छक्का हिजडा शब्द प्रयोग गरे कानुनी कारवाही हुने

छक्का हिजडा शब्द प्रयोग गरे कानुनी कारवाही हुने

काभ्रे (पहिचान) भदौ १२ – काभ्रेको फलाटेमा अब समलिंगी तेस्रोलिंगीलाई छक्का हिजडा शब्द प्रयोग नगर्ने सहमति भएको छ । फलाटे प्रहरी चौकीमा नील हिरा समाज र स्थानीयबीच हिजडा शब्द प्रयोग नगर्ने सहमति भएको हो । स्थानीय नकुल खड्काले गाली बेइज्जती गरेर माधव खड्कालाई हिजडा शब्द प्रयोग गरि मानसिक तनाव दिएको उजुरीमा भएको छलफलमा नकुलले अब हिजडा शब्द प्रयोग गरेर कानुनी कारवाही भोग्न तयार भएको भन्दै प्रहरी समक्ष लिखित रुपमै माफी मागे ।

झण्डै ३ घण्टा भएको छलफल पछि नकुल खड्का माफी माग्दै अब हिजडा शब्द प्रयोग नगर्नसहमत भएका हुन् । “मैले भिनाजुसँग झगडा पर्दा हिजडा जस्तो व्यवहार नगर्नु भनेको हो, तर माधब खड्कालाई प्रत्यक्ष त्यस्तो भनेको होइन नकुलले प्रहरी समक्ष भने यस्तो शब्द प्रयोग गर्नु हुने रैनछ, थाहा पाए अब यस्तो कहिले पनि गर्दिन ।”

फलाटे प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक लक्ष्मण साप्कोटाले संविधानमै तेस्रोलिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) भनेर संवोधन गरेकाले त्यस्ता व्यक्तिलाई छक्का हिजडा भनेर मानसिक तनाव दिए कानुनी कारवाही हुने वताए । “संविधानमै उहाँहरुको अधिकार लेखिएको छ, उहाँहरुलाई मानसिक तनाव दिने शब्द प्रयोग गर्नु हुँदैन साप्कोटाले भने अब फेरी छक्का हिजडा भनेर मानसिक तनाव दिए कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा सिफारिस गर्छौ ।”

उनले रेडियो कार्यक्रम पहिचान सुनेर समलिंगी तेस्रोलिंगीबारे ज्ञान लिन फालेटाका स्थानीयलाई सुझाव पनि दिए । “हरेक दिन प्राइम एफ एमबाट दिउँसो ४ बजेदेखि ५ बजेसम्म पहिचान कार्यक्रम आउँछ, त्यहाँ पूर्व सभासद् सुनिलबाबु पन्तले समलिंगी तेस्रोलिंगीको बारे सन्देश मुलक संक्षिप्त सामग्री दिइरहनु भएको हुन्छ प्रहरी सहायक निरीक्षक साप्कोटाले भने, हामी पनि त्यो कार्यक्रम सुन्छौ र तपाईहरु पनि सुन्नुहोस ।”

उनले अरुलाई असर नपर्ने गरी मानिसले आफ्नो अधिकार प्रयोग गर्न पाउने संवैधानिक अधिकार रहेको वताए । “हिजडा शब्द प्रयोग गरेर नकुलले गल्ती गरेको हो, उसले माधवसँग क्षमा माग्नु पर्छ उनले भने, गल्ती स्वीकार गरेर क्षमा नमाग्ने हो भने हामी कानुनी कारवाहीका लागि जिल्लामा सिफारिस गर्छौ ।”

नकुलका बुबाले माधबलाई तेस्रोलिंगी भएको थाहा पाएपछि बोलचाल नै नगरेको बताएपछि नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले दरिद्र मानसिकता त्याग्न आग्रह गरिन । “मलाई हेर्नुहोस म तेस्रोलिंगी हुँ, मलाई घरपरिवार आफन्तले स्वीकार गरेका छन् पिंकीले भनिन्, जस्को पनि सन्तानमा हामी जस्ता व्यक्ति हुनसक्छन, तपाईको परिवारमा भएको आफ्नो सन्तान तेस्रोलिंगी भयो भन्दैमा बोलचाल नै नगर्नु भनेको दरिद्र मानसिकता हो ।”

उनले हिजडा शब्द प्रयोग गरेर नकुलले पुरै समुदायलाई लाञ्छना लगाएको वताइन । अध्यक्ष गुरुङले संविधानमा लेखिएको अधिकारबारे अध्ययन गर्न सुझाव पनि दिइन । “नबुझ्नेलाई बुझाउनु हाम्रो दायित्व हो, हामी बुझाउन यहाँ आएका छौ अध्यक्ष गुरुङले भनिन्, बुझेर पनि बुझ पचाउनु हुन्छ भने प्रशासनको कारवाही भोग्न तयार हुनु पर्छ ।”

उनले अबदेखि छक्का हिजडा शब्द प्रयोय गरेर मानसिक तनाव नदिन आग्रह गरिन । प्रहरी सहायक निरीक्षक लक्ष्मण साप्कोटा र समाजकी अध्यक्ष गुरुङको आग्रहमा नकुलले गल्ती स्वीकार गरेर क्षमा मागे । समाजका कानुनी सल्लाहकार एवं अधिबक्ता सुजन पन्तले छक्का हिजडा शब्द प्रयोग गर्नु कानुन विपरित हुने वताए ।

नील हिरा समाज शाखा कार्यालय भक्तपुरकी ज्योती थापाले छक्का हिजडा शब्द प्रयोग गरेर गल्ती नगर्न आग्रह गरिन । “म पनि तेस्रोलिंगी हुँ मलाई परिवार, समाजले स्वीकार गरेको छ ज्योतीले भनिन, माधब खड्का तेस्रोलिंगी हुँदा के गल्ती गर्यो ?”

परिवारले नबुझ्दा र फरक व्यवहार गर्दा समाजमा नकारात्मक सन्देश जाने भन्दै ज्योतीले आफ्ना सन्तानलाई समान व्यवहार गर्न सुझाव दिइन । अधिकारकर्मी विश्वराज अधिकारी, भक्ती शाह र सुदिप गौतमले आफूहरुको अधिकार प्राप्तिको अभियानमा धक्का पुग्ने खालका गतिविधि व्यवहार नगर्न फालाटेका स्थानीयलाई आग्रह गरे ।

नकुल सहितका स्थानीयले माधब खड्का र उनको परिवार तथा आफन्तलाई मानसिक तनाव हुने गरी अपशब्द प्रयोग गरे कानुनी कारवाही भोग्न तयार भएको लिखित सहमति गरे । उनीहरुले प्रहरीको उपस्थितिमा सहमति गरेर सामूहिक तस्विर समेत खिचाए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.