‘तेस्रोलिंगी मल्टिट्यालेन्ट हुन्छन्’

‘तेस्रोलिंगी मल्टिट्यालेन्ट हुन्छन्’

काठमाडौं (पहिचान) असोज ३० – नेपाल भाषाकी नायिका रजनी खड्गीले समलिंगी तेस्रोलिंगीलाई समान व्यवाहार गर्नु पर्ने बताएकी छन् । विभेद गर्नु पर्ने कुनै कारण नरहेको भन्दै उनले फरक पहिचान नै विभेदको विषय हुन नसक्ने बताइन् ।

“सुरुमा मलाई पनि थाहा थिएन तेस्रोलिंगीबारे पछि विस्तारै थाहा हुँदै गयो,” उनले भनिन्, “अहिले त सबै समान हो भन्ने लाग्छ । म विभेदको नजरले तेस्रोलिंगीलाई हेर्दिन र अरुलाई पनि फरक व्यवहार नगर्न आग्रह गर्छु ।”

तेस्रोलिंगी क्षमतावान हुने गरेको उनको बुझाई छ । आफू सँगै काम गर्ने तेस्रोलिंगीहरु मल्टिट्यालेन्ट हुने गरेको उनले बताइन् । “तेस्रोलिंगीहरु मल्टिट्यालेन्ट हुने गरेको मैले देखेको छु । त्यसैले उहाँहरुलाई अवसर दिउँ । महिला पुरुष सरह कानुनले पनि संबोधन गर्नुपर्छ जस्तो लाग्छ,” खड्गी भन्छिन् ।

महिला पुरुष जस्तै समान समलिंगी तेस्रोलिंगी पनि रहेको तर केही खराव व्यक्तिका कारण सामान्यीकरण गर्दै सबै समलिंगी तेस्रोलिंगी खराव हुन्छन् भन्ने धारणा बनाउनु गलत भएको उनको भनाइ छ ।

“केही तेस्रोलिंगीहरु खराव भएका कारण सबै यस्तै हुन्छन् भन्ने गरेको पाइन्छ । तर सबै खराव हुँदैनन् । यसलाई बुझ्नु पर्छ,” नायिका खड्गीले भनिन्, “केही खराब पनि होलान् उनीहरुलाई विस्तारै सही बाटोमा ल्याउनुपर्छ । उनीहरुलाई सकारात्मक काम र सोचमा ल्याउने जिम्मा परिवार र समलिंगी तेस्रोलिंगी सम्बन्धी काम गर्ने संस्थाहरुको हो ।”

उनले नयाँ बन्दै गरेको कानुुनले समलिंगी विवाहलाई मान्यता दिनुपर्नेमा जोड समेत दिइन् । महिला पुरुष सरह समान लैंगिकताप्रति आकर्षण हुने समलिंगीहरुले पनि वैवाहिक मान्यता पाउनुपर्नेमा उनको जोड छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.