‘अझै पनि जान्ने बुझ्ने व्यक्तिले नै हाम्रो कुरा बुझ्न सकेका छैनन्’

‘अझै पनि जान्ने बुझ्ने व्यक्तिले नै हाम्रो कुरा बुझ्न सकेका छैनन्’

काठमाडौं/पहिचान – लामो कपाल । ग्ल्यामरस ड्रेस । धरैको नजरमा महिला हो भन्ने पर्छ । तर महिलाजस्तो देखिनका लागि उनले गर्नुपर्ने दुःख बेग्लै छ । शारीरिक बनावट पुरुषको भए पनि उनको इच्छा चाहाना सबै महिलासँग मिल्ने खालको छ । पिंकी गुरुङ । यो उनको चलनचल्तीको नाम हो तर नागरिकतामा उनको नाम छ– सञ्जीव गुरुङ । अर्थात समाजमा अरू सामान्य नागरिकले जसरी जीवन जिएका छन उनले त्यस्तो पाएकी छैनन् ।

विश्वमा धेरै युवा सफल हुनुमा परिवार, आफन्त, साथी, जीवनसाथी सबैको प्रत्यक्ष सहयोग चाहिन्छ तर उनलाई भने यति धेरै साथ मिलेको छैन । तर पनि उनी आज एक उदाहरणीय पात्रको रूपमा दरिएकी छिन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक (समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी ) समुदायको अधिकारका लागि सङ्घर्षरत पिंकी नील हिरा समाजकी अध्यक्ष हुन् । ठूलो सफलता हात पार्न नसके पनि उनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि अभियन्ता हुन् । हिजो गल्ली, चोक र दोबाटोमा कुरा काट्नेहरू आज उनीबाट नै धेरै सिक्दैछन् । समलिंगी, तेस्रोलिंगीहरूलाई हेयको दृष्टिले हेर्नेहरूको धारणा परिवर्तन गराउन तल्लीन छिन् उनी ।

२०३५ सालमा लमजुङमा जन्मिए पनि पिंकीको बाल्यकाल काठमाडौँमै बित्यो । स्कुल कलेज यही अध्ययन गरिन् तर तत्कालीन साँघुरो समाजमा उनलाई अघि बढ्न पाइला पाइलामा अवरोध थिए । यद्यपि चुनौतीसँग जुध्दै उनको सङ्घर्षको यात्रा कहिल्यै रोकिएन । त्यसैले त हिजो घृणाको पात्र बनेकी पिंकी आज देशभरको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा लड्न सक्ने भएकी छिन् ।

हिजो घरबाट आफ्नो चाहाना अनुसारको कपडा लगाएर बाहिर निस्कन नसक्ने पिंकी अहिले आनन्दसँग आफ्नो समुदायको विषयमा कुरा गर्न सक्छिन् । भन्छिन, ‘मलाई यो अवस्थासम्म आउनका लागि धेरै समय लाग्यो । सफलता प्राप्त गर्ने मान्छेले धेरै कुरा भोग्नुपर्ने रैछ । अहिले म परिवारको विश्वासिलो पात्र भएको छु । ३ वर्षअघि मेरो बाबा क्यान्सरको कारणले बित्नुभयो । मर्नुभन्दा पहिला बाबाले मलाई आफ्नो मृत्यु संस्कारमा आएका आफन्तहरूलाई राम्रोसँग खानपिनको व्यवस्था गर्नु तेरो नै भरलाग्छ भन्नुभएको थियो ।’ ‘मेरो परिवारलाई मैले गर्ने कामको विश्वास लाग्छ, त्यसैले बुबाले यस्तो भन्नु हुनसक्छ’, उनले अड्कल काटिन् ।

शारीरिक बनावट पुरुषको भए पनि साथी सर्कल महिला नै हुन्छन् । बिहान ९ बजे बसुन्धारास्थित घरबाट निस्कने पिंकी बेलुका घरपुग्दा छिटोमा ९ बज्छ । नत्र कहिलेकाहीँ १२ पनि बज्छ । उनलाई दिनरात आफूजस्तै यौनिक तथा लैंगिक अवस्था भएकाहरूलाई सघाउनु छ र त दिन रात भन्न पाउँदिनन् ।

