मलङ्गवाकी ‘हट’ उम्मेदवार राधा मौसी : ठूला दललाई ठूलै थ्रेट

मलङ्गवाकी ‘हट’ उम्मेदवार राधा मौसी : ठूला दललाई ठूलै थ्रेट

नेत्र पन्थी र एसके यादव/सर्लाही (पहिचान) भदौ २८ – जिल्ला सदरमुकाम रहेका मलङ्गवा नगरपालिकामा मेयरमा एक जना यस्तो स्वतन्त्र उम्मेदवार छिन्, जसले ठूला दलका उम्मेदवारलाई चुनौती थपिदिएका छन् । अझ अनौठो त यो छ कि ती उम्मेदवार तेस्रो लिङ्गी हुन्, जो जिल्लामै समाजसेवीका रूपमा परिचित छिन् ।

मलङ्गवा बजारमा चुनाव प्रचारको क्रममा भटिएकी मेयर पदकी स्वतन्त्र उम्मेदवार हुन्, महेन्द्र साह उर्फ राधा मौसी । ६५ वर्षकी उनी पहिलो पटक चुनाव लड्दैछिन् । उनको घर मलङ्गवा ९ मा पर्छ र घरमा उनका एकजना भाइ छन् । उनले एक धर्मपुत्र पनि राखेकी छिन् । सर्लाही जिल्लामा सबैले उनलाई मौसी भनेर चिन्छन् ।

किन चुनाव लड्नुभयो ? पहिलो प्रश्न यहीँबाट सुरु गरेपछि उनले आफ्ना योजना सुनाइन् । ‘मलङ्गवाको विकास गर्नका लागि चुनाव लड्दैछु ।’ केहीबेर हामीतिर हेरिन् र भनिन्– ‘यहाँ सडकको समस्या छ । स्वास्थ्य र शिक्षाको समस्या छ ।’

उनलाई विभिन्न पार्टीले आफ्नो पार्टीमा आउन पनि अफर गरेका रहेछन् । तर, राधा मौसीले चाहिँ स्वतन्त्र लड्ने मन बनाइन् । यसको कारण पनि उनीसँगै रहेछ । ‘तपाईंलाई थाहा होला नि पार्टीबाट चुनाव लड्नको हात बाँधिन्छ । पार्टीले हात बाँधपछि विकास गर्न पाइँदैन । विकास गर्न नपाएपछि किन चुनाव लड्ने ?’ मैथली भाषामा उनले आफ्नो तर्क सुनाइन््, ‘मलाई लाग्यो स्वतन्त्र भएर चुनाव लड्न सजिलो ।’

हामीले उनलाई भेटेका ठाउँमा उनीसँगै आठ दश जना अरू तेस्रो लिङ्गी चुनाव प्रचारमा थिए । राधा मौसीसँग स्वतन्त्र उपमेयरमा चुनाव लडे्की एक जना उपमेयर पनि सँगै थिइन् ।

शरीरभरि गहना पहिरिएकी राधा मौसीको कमाइ र समाजसेवाको पृष्ठभूमि रोचक छ । सुुरुमा उनको कमाइ जान्न खोजेपछि उनले सबै कुरा बताइन् । तराई मधेसमा कसैको घरमा बच्चा जन्मियो भने त्यहाँ तस्रो लिङ्गीलाई लगेर नाच गान गर्न लगाउँछन् । त्यसो गर्दा बच्चा दीर्धजीवी हुने विश्वास गरिन्छ । यहीँनेर रोधी मौसीको कमाइको मेसो । यसलाई तराई मधेसमा बधैयाँ (वधाई) भनिन्छ । बच्चालाई बोकेर उनीहरूले नचाउँछन् । अहिलेसम्म मलङ्गवाका मात्रै एक हजारभन्दा बढी घरमा पुगेर उनले बधैयाँ कार्यक्रम गरेकी छिन् । ती परिवारबाट आफूलाई भोट आउने दाबी गरिन् ।

उनी आफ्नै नेतृत्वमा यस्तो कार्यक्रम लिएर बच्चा जन्मिएको घरमा जान्छिन् । त्यसो त यस्तो समुदायका पाँच, सातवटा टिम छन्, जो कसै न कसैको घरमा पुगेका हुन्छन् । कहिलेकाहीँ दिनमा पाँच, सातवटा कार्यक्रममा उनीहरू सहभागी हुन्छन् ।

राधा मौसीका अनुसार यस्तो बधाई दिने कार्यक्रममा गएर नाचगान गरेपछि बच्चाको परिवारले उपहार दिन्छन् । यस्तो उपहार नगद पनि हुन्छ र गरगहना पनि । उनले तीन लाख नगदसम्म कुनै परिवारले उपहार दिएको सुनाइन् । त्यसबाहेक कोही परिवारले दश तोलासम्म सुन दिएका छन् । मलङ्गवा भारतसँग जोडिएको छ । त्यसैले राधा मौसीको टिम भारतमा गएर पनि यस्ता कार्यक्रम गर्छन् र धेरै उपहार लिएर फर्कन्छन् ।

राधा मौसीले तीस, चालीस वर्षदेखि यस्तो काम गर्दै आएकी छिन् । यसबाट उनलाई करौडौँ कमाइ भएको छ ।

तर मौसीले यसरी आएको पैसा समाजसेवामा लगाउने गरेकी रहेछिन् । ‘मागेर ल्याउँछौँ, अरूलाई दिन्छौँ’ उनले भनिन् ।

