समलिंगी तेस्रोलिंगीको विषयमा चलचित्र बनाउँदै केसी

समलिंगी तेस्रोलिंगीको विषयमा चलचित्र बनाउँदै केसी

काठमाडौं (पहिचान) साउन १ – चलचित्र निर्देशक नरेश केसीले समलिंगी तेस्रोलिंगीको विषयमा केन्द्रित रहेर चलचित्र बनाउने भएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा मात्रै केन्द्रित भएर उनले चलचित्र बनाउन लागेका हुन् ।

यसअघि यौनिक अल्पसंख्यकका विषयमा केन्द्रित भएर सुनगाभा नामक चलचित्र निर्माण भएको थियो । उक्त चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा पनि पुगेको थियो ।

“मैले अमेरिकामा बसेर पढिरहेका बेला नै यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा चलचित्र निर्माण गर्न स्क्रिप्ट तयार गरेको थिएँ,” चलचित्र डाइङ क्यान्डलका निर्देशक केसीले भने, “अहिले यो स्क्रिप्टका लागि फन्ड पनि आइसकेको छ । अब चाँडै चलचित्र निर्माणको तयारीमा छु ।”

समाजमा लुकेर बसेका मौलिक विषयमा आफ्ना चलचित्रको मुख्य विषय हुने भन्दै उनले समलिंगी तेस्रोलिंगीको विषय पनि नेपालका लागि मौलिक विषय हुने बताए ।

अहिलेसम्म चलचित्रमा समलिंगी सम्बन्ध र तेस्रोलिंगीलाई प्यारोडिका रुपमा मात्रै प्रस्तुत गरिएको उनको भनाइ छ । “नेपाल मात्रै होइन मेन स्ट्रिमका भारतीय चलचित्रमा पनि तेस्रोलिंगीलाई प्यारोडिका रुपमा प्रस्तुत गरेको देखेको छु,” केसीले भने, “जबसम्म यो विषयमा राम्रो र सकारात्मक बुझाई हुँदैन तबसम्म यो प्रचलनको अन्त्य नहुन पनि सक्छ ।”

कसैको इमोशनसँग खेल्न कसैलाई पनि अधिकार नभएको भन्दै केसीले समलिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा चित्रण गर्न नहुनेमा जोड दिए ।

समलिंगी सम्बन्धलाई मान्यता दिँदा असर नगर्ने पनि उनले बताए । सबै नागरिक समान रहेको भन्दै उनले महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीको पनि अधिकार भएको बताए । नरेश केसी निर्देशित चलचित्र रोमियो एन्ड मुना यही साउन ११ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.