पिंकी बन्न गर्नुपरेको सङ्घर्ष 

सञ्जीव गुरुङलाई पिंकी गुरुङ बन्न निकै सङ्घर्ष गर्नुपर्यो । शारीरिक बनावट पुरुषको भए पनि उनलाई म महिला हो भन्ने भान हुन्थ्यो । बाल्यकालमा छोरीको जस्तो व्यवहार देखाउँदा सामान्य ठानिए पनि उमेर परिवर्तनसँगै उनको क्रियाकलाप महिलासँग मिल्न थाल्यो । यो कुरालाई सबैले शङ्काको दृष्टिले हेर्न थाले ।

महिलाको आवाजमा गीत गाउने, ड्रेस पनि महिलाकै लगाउने, युवा अवस्थामा विपरीतलिंगप्रति आकर्षण बढ्नु पर्नेमा पुरुषप्रति नै आकर्षित हुन थालिन गुरुङ । यसरी एक पुरुष भनिएका व्यक्तिले महिलाको चरित्र देखाउन थालेपछि विद्यालयमा उनी आफ्नो साथीबाट पटक पटक तिरष्कृत भइन् ।

तिरष्कारको कुरा गर्दा यस्तै बाटोमा हिँड्दा महिलाको स्वरमा गीत गाउँदा गाउँकै मानन्धर थरका व्यक्तिले उनको घाटी निचोरेको पीडा अहिलेसम्म पनि पिंकीले भुल्न सकेकी छैनन् । उनी भन्छिन, ‘‘उनीसँग अर्काे साथी नभएको भए मलाई मार्थे होलान् ।’

हुन त यस्ता तिरष्कारका र अपहेलनाका सूची उनीसँग लामै छ । तर उनलाई विगतमा अल्झिनुभन्दा पनि भविष्य बनाउने चिन्ता छ ।

अनि बाटो मोडियो

बाल्यकालदेखि नै सङ्गीतमा रुचि भएका कारण एसएलसीपछि उनी आरआर कलेजमा भर्ना भइन् । आईएमा सङ्गीत विषयमा भर्ना भएकी उनी घरबाट निस्कँदा पुरुषको कपडा लगाउँथिन् भने बीच बाटोबाट भने महिलाको कपडा लगाएर क्याम्पस पुग्थिन् । क्याम्पसपछि दिनभर आफूजस्तै साथीहरूसँग भेटघाट गर्थिन् । सधैँ बीच बाटोमै कपडा परिवर्तन गर्न उनलाई सम्भव भएन । त्यसपछि उनले घरबाट नै महिलाको कपडा लगाएर निस्कने निधो गरिन् ।

उनको पहिलो सफलता भनेको त्यही थियो । सुरुमा कपाल पालिन् । बिस्तारै महिला देखिने सर्टपेन्ट लगाइन, शारीरिक परिवर्तनका लागि हर्माेनको प्रयोग गरिन् । अनि ग्ल्यामर ड्रेसमा घरबाट निस्कन थालिन् । परिवारलाई उनको बारेमा जानकारी भएकै कारण खासै रोकतोक भएन । तर हिजोसम्म पुरुष व्यक्ति एकाएक महिलाको रूपमा निस्कँदा समाजले आश्चार्य मान्न थाल्यो । त्यति मात्रै होइन, उनी हिँड्ने गल्लीगल्ली, चोकचोकमा कुरा काट्न थाले तर उनले कुनै मतलब गरिनन् ।

कलेज पढ्दै गर्दा उनले आफूजस्तै धेरै साथी भेटिन् । उस्तै साथीहरूबीच रत्नपार्कमा १ बजेपछि भेट हुन थाल्यो । जुन बेलामा समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीको पक्षमा बोल्ने कुनै पनि आधिकारिक निकाय थिएनन् ।

सन् २००१ मा नेपालमा नील हिरा समाजको स्थापना भयो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहितमा काम गर्ने उद्देश्यले उनी पनि समाजमा लागिन् । सन् २००१ मा स्थापना हुँदा ६ सदस्य थिए ।

