दुब्यहार, कुटपिट र हेपिनेक्रम बढेको यौनिक तथा लैंगिक अल्पसंख्यकको गुनासो

दुब्यहार, कुटपिट र हेपिनेक्रम बढेको यौनिक तथा लैंगिक अल्पसंख्यकको गुनासो

काठमाडौं (पहिचान) भदौ ४ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अभद्र व्यहारका घटना बढेको गुनासो गरेका छन् । रात्रीकालिन समयमा आफूहरुमाथि दुब्यहार, कुटपिट र हेपिनेक्रम बढेको उनीहरुले दुःखेसो गरेका हुन ।

केही दिन अघि मेकअप आर्टिष्टका रुपमा कार्यरत तेस्रोलिंगी महिला टिना राई काठमाडौंको ठमेलमा एक्कासी प्रहरीको आक्रमणमा परिन ।

आफ्नो काम सकेर घर फर्किने क्रममा रेष्टुरेन्टमा खाजा खाइसकेपछि आफ्नै साथीहरुसँग सामान्य विवाद भएको विषयलाई लिएर प्रहरीले आफूलाई शरीरमा निलडाम हुनेगरी कुटपिट गरेको टिनाले बताइन ।

टिनाले भनिन, ‘कुनै गल्ती नै नगरी घटनाको वास्तविकता नबुझि म माथि आक्रमण भयो’ आक्रमणपछि पनि मलाई उपचार गर्नुको साटो सोझै प्रहरी बृत्त सो¥हखुट्टेमा लगेर थुनामा राखियो ।’

उनले भनिन, ‘म मात्र होइन यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै आधारमा म जस्ता दर्जनौं साथीहरु हरेक दिन प्रहरी र बाह्य ब्यक्तिहरुको आक्रमणमा परिरहेका छौं ।’

टिना मात्र होइन रात्रीकालिन काम र रेष्टुरेन्टमा कार्यरत महिलामाथि कुटपिटका घटना बढेको पाइएको छ । नील हिरा समाजमा कार्यरत अधिकारकर्मी भक्ति साह भन्छन, ‘ उजुरीका आधारमा घटनाको प्रकृति हेर्दा निर्दोष ब्यक्तिहरु बढीजसो कुटपिट र अंगभङ भएको देखिन्छ ।’

उनले भने, ‘विशेषगरी दैनिकजसो कुटपिट र दुब्र्यवहारमा पर्नेमा समलिंगी तेस्रोलिंगीको संख्या धेरै छ, न्यायका लागि उजुरी दिए पनि कुनै सुनुवाइ हुँदैन ।’

नील हिरा समाजमै आएको उजुरीको तथ्याकंलाई हेर्ने हो भने सन् २०१८ जनवरी देखि अगष्टसम्ममा १ सय १६ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये बाह्य ब्यक्ति र प्रहरीको निशानामा ५० जना ब्यक्तिमाथि विना कारण कुटपिट भएको साहले बताए ।
अधिकारकर्मी साहका अनुसार कतिपय घटनाहरु समलिंगी तेस्रोलिंगीहरुलाई बाटोमा हिंडडुल गर्दा जिस्क्याउने, दुब्र्यवहार गर्ने, अपशब्द बोलेर गाली गर्नेजस्ता अमानवीय घटना भएको पाइन्छ ।

आठ महिनाको अवधीमा कुटपिट र दुब्यवहारकै चारवटा उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएको उनले बताए ।
संविधान तथा विभिन्न कानुनहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समान व्यवहार र व्यवस्था भए पनि आम मानिसको हेर्ने दृष्टिकोण र ब्यवहार परिवर्तन हुन नसक्नु दुखद भएको साहले बताए ।

यद्यपी, भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता र मुलुकी फौजदारी संहितामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई भेदभावपूर्ण व्यवहार गरे कानुनी कारवाही हुने व्यवस्था छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, द्वयलिंगी र अन्तरलिंगी) भएकै कारण भेदभावपूर्ण व्यवहार गरेमा तीन बर्ष कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय भोग्नु पर्ने भएको हो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै कारण भेदभावपूर्ण व्यवहार गरे जेल सजाय हुने

साभार : फ्रेस न्यूज नेपाल

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.