‘दुर्गा’ : एक आत्म-शक्ति र साहस

‘दुर्गा’ : एक आत्म-शक्ति र साहस

सुनिलबाबु पन्त/पहिचान – नेपालमा देवीका मन्दिरहरु र शक्तिपीठहरु थुप्रै छन्। यी सवै देवीहरु मध्ये भवानी-दुर्गाको विषेश स्थान छ। दुर्गा राजा-माहाराजाकी देवी हुन्, राम र रावण दुबै उनको उपासना गर्दथे।उनलाई सिंहमाथी सवार गरेको, हातमा थुप्रै अस्त्र-शस्त्र धारण गरेको र महिषासुरसंग लड्दै गरेको देखाइन्छ। आम नेपाली हिन्दुहरुको माहान चाड बडा दशैं यिनै दुर्गा भवानीका लागिसमर्पित छ, नवरात्र भरी नौ स्वरुपहरु: शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता,कात्यायिनी, कालरात्री,महागौरी,सिद्धिदात्रीको विशेष पूजा र आराधाना गरिन्छ।

दुर्गालाई विजयको प्रतिक पनि मानिन्छ। ‘दुर्गा’ शव्दको अर्थ बुझ्नका लागि पहिला ‘दुर्गम’ शब्दलाई बुझ्नु पर्दछ। ‘दुर्गम’ शब्द ‘दुर्’ र ‘गम्’ शब्दको समिश्रणवाट बनेको हो जस्को अर्थ पार लगाउन निकै कठिन(दुर्गम) गन्तव्य या लक्ष; र यो कठिन(दुर्गम) गन्तव्य या लक्षलाई पार लगाउन सक्ने अर्थात ‘दुर्गा’। यसै शब्दवाट ‘दुर्ग’ अर्थात किला: (fortress) भन्ने शब्द पनि बनेको छ, दुर्ग (वा किला:) शत्रुको आक्रमणवाट सुरक्षा गर्नका लागि अग्लो पर्खालले घेरिएको ठांउलाई भनिन्छ। दुर्गाको अर्को नाम ‘शक्ति’ पनि हो।त्यसैले दुर्गा भनेको यस्तो व्यक्ति जो पार लगाउन निकै कठिन गन्तव्य या लक्षमा पुग्न सफल हुन्छ, जो शाक्तिशालि छ। ‘दुर्गा’लाई पुरानो धार्मिक परम्परा अनुसार पुजा-अर्चना र वली चडाउनेमा मात्र सिमित राख्न पनि सकिन्छ वा सांकेतिक अर्थमा बुझेर आधुनिक संदर्भमा पनि लिन सकिन्छ। ‘दुर्गा’, त्यसैले आजको चुनौतिहरुले भरिएको संसारको सामना गर्न, हामीले आफैले निर्माण गर्न सक्ने एक ‘साहस’ को पर्खाल हो जस्ले हामीलाई ती चुनौतिहरु सामना गर्न र यसवाट पार लगाउन ‘आत्म-शक्ति’ प्रदान गर्छ।

नेपालको राजनितिक वेथिति, राज्य संयन्त्र र विकास-निर्माणलाई नियन्त्रणमा लिएको माफिया तन्त्रले आम जनसमुदायको वारम्वार खिसि उडाउने र निरिह बनाउने काम गरिरहेको छ, स्वतन्त्रता निमोठि रहेको छ। यूवा जमातको पलायन, अशिक्षा र गरिविले देश महिषासुुरले आक्रमण गरे जस्तै घायल बनेको छ। सरकारका “यूवा शक्तिको सशक्तिकरण, दुई अंके विकास र समावेशि लोकतन्त्र” का नारा व्यवहारमा लागु हुन सकेका छैनन्; व्यानर, पोष्टर र वजेट भाषणमा नै सिमित छन्।

विकास र राज्य संयन्त्र संचालनका प्रकृया हेरौं:

विकासको बजेट राजनीतिक दलको वा खास नेताको खास मतलव हेरेर खास योजना र खास जिल्लाका लागि छुट्टयाइन्छ। साना देखि ठुला टेण्डर त खुल्छन् ‘खुला प्रतियोगिता’ भनेर देखाउनका लागि; तर माफिया तन्त्र भन्दा वाहिरकाले कहिल्यै टेण्डर हात पार्दैनन्। वर्ष भरी वजेट अनुसार खासै कुनै काम हुदैन अनि वजेट सकाउन जेठ-असारमासा राता-रात हातरमा सडक खन्ने वा विजुलिको पोल गाड्ने वा ढल खन्ने लगायतका काम सुरु हुन्छन्। सरकारि जागिर होस्, मेडिकल कलेजमा भर्ना होस् वा इजरायल वा जापान जस्ता अलिक राम्रा मुलुकमा कामदारका रुपमा जान होस् भन-सुन नगरी केहि काम हुंदैन वा घुस नै दिनु पर्ने हुन्छ।

