मिष्टर गे ह्याण्डसमको उपाधी पहिरिने को होला ?

मिष्टर गे ह्याण्डसमको उपाधी पहिरिने को होला ?

काठमाडौं (पहिचान) पुस २ – देशका विभिन्न ठाउँका १६ जना पुरुष समलिंगीहरु अहिले तालिममा व्यस्त छन् । डिसेम्वर २६ तारिखमा हुने मिष्टर गे ह्याण्डसममा सहभागी हुने १६ जना पुरुष समलिंगी तालिममा व्यस्त भएका हुन् । नील हिरा समाजले काठमाडौंको राष्ट्रिय नाँचघरमा यो मिष्टर गे ह्याण्डसम गर्न लागेको हो ।

गे ह्याण्डसमको ताज पहिरिन १६ जना पुरुष समलिंगीलाई कोरियोग्राफर राजेश लामाले तालिम दिइरहेका छन् । सन् २०१३ मा भएको पहिलो गे ह्याण्डसमको उपाधी विश्वराज अधिकारीले जितेका थिए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति रहेको भ्रम अन्त्य गर्न नील हिरा समाजले तेस्रोलिंगीहरुको सौन्दर्य प्रतियोगिता मिस पिंक आयोजना गर्दै आएको छ । सन् २०१६ मा मिस पिंकको उपाधी यानी लामाले पहिरिएकी थिइन । समलिंगी पुरुषहरुका लागि हुन गइरहेको मिष्टर गे ह्याण्डसम यो दोस्रो पटक हो ।

“हामी कोही भन्दा कम छैनौ तालिममा सहभागीहरु भन्छन्, यो उपाधीको दावेदार म नै हुँ ।” दिनरात मेहनत गरेर तालिममा सहभागी भएका उनीहरुले डिसेम्वर २६ तारिखमा आ आफ्नो सुन्दरता सहित बौद्धिक क्षमता पनि दर्शनाउनेछन् ।

जेव्रा क्रस बनाउन पहल

गे ह्याण्डसमको अवसर पारेर नील हिरा समाजले सडकमा एलजिविटिआईको इन्द्रेणी रङ्ग पोतेर जेव्रा क्रस बनाउन सरोकारवाला निकायलाई अनुरोध पनि गरेको छ । नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र समाजको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले ट्राफिक प्रहरी महाशाखा प्रमूख प्रहरी नायव महानिरिक्षक सर्वेन्द्र खनालसँग जेव्रा क्रसका बिषयमा छलफल गरे ।

संविधानमै अधिकार लेखिएको आफ्नो समुदायले सामाजिक कामका लागि यो पटक जेव्रा क्रसमा इन्द्रेणी कलर गर्ने योजना बनाएको समाजकी कार्यकारी निर्देशक ढकालले वताइन । प्रहरी नायव महानिरिक्षक खनालले जेव्रा क्रस बनाउने काममा ट्राफिक प्रहरीको सहयोग रहने भन्दै सडक विभागसँग समन्वय गर्न सुझाव दिए ।

एलविटि सम्मेलन हुँदै

गे ह्याण्डसम हुन अघि काठमाडौंमै नील हिरा समाजले एलविटि सम्मेलन गर्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका कारण स्थगित एलविटि सम्मेलन डिसेम्वर १८ र २० तारिखमा हुँदैछ । यो सम्मेलनमा देशभरका एलविटिहरुको सहभागिता रहने नील हिरा समाजले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.