दुरव्यवहार गर्ने दुई जना अव त्यस्तो नगर्ने कागज गरेर रिहा, रातकी रानी भनेर हेपेको विगत सम्झदै अध्यक्ष गुरुङ

दुरव्यवहार गर्ने दुई जना अव त्यस्तो नगर्ने कागज गरेर रिहा, रातकी रानी भनेर हेपेको विगत सम्झदै अध्यक्ष गुरुङ

काठमाडौं (पहिचान) बैशाख २६ – तेस्रोलिंगी महिलालाई दुरव्यवहार गरेको आरोपमा पक्राउ परेका दुई जना रिहा भएका छन् । पीडित तेस्रोलिंगी महिलाकै अनुरोधमा पक्राउ परेका दुई जना अब आइन्दा तेस्रोलिंगी महिलालाई दुरव्यवहार नगर्ने कागजमा हस्ताक्षर गरेर रिहा भएका हुन् ।

गएराती काठमाडौंको थानकोट ढुङ्गे अड्डामा ग ६ ख ५७०९ नम्वरको ट्रकका चालक राजु परियार र भरत मानन्धरसँग लिफ्ट मागेका दुई जना तेस्रोलिंगी महिलाले आफू माथि दुरव्यवहार गरेको भन्दै परियार र मानन्धरलाई प्रहरी वृत्त बलम्वुमा बुझाएका थिए ।

“आफूहरुलाई छक्का हिजडा भनेर कुटपिट गर्ने दुई जनालाई पीडित तेस्रोलिंगी महिला माया चौधरी र शर्मिला चौधरीले प्रहरीको भ्यान देख्ने वित्तिकै हार गुहार गरे,  प्रहरी वृत्त बलम्वुकी प्रहरी निरीक्षक शर्मिला गुरुङले पहिचान अनलाइनसँग भनिन्, हामीलाई परियार र मानन्धरलाई रातभर थुन्यौ ।”

उनले घटनबारे यर्थाथ बुझ्न पटक पटक सम्पर्क गरेर बोलाउँदा दिउँसो साढे १ बजे पीडित तेस्रोलिंगी शर्मिला चौधरी मात्रै प्रहरी वृत्तमा आएको जानकारी दिइन । “हामीले दुवै पक्षलाई सँगै राखेर घटना के भएको हो भनेर बुझयौ उनले भनिन्, शर्मिलाले उनीहरुको पनि घर परिवार होला, एक पटक छाडिदिउ भनेर भनेपनि हामीले कागज गरेर रिहा गरेका हौ ।”

पीडित पक्ष ढिलो आउँदा बलात्कारको प्रयास भयो भन्ने गलत सन्देश गएको गुरुङले वताइन । यो घटना थाहा पाउने वित्तिकै पहिचान अनलाइनले पटक पटक शर्मिलालाई फोन गर्दा प्रहरी वृत्त बलम्वुले आधा घण्टा, एक घण्टा भन्दै गुरुङसँग कुराकानी गराउन सकिरहेको थिएन । तर, पीडित पक्ष नै प्रहरीकोमा पुगेर दुरव्यवहारको आरोपमा पक्राउ परेका दुई जना मिलापत्र गरेर रिहा भएपछि गुरुङले यो बलात्कारको प्रयास गरेको नभएर दुरव्यवहार ( मिस विहेव ) भएको घटना भएको वताइन ।

बलात्कारको प्रयास गरेको घटनामा मिलापत्र नै हुँदैन प्रहरी निरिक्षक गुरुङले भनिन्, तेस्रोलिंगी माथि मिस विहेव (दुरव्यवहार) भएको र पीडित पक्षले नै एक पटकलाई छोडिदिन आग्रह गरेकाले रिहा गरिएको हो । उनले पीडित पक्षले जाहेरी दिएको भए उनीहरुलाई म्याद थपेर मुद्धा चलाउने थियौ उनले भनिन् ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले महिला जस्तै अधिकार तेस्रोलिंगी महिलाले पनि पाउनु पर्ने वताइन । तेस्रोलिंगी महिला गुरुङले सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको यो तलको स्टाटसले एक जना बर्दिधारी महिला कर्मचारीले आफूलाई रातकी रानी भनेर हेपेको कुरा लेखिएको छ । उनले तेस्रोलिंगी महिला र अरु महिलाले गर्ने व्यवहारबाट आफ्नो समुदायले कस्तो पीडा सहनु परेको छ भन्ने प्रष्ट हुने वताइन । अध्यक्ष गुरुङले फागुन २६ गते (मार्च १० तारिख सन् २०१८ ) मा फेसबुकमा पोष्ट गरेको स्टाटस जस्ताको तस्तै :

