भ्यालेन्टाइन मनाउन गएका तेस्रोलिंगी कुट्ने प्रहरीलाई कारवाही गर्न माग

भ्यालेन्टाइन मनाउन गएका तेस्रोलिंगी कुट्ने प्रहरीलाई कारवाही गर्न माग

काठमाडौं (पहिचान) फागुन ३ – प्रहरीले भ्यालेन्टाइन मनाउन साथीको कोठामा गएका दुई जना तेस्रोलिंगीलाई कुटपिट गरेको छ । लाजिम्पाटमा राती ९ बजे आफ्नो कोठाबाट निस्केर साथको कोठामा जादै गरेका तेस्रोलिंगी सिम्पल केसी र नतशा परियारलाई प्रहरीले कुटेर घाइते बनाएको छ ।

प्रहरीको कुटाईबाट सिम्पल र नतशाको आँखा, छाती र खुट्टामा चोट लागेको छ । प्रहरीको कुटाइबाट घाइते दुवै जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मातृ संस्था नील हिरा समाजको सहयोगमा मानवअधिकार आयोग पुगेका छन् । प्रहरी टोलीले आफूहरु माथि अपशब्द प्रयोग गरेर कुटपिट गरेकाले उनीहरुलाई कारवाही गर्न सिम्पल र नतशाले लिखित उजुरी दिएका छन् ।

“हामी साथीको कोठामा जादै थियौ, प्रहरीको भ्यान आइ एक्कासी छक्का हिजडाहरु कहाँ जान हिड्यौ भनी अत्यन्त तल्लो स्तरको भाषा प्रयोग गरे सिम्पल केसीले मानवअधिकार आयोगमा दिएको उजुरीमा लेखिएको छ, लठ्ठी तथा बन्दूकको पछाडिको भागले कुटपिट गरि मेरो दुइटा आँखा, देव्रे खुट्टा तथा छातीमा समेत प्रहार गरेपछि म लडे ।”

सिम्पलले आयोगमा बुझाएको उजुरीमा अलिकती पछाडि रहेकी मेरी साथी नतशा आइ किन कुटेको भन्दा तिमी छक्का हिजडा यसरी हिड्ने भनी निजलाई समेत लाठी र बन्दुकले हानी घाइते बनाई निजहरु भ्यान लिइ हिडेको लेखिएको छ । कुटपिट गरी गाली गलौज गर्नु आफ्नो स्वतन्त्रत पूर्वक हिडडुल गर्न पाउने अधिकार उल्लघंन भएको सिम्पल र नतशाले वताए ।

तेस्रोलिंगी भएकै कारण कुटपिट, विभेद तथा स्वतन्त्रत पूर्वक बाच्न पाउने मानवअधिकारको गंभिर उल्लंघन समेत भएकाले कुटपिटमा संलग्न प्रहरीलाई हदै सम्मको कारवाही गर्न उनीहरुले मानवअधिकार आयोग समक्ष माग गरेका छन् ।

प्रहरी वृत्त महाराजगंजका प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र थापाले पनि लाजिम्पाटमा गएराती घटना भएको स्वीकारेका छन् । उनले प्रहरीको भ्यान छेकेर बसेका तेस्रोलिंगीलाई हटाउन खोज्दा प्रहरी भ्यानमै क्षती पुगेको दावी गरे । उनले प्रहरी टोलीले कुटपिट नगरेको दावी गर्दै भाग्न खोज्दा कोही घाइते भएको हुन सक्ने तर्क गरे ।

तर, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बाटोमा हिड्नै डराउने तेस्रोलिंगीले प्रहरीको भ्यान छेकेको भन्नु हास्यास्पद भएको वताइन । प्रहरीको भ्यान छेक्नु पर्ने कुनै औचित्य नै छैन गुरुङले भनिन्, गल्ती गर्ने प्रहरीलाई कारवाही हुनबाट जोगाउन डिएसपी थापाले यस्तो हास्यास्पद तर्क गर्नु भएको होला ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.