नागरिकता पानी पर्दा ओड्न मिल्ने छाता हो ?

नागरिकता पानी पर्दा ओड्न मिल्ने छाता हो ?

धनुषा (पहिचान) असार १४ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पहिचान अनुसारको नागरिकता नबनाउन दबाब दिएको बताएका छन् । उनीहरुले समलिंगी विवाहको कानुन नबन्दा जवरजस्ती विपरितलिंगीसँग विवाह गर्नु परेको पनि बताए ।

नील हिरा समाजले नर्वेजियन परियोजनाको सहयोगमा प्रदेश नम्वर २ को अस्थायी राजधानी जनकपुरमा पत्रकारहरुसँग गरेको अन्तरक्रियामा उनीहरुले अहिले पनि सहज रुपमा पहिचान अनुसारको नागरिकता पाउन नसकेको गुनासो गरे । “पहिलो त घर परिवारनै पहिचान अनुसार नागरिकता बनाउन दिदैन, अर्को प्रशासनले समेत स्वीकार्दैन उनीहरुले भने, जन्मदा लिंग लिएर जन्मेको हो, अहिले कसरी तेस्रोलिंगी भयो भनेर प्रश्न गर्छन ।”

उनीहरुले संघीय, प्रदेश र स्थानीय तीन वटै तहका सरकारले आफ्नो समुदायलाई कुनै सम्बोधन नगरेको बताए । संबिधानमा अधिकार लेखिएपनि त्यो उपभोग गर्न कहिले पाइने हो भनेर उनीहरु प्रश्न समेत गरे । तेस्रोलिंगी बिबेक ठाकुरले पहिचान अनुसारको नागरिकता लिन खोज्दा घरबाट निकालिनु परेको गुनासो पोखे ।

सुनौलो विहानी समाज धनुषाका अध्यक्ष सत्रुधन यादवले चाहेर पनि पहिचान अनुसार नागरिकता लिन नपाएको बताए । “आफ्नो इच्छा विपरित परिवारको करकापमा विवाह बन्धनमा बाधिनु पर्छ, जवरजस्ती विवाहका कारण धेरैको घरबार विग्रेको छ उनले भने, हाम्रो इच्छा अनुसार विवाह गर्ने कानुन कहिले बन्छ ?”

मानवअधिकारकर्मी प्रदीप यादवले नील हिरा समाज स्थापना हुनु अघिनै समलिंगी तेस्रोलिंगी खुलेर आएको बताउँदै संस्था हुँदैमा आफूहरु जस्ता व्यक्तिहरु खुलेर आएको भनेर नबुझ्न पत्रकारहरुलाई अनुरोध गरे । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे पत्रकारहरुलाई अझै थप जनचेतना दिनु पर्ने खाचो औल्याए । “हाम्रो मुद्धामा पत्रकारहरु अझै थप जनचेतना दिनुपर्छ उनले भने, पत्रकारले हाम्रो मुद्धा नबुझे अरुलाई बुझाउन कसरी सम्भव होला ?” उनले आफूहरुको अधिकार प्राप्तिको अभियान धनुषाका ग्रामीण क्षेत्रसम्म पुग्न नसकेको बताए ।

अर्का अधिकारकर्मी सत्य नारायण शाहले जनकपुरमा मात्रै १० हजारको हाराहारीमा समलिंगी तेस्रोलिंगी सम्पर्कमा आएको जानकारी दिए । “हामी ग्रामिण क्षेत्रमा अझै पुग्न सकेका छैनौ उनले भने, कोही पनि रहरले समलिंगी तेस्रोलिंगी हुँ भनेर आउँदैन ।”

उनले पहिचान अनुसारको नागरिकता मात्रै दिएर राज्य पञ्चिन नमिल्ने बताए । “पहिचान अनुसारको नागरिकता पानी पर्दा ओड्ने छाता हो उनले प्रश्न गरे, महिला पुरुष सरह रोजगारीको अवसर खोइ ?” उनले सिमित स्रोतका कारण अधिकार प्राप्तको अभियान थप सशक्त हुन कठिन भएको बताए ।

पहिलो मिष्टर गे हेन्डसमका उपाधी बिजेता अधिकारकर्मी बिश्वराज अधिकारीले समलिंगी तेस्रोलिंगी महिल पुरुष जस्तै समान नागरिक भएको बताए । “महिलालाई पुरुषसँग, पुरुषलाई महिलासँग विवाह गर्न मन लागे जस्तै हामीलाई समान लिंग भएकासँग विवाह गर्ने मन हुन्छ उनले भने, हाम्रो विवाह अप्राकृतिक हो भने महिला र पुरुषबीचको विवाह पनि अप्राकृतिक हो ।”

कार्यक्रम सहभागी पत्रकारहरुले पुरुष पुरुष, महिला महिलाबीच पनि विवाह हुन्छ ? तपाईहरुलाई समानता चाहिएको होइन र ? तपाईहरुको संख्या कति छ ? लगायतका प्रश्न गरेका थिए । नील हिरा समाजले नेपालमा ९ लाखको हाराहारीमा यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको जानकारी दिएको थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.