यौनिक अल्पसंख्यकलाई सरकारले सहयोग गर्नुपर्छ : नवराज घोरासैनी

यौनिक अल्पसंख्यकलाई सरकारले सहयोग गर्नुपर्छ : नवराज घोरासैनी

काठमाडौं (पहिचान) मंसिर ७ – लोकगायक नवराज घोरासैनीले यौनिक तथा लैंगिक अल्पसंख्यकको गीत गाउन आफू तयार रहेको बताएका छन् । कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि आवाज उठाउन आफू प्रतिबद्ध रहेको जनाउँदै गीत गाउन तयार रहेको बताएका हुन् ।

“समलिंगी तेस्रोलिंगी पनि यही देशका नागरिक हुन् । उनीहरु पनि महिला पुरुष सरह अधिकारका हकदार हुन्,” उनले भने, “म आर्थिक स्रोत कसैले जुटाइदिन्छ भने समलिंगी तेस्रोलिंगीको गीत गाउन तयार छु । म विभेदको नजरले कसैलाई पनि हेर्दिन ।” आफू समाज सेवा वा कसैको उपचारका लागि आयोजना गरिने कार्यक्रममा विना पारिश्रमिक गाउन जाने गरेको पनि उनले स्मरण गरे ।

राज्यले समलिंगी तेस्रोलिंगीलाई विशेष व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै आरक्षण, शिक्षा र रोजगारीको व्यवस्था गर्नु पर्नेमा गायक घोरासैनीको जोड छ ।

“राज्यले समलिंगी तेस्रोलिंगीलाई विशेषअधिकार दिनुपर्छ भन्ने मेरो मान्यता छ,” घोरासैनी भन्छन्, “शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा सरकारले समलिंगी तेस्रोलिंगीलाई आरक्षण दिनुपर्छ ।”

समलिंगी तेस्रोलिंगीका विषयमा गीत नलेखिएकाले पनि नगाइएको उनको भनाइ छ । अन्य विषयमा जस्तै पर्याप्त संख्यामा गीत लेखिएको भए गीत गाइएको हुन सक्ने उनी अनुमान गर्छन् ।

५३५ वटा गीत गाइसकेका उनले भारतीय चलचित्र उद्योगमा थुप्रै समलिंगी र तेस्रोलिंगी रहेको भन्दै सुरुमा उनीहरुलाई सरकारले सहयोग गरेको स्पष्ट पारे । नेपालमा पनि सुरुमा उनीहरुलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिए । गायक गायिका हुन चहाने वा अभिनय क्षेत्रमा जान चाहने समलिंगी तेस्रोलिंगीलाई सरकारले सहयोग गर्नुपर्ने घोरासैनीको धारणा छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.