रानीपोखरी जोगाउने जाँगरिलाहरूमा एक ट्रान्सजेण्डर

रानीपोखरी जोगाउने जाँगरिलाहरूमा एक ट्रान्सजेण्डर

काठमाडौं (पहिचान) पुस १८ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई समाजले नकारात्मक धरातलमा मात्र हेर्ने गरेको बेलामा सेतोपाटी अनलाइन समाचारमा “रानीपोखरी जोगाउने जाँगरिलाहरू“ शीर्षकमा एक ट्रान्सजेण्डर पनि परेका छन । विगत १ वर्ष देखि नील हिरा समाजमा कार्यरत रुक्शना कपाली यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारसँगै सँगै सम्पदा संरक्षणमा पनि लागेको हुनाले समाजले ट्रान्सजेण्डर र यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई हेर्ने स्टेरियोटाइप सोचाइ हटाउन सहयोग गरेको छ । सम्पदा संरक्षणदेखि पीडितको सहयोगका लागि समेत यौनिक तथा लैंगिक अल्पसंख्यकहरु लागिरहेका छन् ।

सेतोपाटी अनलाइनका अनुसार

“यत्ति ज्ञान काफी छ हाम्रा लागि, रानीपोखरी अभियानमा सरिक हुन,’ १८ वर्षीया रुक्सना कपालीले भनिन् ।

‘हरेक देशका आ–आफ्नै परम्परा, संस्कृति र सम्पदा हुन्छ । काठमाडौंलाई त झन् हामीले सधैं संस्कृति र सम्पदामा धनी भनेर बुझ्दै आयौं ।

हामीले चिनेको रानीपोखरी त्यसैको एउटा हिस्सा हो । हामीलाई सानैदेखि किताबमा पढाइँदै आएको यो सम्पदामा स्विमिङ पुलजस्तो कंक्रिट पर्खाल लगाउन हुँदैन भनेर बुझ्न मैले दसथरिको कुरा थाहा पाइरहनु पर्दैन ।’

कपाली ब्लु डायमन्ड सोसाइटीअन्तर्गत समलैंगिक अधिकारमा आवाज उठाउँछिन् । उनी फेसबुककै ‘सेभ नेपाः भ्याली’ समूहमा सरिक छिन् ।

काठमाडौं उपत्यकाभित्र विकास योजनाका नाममा भइरहेका विनाश र विस्थापनविरुद्ध यो समूहले आवाज उठाउँदै आएको छ । बुङ्मती, खोकनाजस्ता प्राचीन बस्ती विस्थापित हुने गरी ‘स्याटलाइट सहर’ बसाउने योजना त्यसैमध्ये एक हो ।

‘रानीपोखरी जस्तो बनाइँदैछ, के त्यसले हाम्रो पहिचान बोक्छ ? के त्यसलाई हामी ३५० वर्षअघि राजा प्रताप मल्लले बनाएको हो भनी गर्वसाथ भन्न सक्छौं?’ रुक्सनाले प्रश्न गरिन् ।

संरक्षण अभियानसँग गाँसिएका अधिकांशले सोध्ने प्रश्न यस्तै हुन् ।

डेढ वर्षअघिको त्यो दिनबाट आजसम्म आइपुग्दा पुनर्निर्माण तरिका ‘गलत’ भन्दै धेरैले कारण सोधेका छन् । सूचना बाँडेका छन् । काठमाडौं महानगर भने ती सबै बेवास्ता गरेर आफ्नै एकतर्फी ढंगमा अघि बढेको अभियन्ता बताउँछन् ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.