कृपया पढेर केही प्रतिकृया गरिदिनु हुन अनुरोध गर्दछु । 

सन्दर्भ आज ६ ▪३० बजे बसन्त पुर कुमारी मन्दिर अगाडीको एउटा फुली वाला नगरपालीकाको बर्दी लगाएकी करिब ३० ३२ बर्षकी महिलाले एउटा ६५ बर्षको पुरुषको कठालो समातेर गाली गर्दै थिईन । तँ को हो मलाई आमा मामाको गाली गर्ने ।बर्दी लगाएको मानिषलाई हात लगाउने भन्दै निकै कडा शैलीमा ती बृदलाई पेलेर गाली गर्दै थिईन ।

मलाई उनको कुरा जायज लाग्दै थियो ।म अझै उतसुकताका साथ भिडलाई ठेलेर अगाडी गए ।ति महिलाले बृदाको मोवाईल खोसेर चर्को आवाजमा कराउदै गाली गर्दै थिईन ।बृद् भने पब्लिकको अगाडी अतालिदै थिए । म महिला प्रती सहमती हुदै थिए। ति महिलाले करिब १० मिनेट ति बृदालाई सार्वजनिक रुपमा लछार पछार गर्दै ठुलो ठुलो आवाजमा कराउँदै थिईन।उनको अर्को सहकर्मी उनकै समर्थनमा ति बृदाको बिपक्षयमा बोल्दै थिए र १०० मा कल गरेर प्रहरीलाई बोलाउँदै थिए।

थुप्रै मानिषहरुको भिडमा ति बृदा निरिह बनिरहेका थिए ।उनले केही प्रतिकार गर्न सकिरहेका थिएनन् ।

बरु नगरपालिकाकी महिला झन झन शक्ती प्रदर्शन गर्दै बृदालाई झन पेलदै थिईन ।कपाल सेतै फुलेको हजुर बुवा जस्ता ति बृदाका अवस्था प्रती मलाई दया लाग्दै थियो ।ति महिलाले बृदाको कठालो समातेर झङगिदै तान्दै बसन्त पुरको स्कुल अगाडि लगिन र मुक्का हानेर पिट्न थालिन् ।

करिब ६० जना मानिषहरू थिए कसैले नपिट भन्ने हिम्मत गर्न सकेन ।मलाई असह्य भयो त्यो दृष्य हेर्न सकिन र मैले नपिटनु भने ।

शायद नगरपालिकाको एउटा फुली लगाएकी बर्दी वालालाई मैले त्यती भन्नु त्यो पनी सार्वजनिक रुपमा उनका लागी ठुलो अपमान भएछ क्यारे ।त्यस पछी उनीले मलाई निकै ठुलो आवाजमा वै त को होस हँ रातकी रानी भनिनन् ।त्यस पछी मलाई पनी के चाहियो म पनी आगो भएर कराए ।के तेस्रोलिङ्गी भयो भन्दै मा सबै रातकी रानी नै हुन्छिन् ।के एउटा सरकारी कर्मचारी त्यो पनी बर्दीको महिलाले अर्को तेस्रोलिङ्गी महिलाको अपमान गर्न सुहाउँछ ।कि एउटा फुली भयो भन्दैमा पब्लिकलाई जे पनी भन्न र गर्न पाईन्छ भनेर कराए । त्यतीकै मा प्रहरी आयो र ति बृदा र महिलालाई जनशेवा सँगै चौकी लगे ।

मेरो मन मानेन बिचरा ति हजुर बुवा जस्ता बृदालाई के गर्ला भनेर म पनी पछी पछी चौकीमा गए । चौकीमा ति महिलाले प्रहरी समक्ष आफ्ना बलिया धारणा मात्र राख्दै थिए मैले बिचैमा उनको पनी गल्ती औलाएर सुरुमा हात तपाईले हाल्नु भएको हो ।ठिक छ गल्ती उहाँले गर्नु भो तर हात हालेर तपाईले पनी गल्ती गर्नु भाकै हो र मैले नपिटनु भन्दा त को होस रातकी रानी भनेर मेरो अपमान पनी गरेकै हो ।

किन कसैको कुरालाई समेटेर एकमुष्ट रुपमा बुझ्ने र मुल्याङ्कन गर्ने गर्नु हुन्छ ।के हामी राती हिड्नै नहुने के हाम्रो उपाधि रातको रानी हो अनी तपाई जसतो सरकारी कर्मचारी ले हामीलाई यती मात्र बुझ्नु भएको छ ।के सरकारी कर्मचारी भने पछी जनतालाई जे भने पनी हुन्छ अनी यो भन्ने आधिकार कस्ले दियो ।

तपाईले जे भन्नु भो र गर्नु भो त्यो सरासर गलत छ भने पछी ति बृदाले पनी आफ्नो मान्छे बोलाएका थिए र बिना छलफल बृदा र नगर पालिकाकी कर्मचारी महिलालाई कागजी मेलमिलाप गराई आफ आफ्ना स्थानमा पठाईयो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.