के हुँदैछ पोखरा परामर्श भेलामा ?

के हुँदैछ पोखरा परामर्श भेलामा ?

काठमाडौं (पहिचान) भदौ १९- नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले राष्ट्रिय परामर्श भेलामा संविधान कार्यान्वयनको बिषय प्रमूख एजेण्डा भएको वताएकी छन् । उनले संविधान अनुसार कानुन निर्माण, पाठ्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकको विषयको विस्तृत समावेशीकरण, समलिंगी तेस्रोलिंगीको अधिकारका लागि सञ्चार माध्यमको भूमिका लगायतका विषयमा भेलामा छलफल हुने बताएकी छन् ।

यही भदौ २२ र २३ गते कास्कीको पोखरामा हुने परामर्श भेलामा नयाँ संविधानले पहिलोपटक समलिंगी तेस्रोलिंगीको अधिकार सुरक्षित गरेको अवस्थामा त्यसलाई कानुनमा कसरी समावेश गर्ने भन्ने विषयमा विस्तृत छलफल हुने कार्यकारी निर्देशक ढकालले बताइन् ।

पाठ्यक्रममै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषय कक्षा ११ र १२ को पाठ्यक्रममा समावेश गर्ने भन्ने विषयमा पनि परामर्श भेलामा प्यानल डिस्कसन हुने उनको भनाइ छ । पाठ्यक्रम विकास केन्द्रले अहिले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम निर्माण गरिरहेका बेला यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका क्षेत्रमा काम गरिरहेको संस्था नील हीरा समाजले यस विषयमा छलफल चलाउन लागेको हो ।

भेलामा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि सञ्चारमाध्यमको भूमिका के हुृन सक्छ भनेर पनि छलफल हुनेछ । उक्त छलफलमा सञ्चारकर्मीसँगै समलिंगी तेस्रोलिंगीको सहभागीता हुनेछ । छलफलबाट आएका सुझावलाई समाजले कार्यान्वयन गर्दै जाने जनाएको छ ।

समलिंगी तेस्रोलिंगीलाई समाजका सबै पक्षले सकारात्मक विभेदको वातावरण बनाउँदै जानु पर्नेमा कार्यकारी निर्देशक ढकालल् जोड दिइन । समाजमा सानो संख्यामा रहेका अल्पसंख्यकलाई आरक्षण गरे पनि समलिंगी तेस्रोलिंगीलाई भने आरक्षण दिने नगरेको भन्दै उनले अब यस्तो अवस्थाको अन्त्य हुनुपर्ने वताइन ।

समलिंगी विवाहलाई मान्यता दिनु पर्नेमा उनको जोड छ । संविधानले अधिकार दिइसकेको अवस्थामा विभागिय मन्त्रालयले यसलाई विधेयकको ड्राफ्ट बनाएर संसदमा तत्काल पेश गर्नु पर्ने उनले बताइन् । किन यसमा विभागीय मन्त्रालय र सांसदहरुले ढिलो गरिरहेका छन् भन्नेबारे भेलामा उपस्थित सांसद तथा मन्त्रालयका प्रतिनिधिसँग जिज्ञासा राख्दै परामर्श गरिने ढकालले बताइन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको व्यक्ति भएर पनि सफलता प्राप्त गरेका व्यक्तिको सफलताको कथा पनि परामर्श भेलामा प्रस्तुत गरिने छ । जसमा सफल व्यक्तिले आफ्नो सफलताको कारण प्रस्तुत गर्नेछन् । समलिंगी तेस्रोलिंगी भएर पनि नखुलेका व्यक्तिलाई खुलेर आइदिन कार्यकारी निर्देशक ढकालले आग्रह गरिन् । समलिंगी तेस्रोलिंगीलाई घरबाटै विभेद हुने गरेको भन्दै निर्देशक ढकालले घरबाटै बिभेद अन्त्यको सुरुवात गर्नुपर्नेमा जोड दिइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.