‘पहिले विकृति अहिले विशेषता’

‘पहिले विकृति अहिले विशेषता’

काठमाडौं (पहिचान) असोज ११ – नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफ्नो यौनिकता अनुसार पहिचान खुलाएर दसैं मनाउँदा सुरुका बर्षमा आफ्ना आफन्तले जिज्ञासा राख्ने गरेको बताएकी छन् । “सुरुमा केटाको भेषमा हिँडिरहेको मलाई केटीको पहिरनमा देख्दा कसैले जिस्काउने हिसावले पनि सोध्नु हुन्थ्यो । कतिले आश्चर्य प्रकाट गर्नुहुनथ्यो,” गुरुङ सम्झिन्छिन्, “तर समयसँगै अभ्यस्त हुँदै जाँदोरहेछ । मलाई पनि समयले अभ्यस्त बनायो । अहिले त सामान्य हिसावले नै दसैं मनाउँछु ।”

समलिंगी तेस्रोलिंगीहरुलाई घरपरिवारले अझै पनि सबैलाई स्वीकार नगरेका कारण कती यौनिक तथा लैंगिक अल्पसंख्यकले घरमा दसैं मनाउन नसक्ने गुरुङले बताइन् । आफ्नो परिवार र समाजलाई अब सम्झाउने जिम्मेवारी व्यक्ति स्वयमकै भएको उनको भनाइ छ ।
“संविधानले स्वीकार गरिसक्यो । संविधान अनुसार कानुन बन्दैछ । समाजले स्वीकार गर्दैछ,” उनले भनिन्, “सुरुमा विकृतिको रुपमा हामीलाई लिइन्थ्यो तर यो अहिले विशेषता भएको छ यसलाई उपयोग गर्नुपर्छ ।”

आफ्नो पहिचान खोलेर स्वतन्त्र भएर दसैं मनाउन पनि अध्यक्ष गुरुङले सबै अल्पसंख्यकलाई सुझाव दिइन् । “म जुन बेला केटाको लुगा लगाएर हिँड्थे । त्यो बेला मलाई निसास्सिएको महसुस हुन्थ्यो । तर अहिले म स्वतन्त्र छु । मलाई त्यो बेला अरुका घरमा जान मन लाग्दैन थियो । तर अहिले सबैकोमा जान्छु । मसँग मजाले सबै बोल्नुहुन्छ । रमाइलो लाग्छ । जिन्दगी नै सफल भएको छ,” अध्यक्ष गुरुङले भनिन् ।

पिंकी गुरुङको नाममा नागरिकता

पिंकी गुरुङको नागरिकताको नाम सञ्जिव गुरुङ हो । तर उनलाई सञ्जिव भनेर कसैले चिन्दैन । उनी यो नामसँग इन्टरटेन पनि गर्दिनन् । त्यसैले भर्खरै सर्वोच्च अदालतले जारी गरेको फैसला अनुसार उनी आफ्नो पहिचान अनुसारको नागरिकता लिने तयारीमा छिन् । उनको यो तयारी भने पिंकी गुरुङको नाममा नागरिकता लिने हो । सर्वोच्चले आफ्नो पहिचान अनुसार नागरिकता लिन पाउने फैसला सुनाए पछि गुरुङले यस्तो तयारी गरेकी हुन् ।

“अहिले त दसैं छ । दसैं तिहार पछि पहिचान अनुसारको नागरिकता लिने तयारी गरिरहेको छु,” उनले भनिन्, “अहिले पनि म जान्थे होला तर प्रशानमा परिपत्र पुगिसकेको छैन होला भनेर नगएको हुँ । आशा छ तिहार पछि पहिचान अनुसारको नागरिकता सहजै राज्यले दिनेछ ।”

सहयोगी राजनीति

पिंकी गुरुङ राजनीतिमा पनि संलग्न छिन् । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा आबद्ध उनी सचिवालय सदस्य हुन् । आफू आफ्नो मुद्धालाई स्थापित गर्नकै लागि पनि राजनीतिमा आबद्ध भएको उनको भनाइ छ ।

“अहिले हरेक कुरा राजनीतिमा जोडिएर आउँछ । राजनीतिबाट टाढा रहेर केही पनि हुँदैन । हाम्रो अधिकार अहिले संविधानमा लेखिएको छ । यदी हामी राजनीतिमा आबद्ध भएर राजनीतिक दलहरुलाई नबुझाएको भए यो सम्भव हुँदैन थियो,” गुरुङ भन्छिन्, “म अहिले हाम्रो पार्टीमा रहेका विभिन्न व्यक्तिलाई आफ्नो मुद्धाबारे बताउँछु । कति नबुझेका व्यक्तिले बुझिरहेका छन् ।”

समाजमा धेरै थरीका मान्छे भएकाले सबैले नबुझ्ने र उनीहरुलाई बुझाउनु आफ्नो दायित्व भएको उनको भनाई छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.