छैन कानुन, उस्तै छन् समस्या

छैन कानुन, उस्तै छन् समस्या

मकवानपुर (पहिचान) जेठ २६ – समलिंगी तेस्रोलिंगीले कानुन अभावमा आफूहरुका समस्या उस्तै रहेको बताएका छन् । समलिंगी तेस्रोलिंगीको मनोवल उच्च बनाउन नील हिरा समाजको शाखा कार्यालय फ्रेण्ड्स हेटौडाले गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले संविधान अनुसारको कानुन नबन्दा समस्या यथावत रहेको बताएका हुन् ।

मकवानपुरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय चलायमान नभएको र आफनो समस्या खुलेर भन्नसमेत नसक्ने अवस्था रहेकाले उनीहरुले भोग्दै आएका समस्या तथा हिंसा सम्बन्धीे मुद्दामा छलफल गर्दै उनीहरुमा आत्मबल बृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा कार्यारत सुमित पौडेलले समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकले भोगिरहेका समस्या, शारीरिक मानसिक तथा प्रजजन् स्वास्थ्य समस्याहरुको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा एक तेस्रोलिंगी महिलाले आफ्नो यौनिकता लुकाएर बस्नुपर्ने बाध्यता रहेको सुनाइन् । आफ्नो पहिचानसहित अगाडि आइसकेपछि पारिवारिक दृष्टिकोण फरक हुने र यौन दुव्र्यवहारको शिकार हुनुपर्ने भन्दै खुलेर आउन अझै गाह्रो भएको उनको भनाइ थियो ।

शिक्षण पेशामा आवद्द उनलाई आफ्नो फरक पहिचान र यौनिकता भएकै कारण स्कूलबाट निकालिदिने हो कि भन्ने डर छ । “आफ्नै नातेदारबाट यौन दुव्र्यवहारको शिकार हुनुपरेको तितो अनुभव मसंग छ,” उनले भनिन् ।

कार्यक्रममा मञ्जु मोक्तानले आफ्नो पार्टनरसग २० वर्ष विताइसके पनि कानुनी अधिकारको अभावमा कुनै एकको मृत्युपछि सम्पत्तीको हकमा अरुले नै दाबी गर्ने अवस्था रहेको बताइन् ।

धर्म सन्तान पाल्न नमिल्ने कारणले पनि स्वतन्त्रता र न्यायको अधिकारबाट बञ्चित हुनुपरेको उनको गुनासो छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा सबैले आआफ्नो समस्या राखेका थिए ।

कार्यक्रममा उनीहरुले आफ्नो सिप अनुसारको रोजगार र संवैधानिक अधिकारलाई कानुनी प्रक्रियामा लगेर कार्यान्वयन गरानुपर्नेमा जोड दिएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.