‘महिलाको जिन्दगी बर्बाद पार्न चाहन्न’

‘महिलाको जिन्दगी बर्बाद पार्न चाहन्न’

काठमाडौं (पहिचान) जेठ ३१ – समलिंगी पुरुष विवेक मगर र प्रदीप खड्काले बैवाहिक मान्यता नहुँदा समलिंगी सम्बन्ध दिगो हुन नसकेको बताएका छन् । पहिचानसँग कुरा गर्दै उनीहरुले समलिंगी विवाहले कानुनी मान्यता नपाएका कारण समलिंगी सम्बन्ध दिगो नहुने गरेको बताए ।

“कतिपय अवस्थामा समलिंगीहरु यौन चाहनाका लागि मात्रै सम्बन्धमा बस्ने गरेको भन्ने गरिन्छ,” उनीहरु भन्छन्, “यस्तो चाहना राख्नेहरुका लागि कानुनले सँगैबस्न बाध्य नबनाउँदा सजिलो पनि भएको छ ।”

समलिंगी विवाहले मान्यता पाएको खण्डमा आपसमा झगडा भएपनि केही दिनमा पुनः आफ्नो सम्बन्धलाई पुरानै अवस्थामा फर्काएर सँगै बस्नुपर्ने बाध्यात्मक अवस्था हुने उनीहरुको बुझाइ छ ।

महिला पुरुष सरह समलिंगी पनि भएको भन्दै तत्काल राज्यले समान अधिकार दिनुपर्नेमा उनीहरुको जोड छ । कानुनले मान्यता नदिए पनि कयौं समलिंगीहरु सँगै बस्ने गरेको भन्दै मगर र खड्काले त्यस्तो सम्बन्धलाई बैधानिकता दिन र ब्यबस्थित जिन्दगीका लागि पनि राज्यले समलिंगी सम्बन्धलाई संबोधन गर्नुपर्ने बताए ।

परिवारबाट विवाहका लागि दबाब आउने गरेको प्रसंगमा मगरले भने, “विवाहका लागि आग्रह गर्नुहुन्छ । परिवारको एक्लो सन्तान भएकाले पनि वंश विस्तारका लागि दबाब छ । तर म एक जना महिलालाई झुक्काएर उनको जिन्दगी बर्बाद पार्न चाहन्न, जिन्दगीभर म यसलाई कसरी झुक्काएर राख्न सक्छु ?”

आफूले आँफूलाई नै लुकाउने गरेका कारण पनि अधिकार पाउनबाट समलिंगी तेस्रोलिंगी बञ्चित हुने गरेको मगर बताउँछन् । “पहिला हामी आँफैले आफैंलाई चिन्नुपर्छ । आँफैले आँफैलाई लुकाएर राख्ने र आफ्नो पहिचान नखोल्ने हो भने हाम्रो सम्मान अरुले गर्दैन,” मगर भन्छन्, “त्यसैले म जस्तै साथीहरुलाई खुलेर आउन भन्छु । हामी जस्ता मात्रै होइन जति पनि अधिकार नपाइरहेका समुदाय हुनुहुन्छ उहाँहरुलाई पनि म यही आग्रह गर्न चहान्छु ।”

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.