समलिंगी विवाहले मान्यता पाउने सांसद बिडारी र चौधरीको विश्वास

समलिंगी विवाहले मान्यता पाउने सांसद बिडारी र चौधरीको विश्वास

कास्की (पहिचान) भदौ २२ – सांसद रामनारायण विडारीले समलिंगी तेस्रोलिंगी प्रकृतिको बरदान भएको भन्दै सबैले सबैलाई स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । नील हिरा समाजको राष्ट्रिय परामर्श कार्यक्रममा उनले नयाँ संविधानले यौनिक अल्पसंख्यकलाई संबोधन गरेको भन्दै यसलाई उपलब्धीको रुपमा लिनुपर्नेमा जोड दिए ।

समलिंगी विवाहलाई मान्यता दिने या नदिने भन्ने विषयमा संसदमा लामो छलफल भएको भन्दै त्यो छलफलमा एकमत हुन नसकेपनि मन्त्रालयबाट समलिंगी विवाहलाई मान्यता दिनुपर्ने सहमति भएको बताए । उनले विवाहको महलमा महिला र पुरुष भन्ने ठाउँमा दुई व्यक्ति र छोरा र छोरी भन्ने शब्दको ठाउँमा सन्तान भन्ने शब्द राखरै छोड्ने पनि प्रतिबद्धता जनाए ।

राजनीति बहुमतले चले पनि मानव अधिकार बहुमतले नचल्ने भएको भन्दै थोरै संख्यामा रहेपनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानवअधिकार बञ्चित हुन नसक्ने बताए ।

स्थानीय सरकारबाट बजेट सबै पक्षलाई वितरण गर्नुपर्नेमा अब विभेद भयो भने त्यसका लागि आफू लड्न तयार रहेको सांसद् विडारीले बताए ।

पूर्वीय दर्शनमा समलिंगी तेस्रोलिंगी रहेको भन्दै उनले ठूलो या सानो संख्यामा रहेको भए पनि अधिकार पाउनुपर्ने बताए । उनले आफू संसदमा रहे पनि र नरहेपनि सँधै सहयोग गर्ने प्रतिबद्धता जनाए ।

आफ्नो अधिकारका लागि आफू स्वम सक्रिय हुनुपर्नेमा उनको जोड छ । नील हिरा समाजले हेटौंडामा शाखा कार्यालय खोल्न खोज्दा कसैले नदिदाँ आफूले आफ्नै घरमा कोठा दिएको प्रसंग समेत उनले सुनाए ।

यस्तै सांसद गंगा चौधरीले समलिंगी विवाहले मान्यता पाउने बताइन । नील हिरा समाजको राष्ट्रिय परामर्श कार्यक्रम बोल्दै उनले सर्वोच्च अदालतले दुई व्यक्ति संगै बस्न पाउने फैसला गरिसकेको अवस्थामा अब संसद्ले समलिंगी विवाहलाई मान्यता दिने कानुन बनाउने विश्वास व्यक्त गरिन् ।

विधायन समितिमा रहँदा आफूले समलिंगी विवाहलाई मान्यता दिनु पर्ने विषयमा धेरै संघर्ष गरेको स्मरण गर्दै उनले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाइन् ।

उनले अधिकार सबैले पाउनु पर्ने बताइन् । आफ्नो परिवारमा पनि यौनिक तथा लैगिक अल्पसंख्यकको व्यक्ती भएको भन्दै तर बाहिर आउन नसकेको बताइन् । अहिले खुलेर आएको भन्दा धेरै समलिंगी तेस्रोलिंगी आफ्नो पहिचानलाई लुकाएर बसेको उनले बताइन् ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.