ठूला राजनैतिक दल अर्को दलको सरकारलाई गिराउने र आफू सरकारमा जाने तथा जसरि भए पनि आफ्नो सरकार टिकाई राख्नमा केन्द्रित छन्, साना राजनैतिक दलहरु “गतिलो” मन्त्रालय सहित सरकारमा जाने “लविङ्ग” गर्छन्, यतिले पनि नभए आफ्नै दल फूटाएर पनि सरकारमा जाने ध्याउन्नमा लागिरहेका हुन्छन्। चुनावको बेलामा गरेका वाचाहरु र घोषणा पत्रका ठूला-ठूला नाराहरु त अर्को चुनाव नहुन्जेल सम्मका लागि पार्टि कार्यलयको पुरानो दराजमा थन्किसकेका हुन्छन्। शिक्षाको हालत त्यस्तै छ, पढाई पुरा गरे पनि व्यवहारिक र व्यवसायिक दुनियामा कुनै काम लाग्दैन, कुनै काम पाईदैन यस्ता डिग्रि देखाएर। सरकारसंग रोजगारि सृजना गर्ने कुनै निति र कार्यक्रम त छैन, रेमिटेन्सको हिसाव भने खुसिसाथ वार्षिक प्रेतिवेदनामा हाइलाइट गरिएको हुन्छ। विरामि भए, दुर्गमका र पैसा नहुने जनताले पशुपतिनाथ कै भरोषामा वांच्नु परेको हुन्छ।

भनिरहनु पर्दैन कि आम जनता कति दिक्क छन् भनेर। केहि ‘हुने-खाने’ यूवाहरु आफ्नो दिक्दारि र आक्रोष फेसबुक लागायत सामाजिक सञ्जानमा पोख्छन्। ‘हुंदा-खाने’ यूवाहरु भने “यो देशमा वसेर गरी-खान पाईदैन” भन्दै दिक्दार, निराश र निरिह: भएर मलेशिया, अरव लगायत देशमा पलायन हुन्छन् , “ज्यान-फालेर” मजदुरी गर्न। वांचेर फर्खे “अति नै भाग्यमानि”, लाश फर्के “ठिकै भाग्यमानि”, लाश पनि नफर्के “अभागि रैछ” भन्छन् गांउलेहरु।

सरकारले समयमा वांध बनाउंदैन वा विदेशिले बनाइदिएको वांधको पनि समयमा उचित मर्मत गर्दैन, वाढी-पहिरो आए पछि भने अलि अलि राहत छर्ने काम गर्छ, लोक लाजले, त्यो पनि विदेशिको मूख ताकेेर। बर्षेनी नया सरकार बन्छ, संपूर्ण चिन्ता कसरि भारत र चाइनालाई “व्यालेन्समा” राक्ने भन्ने मै जान्छ, ताकि आफ्नो सरकार उत्तर वा दक्षिणका राहु वा केतुको वक्र दृष्टि परी अकालमै मृत्यू सैयामा पुग्नु नपरोस् भनेर। जनाताको सुख सुबिधा र देश विकासको चिन्ता प्राथमिकता मा नै छैनन्, भाषण जति सुकै चर्का गरे पनि।

जागरुक जन-नेताहरु, सक्षम नागरिक समाज र जिम्मेवार सञ्चार माध्यमहरु यो ‘देशको वारम्वार खिसि उडाउने र जनतालाई वारम्वार निरिह बनाउने’ संयन्त्र र वातावरण को विरुद्ध सजग र कृयाशिल हुनु पर्ने हो। जनताको दिक्दारी र पुन-पुन नि-शक्तिकरणको विरोध गर्न जनतालाई सुशुचित र उत्साहित पार्नु पर्ने हो। जनतालाई “दुर्गा” अर्थात ‘आत्म-शक्ति र साहस’ दिनु पर्ने हो, “उठ! आफ्नो स-शक्तिकरण गर्दै यो दुर्गति, अविकास र गरिवि जस्तो मुश्किल यात्रा पार लागाउनका लागि, महिषासुर जस्ता असुरहरुको सामना गर्नका लागि ‘दुर्गा’ बनेर उठ!, शक्ति बनेर ऊठ!, हामी तिम्रा हतियार बन्न तयार छौं” भन्दै।

यस पटको दशैंमा सवै नेपालीहरु आ-आफ्नो आत्म-चेतनामा “दुर्गा” अर्थात ‘आत्म-शक्ति र साहस’ जगाउन सफल होउन्, सवैमा वडा दशैंको शुभ-कामना !

धन्यवाद, नमस्ते!

लेखक पन्त पहिलो संविधान सभाका सभासद् एवं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता हुन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.