यौनिक तथा लैंगिक अल्पसंख्यक मात्र हैन हरेकलाई मानिस भएर बाँच्न दिनुपर्छ : पार्वती रावल

यौनिक तथा लैंगिक अल्पसंख्यक मात्र हैन हरेकलाई मानिस भएर बाँच्न दिनुपर्छ : पार्वती रावल

992
SHARES

काठमाडौं (पहिचान) जेठ ७- सांसद पार्वती रावलले मानवीय मूल्यमा कोही पनि तल माथि नहुने भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समान र सम्मानित जीवनको वातावरण दिनुपर्ने बताएकी छन् । पहिचानसँगको कुराकानीमा नेपाल कम्युनिष्ट पार्टीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद रावलले संविधान अनुरुप कानुन बनेपछि कोहीपनि नागरिक अधिकारबाट बञ्चित नहुने बताइन् ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यकलाई संविधानले दिएका अधिकार कानुन निर्माण गरेर सुनिश्चित गरिनुपर्छ,’ सांसद रावलले भनिन्, ‘त्यसका लागि संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरु अब संसदको प्राथमिकतामा रहन्छन् ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु समाजकै उत्पादन भएको भन्दै उनीहरुलाई बैवाहिक अधिकार सहितको समानता ग्यारेन्टी गरिनुपर्ने बताइन् ।

‘यौनिक तथा लेंगिक अल्पसंख्यकहरु यो देशका नागरिक भएकाले उनीहरुलाई समान अधिकारको व्यवस्था गरिनुपर्छ,’ रावलले भनिन्, ‘झन विवाह त व्यक्तिगत छनौंट भएकाले हरेकलाई आफ्नो छनौटमा विवाहको अधिकार दिइनुपर्छ ।’ उनले बैवाहिक अधिकारका लागि उनीहरुलाई सबैले सहयोग गर्नुपर्ने बताइन् ।

‘जसरी एउटा पुरुष र महिलालाई विवाह गर्ने वा नगर्ने देखि कोसँग गर्ने भन्ने अधिकार रहन्छ, त्यसरी नैं यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि बैवाहिक जोडी छान्ने अधिकार रहन्छ,’ रावलले भनिन् । उनले आफू अधिकारकै आन्दोलनबाट आएको भन्दै महिलाकोे अधिकार समेत संंसदभित्र सिमित भइरहेको बताइन् ।

‘विश्वमै उदाहरण मानिएको ३३ प्रतिशत महिला प्रतिनिधित्व संसदमा खुम्चिरहेको छ, राज्यका हरेक अंगमा ३३ प्रतिशत प्रतिनिधित्व संविधानले सुनिश्चित गरेको छ,’ उनले भनिन्, ‘यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार पनि संविधानले तोके अनुरुप नै कार्यान्वयन हुनुपर्छ, यो सरकारको मुख्य दायित्व संविधान कार्यान्वयन गर्दै समृद्धिमा जाने हो ।’

समाचार शेयर गर्नुहोस्
992
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.