत्यमै काठमाडौंको समूहले तेस्रो भएर ३० हजार पुरस्कार पाएको छ ।

पुर्वेली मारुनी नृत्य प्रस्तुत गरेको काठमाडौंको समूहले सान्त्वना स्वरुप १० हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । विभिन्न १८ जिल्लाबाट सहभागी १५० जना समलिंगी तेस्रोलिंगीले आ आफ्नो क्षेत्रको भेषभुषा सहित नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगीतामा काठमाडौंको पञ्चबुद्ध नामको चर्या, महोत्तरीको जारजाती बोलको मैथली, हेटौडाको तामाङ सेलो, उदयपुरको मैथली, पोखराको झ्याउरे नृत्य प्रस्तुत भएको थियो ।

यस्तै विरगंजको भोजपुरी, काठमाडौंको पूर्वेली मारुनी, दाङको थारु, धनगढीको देउडा, लाहानको मैथली, सिन्धुलीको कौडा, बर्दियाको हुर्दुगामा, जनकपुरको झिझिया, काठमाडौंको सोरठी, राजविराजको मैथली नृत्य प्रस्तुत भएको थियो ।

यस्तै मलंगवाको भोजपुरी, इटहरीको चण्डी साकेला,भैरहवाको सोरठी, कपिलवस्तुको पतगुइया र नवलपरासीको कौडा नृत्यले प्रतिष्पर्धामा सहभागीता जनाएका थिए । २० वटा नृत्यको निर्णय नृत्य निर्देशक कमल राई, गोविन्द राई र नृत्य कलाकार सम्झना बुढाथोकीले गरेका थिए । प्रतियोगितामा विजयी भएका समूहलाई नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ र निर्णायक मण्डलले पुरस्कार वितरण गरेको थियो

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.