तेस्रोलिंगीहरु इमान्दार पाएको छु : क्याप्टेन बेद उप्रेती

तेस्रोलिंगीहरु इमान्दार पाएको छु : क्याप्टेन बेद उप्रेती

काठमाडौं (पहिचान) कार्तिक २४ – क्याप्टेन बेद उप्रेतीले तेस्रोलिंगीहरु इमान्दार र दक्ष हुने गरेको बताएका छन् । अहिले इण्डोनेशियाको लायन एयरलाइन्सका क्याप्टेन उप्रेतीले महिला पुरुषभन्दा तेस्रोलिंगीहरु इमान्दार हुने गरेको बताएका हुन् ।

“मेरो एयरलाइन्समा क्याविन क्रुमा आधा भन्दा धेरै तेस्रोलिंगीहरु छन्,” उप्रेतीले कार्यक्रम पहिचानसँग कुरा गर्दै भने, “म सोध्छु उनीहरुले कस्तो काम गर्छन् भनेर । उहाँहरु अरु भन्दा पनि आफूलाई दिएको जिम्मेवारी इमान्दारपूर्वक गर्ने गरेको मैले पाएको छु ।”

नेपालमा भन्दा पनि विदेशमा आफूले तेस्रोलिंगीहरु धेरै देख्ने गरेको र उनीहरु महिला पुरुष सरह समान रुपमा काम गर्ने गरेको उनले सुनाए । “नेपालमा त मैले त्यती धेरै उनीहरुलाई देखेको थिइन तर विदेशमा भने धेरैनै देखेको र काम गरेको पाएको छु । विदेशमा महिला पुरुष सरह नै समान रुपमा मैले देखेको छु,” क्याप्टेन उप्रेतीले भने ।

आफूले फरक रुपमा तेस्रोलिंगीलाई नलिएको र समान व्यवहार गर्ने पनि उनको भनाइ छ । “मैले कान्तिपुर दैनिकमा एभिएशन म्युजियमका लागि मान्छे मागेको थिएँ । उहाँहरु (तेस्रोलिंगी) ले कसैले पनि अप्लाई गर्नु भएन । गर्नुभएको भए सायद मेरो प्राथमिकतामा उहाँहरु पर्नुहुनथ्यो होला,” उप्रेतीले भने, “म झुटो कुरा बोल्न चाहन्न, बेसिक रिक्वायरमेन्ट पूरा नगर्नेलाई त लिन सकिँदैन तर महिला र पुरुष बराबर क्यालिफिकेशन भएका तेस्रोलिंगी आएको खण्डमा म तेस्रोलिंगीलाई प्राथमिकता दिन्छु । बेद उप्रेती ट्रस्टले कहिले पनि कसैलाई विभेद गर्दैन ।”

उप्रेतीले काठमाडौंको सिनामंगलमा टर्किस एयरलाइन्सको विमानमा ७ करोड लगानीमा एभिएसन म्युजियम खोलेका छन् । जसमा अहिलेसम्मका विश्वभरका जहाजका मोडेल र बन्दै गरेका जहाजका मोडेल हेर्न पाइन्छ । उनले कस्मिक एयरलाइन्स विमानमा धनगडीमा पनि यस्तै म्युजियम खोलिसकेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.