निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक तथा लैंगिक अल्पसंख्यक माथि हुने फरक व्यवहार अन्त्य हुनुपर्छ : गायिका बर्मा

यौनिक तथा लैंगिक अल्पसंख्यक माथि हुने फरक व्यवहार अन्त्य हुनुपर्छ : गायिका बर्मा

677
SHARES

काठमाडौं (पहिचान) असार २ – गायिका सुजता बर्माले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयलाई पनि गीतमा समेटिनु पर्ने बताएकी छन् । पहिचानसँग कुरा गर्दै उनले अधिकार प्राप्तीको अभियानमा रहेका समलिंगी तेस्रोलिंगीका विषयलाई गीतमा समेटिए अभियान थप सशक्त हुने बताइन ।

ब्यवसायिकताको भयले यौनिक तथा लैंगिक अल्पसंख्यकका गीत कलाकारहरुले नगाएको उनको बुझाइ छ । मायाँ प्रेमका गीत मात्रै धेरै रहेको र विभिन्न जाती, भाषा तथा समुदायका विषयमा गीत नगाइएको उनी बताउँछिन् ।

“आम स्रोता तथा दर्शकले रुचाउने भएका कारण अन्य विषयले प्राथमिकता नपाएको हुनसक्छ,” गायिका बर्मा भन्छिन्, “ब्यबसायिकताको त्रासले गर्दा अहिले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकका गीत गाइँदैन ।”

ब्यबसायिकताको हिसावले मायाँ पिरतीका गीत जस्तै समाजमा चेतना फैलाउने गीत पनि रुचाइने हो भने यौनिक तथा लैंगिक अल्पसंख्यक, दलित, सिमान्तकृत तथा उत्पीडित समुदायका गीत पनि बजारमा आउने उनी बताउँछिन् ।

“यो समुदायका गीत हुने हो भने धेरैले समलिंगी तेस्रोलिंगी कस्तो समुदाय हो भनेर बुझ्ने थिए,” उनी भन्छिन्, “एकै पटक आम समुदायमा पुग्ने र गायक गायिका समाजको आर्दश भएकाले पनि यो निकै राम्रो माध्यम हुनसक्छ जस्तो मलाई लाग्छ ।”

चेतनामुलक गीतहरुलाई राज्य तथा सरोकारवाला पक्षहरुले सहयोग गर्नु पर्ने उनी बताउँछिन् । समाज परिवर्तनका लागि गाउने सर्जकको भुमिका महत्वपूर्ण हुने उनी बताउँछिन् । “समाज परिवर्तन र चेतनाका लागि गीत गाइनुपर्छ । समाज परिवर्तनका लागि गीत संगीतको भूमिका हुनसक्छ,” गायिका बर्मा भन्छिन् ।

कोलकतामा हुँदा तेस्रोलिंगीहरु आफ्नो साथी रहेको स्मरण गर्दै उनी भन्छिन्, “त्यहाँ को तेस्रोलिंगी को समलिंगी भन्ने मतलब नै हुन्न, महिला पुरुष सरह सबै समान हुन भन्ने हिसावले ब्यबहार गरिन्छ,” उनी भन्छिन्, “तर यहाँ तेस्रोलिंगी र समलिंगी भन्नबित्तिकै फरक ब्यबहार हुन्छ, यसको अन्त्य हुनुपर्छ ।”

समाचार शेयर गर्नुहोस्
677
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.