उनको समाजसेवा कस्तो छ भने मुस्लिम समुदायका लागि मदरसामा पैसा दिन्छिन् । मन्दिर बनाउन पनि पैसा दिन्छिन् । गरिब परिवार सहयोग माग्न आए खाली हात पठाउँदिनन् । कसैको छोराछोरी बिरामी भए उपचार खर्च दिन्छिन् । यो वर्षौंदेखि गर्दै आएकी रहेछिन् । यहीँ समाज सेवाको बलमा उनले मेयर लड्न सोच बनाइन् । ठूला दलका उम्मेदवारका लागि चुनौती बनिरहेकी छिन् ।

समाजसेवामा आफ्नो योगदानको कथा सुनाएपछि मौसी फेरि चुनावी तयारीकै विषयमा कुरा गर्न खोजिन् । उनले आफू कुनै पार्टीको उम्मेदवारसँग नडराएको र चुनाव जित्ने दाबी नै गरिन् । उनका अनुसार उम्मेदवारी फिर्ता लिएर सहयोग गरेर करोडौँ रकम दिने अफर आएको थियो । उम्मेदवारी दर्ता नगर्न धम्की आएको पनि उनको दाबी छ । ‘मलाई उम्मेदवारी दर्ता गरे टाउकोमा वियरको बोत्तलले हिर्काउने धम्की आयो । दर्तापछि उम्मेदवारी फिर्ता लिए करौडौँ दिने अफर आयो ।’ उनले आफूले स्वाभिमानका लागि चुनाव लडेको भन्दै भनिन्– ‘मलाई पैसा होइन । इज्जत चाहियो । शान चाहियो ।’

आफू एक्लै रहेको र कमाउनका लागि नभई समाजसेवा गर्नका लागि मेयर पदमा लडेको बताइन् । ‘पैसा त मलाई किन चाहियो ? म विकास गर्न चाहेर, समाजसेवा गर्न चाहेर चुनावी मैदानमा आएकी हुँ’ उनले भनिन्– ‘मेरो परिवार छैन । परिवार भनेकै समाज हो । उहाँहरूको सेवा मेरो धर्म र कर्म हो ।’

मौसीकै टिममा रहेको उपमेयरमा लडेकी छिन् अप्सना खातुन । उनका बुवा चाहिँ राजपाबाट वडा अध्यक्षमा चुनाव लडेका छन् । अप्सनाले आफूहरू दुवैले चुनाव जित्ने दाबी गरिन् । अप्सना खातुनका श्रीमान नेक महमद मौसी र अप्सनालाई मुस्लिम समुदायको ९० प्रतिशत मत आउने दाबी गरे ।

हामीले मलङ्गवा नगरपालिकाका मेयरका अन्य दुई प्रत्यासीलाई सोध्यौँ, ‘मौसी तपाईंहरूका लागि कति चुनौती हुन् ?’ एमालेका मेयरका उम्मेदवार देवेन्द्र यादवले भने, ‘उहाँसँग कुनै चुनौती छैन ।’

राजपाका मेयरका उम्मेदवार नागेश्वर राय यादवले पनि मौसी चुनौती नरहेको बताए । उनले भने– ‘उहाँबाट राजपालाई कुनै चुनौती छैन । उहाँको कुरा उहाँले जान्ने हो ।’

पत्रकार मनोज यादव मौसी चर्चित पात्र भए पनि तराई मधेसमा पितृसत्तात्मक सोचको शिकार हुने खतरा रहेको बताए । ‘उहाँको सबै राम्रो छ । तर, तराई मधेसमा पितृसत्तात्मक जुन सोच छ, त्यसको शिकार हुने खतरा छ । तेस्रो लिङ्गी भएकाले पनि समाजले अस्वीकार गर्न सक्छ । यति धेरै व्यक्तित्व भएको ठाउँमा सत्ताको बागडोर त्यस्तो व्यक्तिलाई दिने विषयमा समाजवमा बहस चल्न सक्छ ।’ यादवले भने– ‘उनलाई पैसाको दुःख छैन । भ्रष्टाचार गर्नु छैन । समाजसेवाको छवि र मौसीले सबै उम्मेदवारलाई थ्रेट गराएकी छिन् ।’

मलङ्गवा नगरपालिकामा मेयर पदमा १८ जना मैदानमा छन् । यहाँ प्रमुख तीन दल काङ्ग्रेस, एमाले, माओवादी र राजपाले चुनाव आफ्नो पक्षमा आउने दाबी गरेका छन् ।

यहाँ काङ्ग्रेसबाट निरसत साह, एमालेबाट देवेन्द्र राय यादव, माओवादीबाट मोहम्मद समसुल हक, राजपाबाट नागेश्वर राय यादव, राप्रपाबाट गङ्गाराम राय, मुस्कान सेनाबाट रामप्यारे महतो सुडी उम्मेदवार छन् । यसबाहेक स्वतन्त्र रूपमा अवधकिशोर साह तेली,  नागेन्द्रप्रसाद यादव, नागेन्द्र राय यादव, प्रेमप्रसाद श्रेष्ठ, राजकुमार यादव, राजेन्द्र कुमार यादव, सुशील कुमार कुँवर, सुशील राय यादव लगायतले मेयरका लागि उम्मेदवारी दिएका छन् ।

सर्लाहीमा २० स्थानीय तह, २ सय वडा, ३१८ मतदानस्थल, ५०१ मतदान केन्द्र र ३ लाख ६६ हजार ६०० सय मतदाता छन् । तिनै मध्येको एक स्थानीय तह हो मलङ्गवा नगरपालिका । २ नम्वर प्रदेशमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह चुनावमा आफूलाई तेस्रोलिंगीको पहिचान दिएर मेयर पदमा उम्मेदवार दिने राधा मौसी पहिलो हुन् ।

साभार : रातोपाटी

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.