बेलायतबाट संचालित गेस्टारन्यूज नेपालमा बन्देज

बेलायतबाट संचालित गेस्टारन्यूज नेपालमा बन्देज

काठमाडौं (पहिचान) कार्तिक १२ – यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका समाचार, गतिविधि, विचार लगायतका सामग्री प्रकाशन गर्दै आएको गेस्टारन्यूज नेपालमा बन्देज भएको छ । नेपाल सरकारले पोर्न साइट नेपालमा नखुल्ने व्यवस्था गरेसँगै एलजीबीटीआइको समाचार, बिचार दिने बेलायतबाट संचालित अन्तराष्ट्रिय न्यूज पोर्टल नेपालमा बन्देज (ब्याण्ड) भएको हो ।

www.gaystarnews.com अनलाइन संचार तथा सूचना प्रविधि मन्त्रालय तथा नेपाल दुर संचार प्राधिकरणको निर्देशनमा नेपाल बन्देज भएको हो । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य अश्लील सामग्रीहरुको आदान प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको मन्त्रालयले सूचना निकालेर जनाएको छ ।

इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लील सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजका मूल्य मान्यता र सामाजिक सद्भावमा खलल पुगेको तथा समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गर्ने मन्त्रालयले उल्लेख गरेको छ ।

गएको असोज ५ गते मन्त्रालयका सहसचवि एवं प्रवक्ता रामचन्द्र ढकालले सूचना निकालेर त्यस्ता सामग्रीहरुमा बिद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेवसाइटहरु बन्द गर्न आवश्यक भएकोले इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लील सामग्रीको नेपाल भित्र पहुँच रोक्ने व्यवस्था गर्न नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएका थिए ।

अश्लील सामग्रीहरुको बिद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट आदान प्रदान, प्रकाशन र प्रसारण नगर्न दूर संचार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्ता लगायत सबैमा मन्त्रालयले अनुरोध गरेको थियो ।

अश्लील सामग्री दिने अरु वेवसाइटहरुसँगै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारबारे अन्तराष्ट्रिय स्तरबाट सूचना प्रवाह गर्दै आएको गेस्टारन्यूज डट कम नेपाल सरकारको निशानामा परेको छ । नेपालको संबिधानले यौनिक तथा लैंगिक अल्पसंख्यकको पहिचान सुनिश्चित गर्दै विभेद गर्न नपाइने भनेको छ । तर, सरकारले अन्तराष्ट्रिय स्तरबाट यही समूदायको अधिकार, गतिविधि, समाचार, विचार लगायतका समाग्री दिने गेस्टारन्यूज नेपालमा नखुल्ने बनाइदिएको छ ।

मन्त्रालयको निर्देशनपछि नेपाल दूर संचार प्राधिकरणले यौनजन्य अश्लील सामग्रीहरुमा विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेवसाइटहरु वन्द गर्न सवै दूरसञ्चार सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन गरेको छ । यो निर्देशनको पालना नगरिएको पाईएमा दूरसंचार ऐन, २०५३ बमोजिम जरीवानाको साथै अनुमतिपत्र रद्ध हुने सम्मको कारवाही हुने चेतावनी प्राधिकरणले दिएको छ ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले यौनजन्य सामग्री देखेर नेटवर्क सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकहरुले ब्याण्ड गरेको हुन सक्ने बताए । पहिचान अनलाइनसँग कुरा गर्दै प्रवक्ता अर्यालले यदी यौनजन्य सामग्री विनानै बन्देज लागेको भए अनुशन्धान गरेर खुल्ने जानकारी दिए । ‘समाचार नै दिने केही अरु एक दुई वटा वेवसाइट पनि ब्याण्ड भएको उजुरी आएपछि अनुशन्धान गरेर खुल्ला भएका छन् उनले भने, यो गेस्टारन्यूज पनि यौनजन्य सामग्री दिने वेवसाइट होइन रैछ भने खुल्ला हुन्छ ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.