डिग्री लिन अमेरिका पुगेकी सुमनले भित्र्याइन् समलिंगी जीवनसाथी, १४ महिनापछि मिल्यो गैरपर्यटकीय भिसा

डिग्री लिन अमेरिका पुगेकी सुमनले भित्र्याइन् समलिंगी जीवनसाथी, १४ महिनापछि मिल्यो गैरपर्यटकीय भिसा

काठमाडौं (पहिचान) फागुन १२ – अध्ययनका लागि ८ वर्षअघि अमेरिका पुगेकी महेन्द्रनगरकी सुमन पन्तले नेपाल फर्कंदा डिग्री मात्र होइन, जीवनसाथी पनि लिएर फर्किइन्। तर, जीवनसाथीसँग नेपालमा बस्न उनलाई त्यति सहज भएन।

किनकि अरुभन्दा उनले फरक जीवनसाथी रोजेकी थिइन्। उनले युवतीलाई नै आफ्नो जीवनसाथीका रुपमा रोजेकी थिइन्। अमेरिकी युवती लेस्ली लुइस मेल्निकसँग उनले अमेरिकामै विवाह गरेकी थिइन्। अमेरिकामा समलिंगी विवाह सहज भएकाले उतै विवाह गरेर उनी जीवनसाथी सहित नेपाल आएकी हुन्।

नेपालीसँग बिहे गर्ने विदेशीले ‘रिलेसन’ भिसा पाउने अध्यागमन नियमावलीमा प्रावधान छ। सोही प्रावधान अनुसार भिसा आवेदन दिन पन्त गत वर्षको डिसेम्बर २९ मा कालिकास्थानस्थित अध्यागमन विभाग पुगिन्।

यस्तो किमिसको भिसाका लागि विभागमा पहिलोपटक आवेदन परेको थियो।

विभागका तत्कालीन महानिर्देशक केदार न्यौपानेले आफूले भिसा दिने तर भोलिपल्ट आउन भने।

भोलिपल्ट फेरि मेल्निकलाई लिएर उनी विभाग पुगिन्। महानिर्देशक न्यौपानेको कुरा सुनेर उनी स्तब्ध भइन्। आफूले भिसा दिन नसक्ने भन्दै न्यौपानेले गृह मन्त्रालय जान भने। गृहले कानुन मन्त्रालय पठायो। कानुन मन्त्रालयका अधिकारीले यस विषयमा आफूहरुले निर्णय गर्न नसक्ने भनिदिए। मन्त्रालयहरुको चक्कर लगाउँदा लगाउँदै उनी निराश भइन्।

यही बीचमा अध्यागमन विभागमा महानिर्देशक फेरिए। उनले फेरि गैरपर्यटक भिसाका लागि आग्रह गरिन्। तर, उनलाई अदालत जान सुझाइयो।

सुनमले हार खाइनन्। जीवनसाथीका लागि रिलेसन भिसा माग्दै अदालत गइन्। पर्यटन भिसामा एक वर्षमा १ सय ५० दिनभन्दा धेरै नेपाल बस्न पाइन्न। जसकारण उनलाई समस्या भएको थियो। ‘अर्काेतर्फ गैरपर्यटक भिसा नदिनु भनेको हाम्रो सम्बन्धलाई अस्वीकार गरिएको बुझिन्थ्यो,’ सुमनले भनिन्।

गत वर्ष माघ २७ मा उनी सर्वाेच्च अदालत गइन्। अदालतमा पनि त्यो नयाँ प्रकृतिको मुद्दा थियो। गत असोजमा सर्वाेच्चले उनको पक्षमा फैसला गर्दै भन्यो, ‘निवेदिताको दाम्पत्य सम्बन्ध कायम रहेकी लेस्सी लुइस मेल्निकलाई गैरपर्यटकीय भिसा जारी गर्नू भनी विपक्षीहरुका नाउँमा परमादेश आदेश जारी ठहर्छ।’

तर, तत्कालै लेस्सीले रिलेसन भिसा पाउन सकिनन्। किनकि फैसलाको पूर्णपाठ तयार भएको थिएन। गत बुधबार मात्र पूर्णपाठ तयार भयो।

आफ्नै पक्षको फैसलाको पूर्णपाठ अध्यागमन विभाग पुग्यो। विभागका निर्देशक कोषहरि निरौलाले भने, ‘अब तपाईंहरुले पक्का गैरपर्यटक भिसा पाउनुहुनेछ।’

एक वर्षदेखि यही चक्करमा घुमेकी सुमनलाई विश्वास लागिरहेको थिए। किनकि अघिल्लो पटक पनि निर्णयमा हस्ताक्षर गरेर भिसा दिइएको थिएन।

शुक्रबार बिहानै उनी मेल्निकलाई लिएर विभाग पुगेकी थिइन्। ३ बज्नै लाग्दा सबै प्रक्रिया पूरा भयो। विभागका कर्मचारीले गैरपर्यटक भिसा पासपोर्टमा टाँसिदिँदा दुवैको मुहारमा खुसी छायो।

‘आज एकदमै खुसी छु,’ १४ महिनाको संघर्षपछि आफ्नी जीवनसाथीलाई गैरपर्यटक भिसा दिलाउन सफल भएकी सुमनले भनिन्, ‘धेरै दुःख भयो, तर आज खुसी मिलेको छ।’

सुमनभन्दा कम खुसी थिइनन् मेल्निक। ‘आज एकदमै खुसी छु, थ्याङ्क यु नेपाल,’ रिलेसन भिसा पाएपछि उनले भनिन्।

भिसा लिएलगत्तै कर्मचारीहरु धन्यवाद दिएर उनीहरु स्कुटरमा हुइँकिए। केटीले केटीसँगै बिहे गरेको अवस्थामा यसरी रिलेसन भिसा जारी भएको नेपालमा पहिलो घटना भएको निर्देशक निरौलाले बताए।
भिसा पाउनुअघि सुमनले आफूहरुको प्रेम सम्बन्धदेखि विवाहसम्मको कथा सुनाइन्।

सुमन पब्लिक पोलिसी पढ्न सन् २०१० मा अमेरिकाको ओरेजन राज्यमा पुगेकी थिइन्। मेल्निक उनको कलेज नजिकै बस्थिन्। उनीहरु सन् २०१२ मा प्रेम सम्बन्धमा बाँधिए। डिसेम्बर १५, २०१५ मा उनीहरुले क्यालिफोर्नियामा कोर्ट म्यारिज गरे।

प्रेम सम्बन्धबारे सुमनको परिवारलाई पहिलेदेखि थाहा थियो। परिवारले सुरुमा केही असहज रुपमा लियो, पछि स्विका¥यो। बिहेअघि उनले परिवारसँग सोधिन्। ‘गर्न मन भए बिहे गर्नु’ भन्ने घुर्कीपूर्ण जवाफ पाइन्।

उनको परिवार महेन्द्रनगरमा बस्दै आएको छ। उनी मेल्निकसँग काठमाडौंमा बस्दै आएकी छिन्।

विदेशी विद्यार्थीलाई छोटो एकेडेमिक कोर्सको व्यवस्थापन गर्ने एसआइटी स्टडी अब्रोड नामक संस्थामा उनी निर्देशकमा रुपमा कार्यरत छिन्। ‘आजदेखि हाम्रो जीवन थप सहज भएको छ,’ अध्यागमन विभागबाट निस्कँदै गर्दा सुमनले भनिन्।

साभार : नेपाललाइभ अनलाइन

यो पनि पढ्नुहोस

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.