सोही संस्थामार्फत उनले समुदायको हक अधिकारको बारेमा आवाज उठाउँदै आइन् । सँगै आफ्ना साथीहरूलाई संस्थामा आबद्ध गराउन थालिन् । लुकेर बसेको उनको समुदायको आवाज बाहिर ल्याउने केही नाम चलेका समलिंगी तेस्रोलिंगीसँग पिंकीको नाम पनि जोडिन थाल्यो । काठमाडौँकी पिंकी देशभरको समलिंगी, तेस्रोलिंगीको हकहितमा काम गर्न थालिन् ।

समुदायको सक्रियताले समलिंगी तेस्रोलिंगीले लैंगिक पहिचान अनुसार नागरिकता पाउनुपर्ने पहिलो पटक संबिधानमै लेखियो । यो नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको ठूलो उपलब्धि थियो । तर कार्यान्वयन भने अझैसम्म झन्झटिलो नै छ । अहिलेसम्म ९ लाख समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी रहेको अनुमान छ भने २ सय २० जतिले मात्रै नागरिकता प्राप्त गरेका छन् ।

नील हिरा समाजमा ६ लाख आबद्ध रहेका छन् । यो समुदायको हितमा काम गरेकै कारण आज उनी देशभरका यौनिक तथा लैंगिक अल्पसंख्यकको नेतृत्व गरिरहेकी छिन् । उनले नील हिरा समाजको अध्यक्षको जिम्मेवारी सम्हालेको ९ वर्ष भयो ।

राजनीतिमा पिंकी

नील हिरा समाजको अध्यक्षको जिम्मेवारीसँगै उनी राजनीतिमा पनि सक्रिय छिन् । पिंकी नयाँ शक्तिपार्टीमा जोडिएकी छिन् । ‘डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पहिलो पटक बजेट विनियोजन गरिएको थियो । डाक्टर भट्टराईको पालामा यौनिक तथा लैंगिक अल्पसंख्यकका केही कुरा सम्बोधन भएको थियो । त्यतिवेला नेपालमा यौनिक तथा लैंगिक अल्पसख्यक समुदायको अधिकार प्राप्तिका अभियन्ता नील हिरा समाजका संस्थापक सुनिलबाबु पन्त सभासद् थिए । यो कामले गर्दा पिंकी नयाँ शक्तिमा लागेकी हुन् ।

उनले प्रतिनिधिसभा सदस्यका लागि नयाँ शक्ति पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर ५ बाट समानुपातिकमा नाम दर्ता गरिन् । पर्याप्त मत भने आउन सकेन । यद्यपि त्यो समयदेखि पिंकीलाई राजनीतिक दलको नेताका रूपमा पनि धेरैले चिन्न थालेका छन् । आखिर उनी किन राजनीतिमा पनि लागिन् त ? उनी भन्छिन, ‘राजनीतिमा हुँदा आफूहरूको माग सम्बोधन गर्न केही सहज हुने रहेछ ।’

नयाँ शक्ति पार्टीको सचिवालय सदस्य र महाधिवेशन आयोजक समितिमा रहेकी उनी व्यक्तिगत फाइदाका लागि भन्दा पनि सम्पूर्ण यौनिक तथा लैंगिक अल्पसंख्यकको हितका लागि सक्रिय भइरहेको बताउँछिन् । जुनसुकै चुनौतीलाई पनि सकारात्मक रूपमा लिने उनी त्यसैलाई आफ्नो सफलताको मुख्य कारक मान्छिन् । भन्छिन, ‘नकारात्मक कुरा गर्ने मान्छेसँग झनै नकारात्मक कुरा गर्नुभन्दा राम्रो कुरा गर्नुपर्छ ।’

समलिंगी तेस्रोलिंगी भनेपछि पार्टी्भित्रका व्यक्तिहरूले पनि नकारात्मक दृष्टिले हेर्ने गरेको अनुभव उनले सुनाइन् । ‘राजनीतिक पार्टीमा लागेका व्यक्तिले पनि हामीलाई यौन व्यवसायमा लाग्ने व्यक्ति ठान्दा रहेछन, निशङ्कोच प्रस्ताव राख्छन् । यस्तो अवस्थामा नमज्जा लाग्छ’, उनी भन्छिन, ‘अझै पनि जान्ने बुझ्ने व्यक्तिले नै हाम्रो कुरा बुझ्न सकेका छैनन् ।’

यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारकै लागि दौडिरहेकी उनको यसैगरी निरन्तर सक्रिय भैरहने योजना छ ।

साभार : रातोपाटी

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.