६ सय ९९ समलिंगी तेस्रोलिंगी एचआइभी संक्रमित

६ सय ९९ समलिंगी तेस्रोलिंगी एचआइभी संक्रमित

काठमाडौं (पहिचान) मंसिर १८ – नेपालमा एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगीको संख्या बढेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रका अनुसार यो बर्ष ६ सय ९९ जना समलिंगी तेस्रोलिंगीमा एचआइभीको संक्रमण देखिएको छ । गत बर्ष ५ सय ६१ जना समलिंगी तेस्रोलिंगीमा एचआइभीको संक्रमण देखिएको थियो । यो बर्षको तथ्याङक गत बर्षको भन्दा १ सय ३८ जनाले धेरै हो ।

नेपालमा एचआइभीको परामर्श र परीक्षणबाट भेट्टाउने र सबै संक्रमितलाई बेलैमा उपचार, हेरचाह र स्याहार सेवा प्रदान गर्ने कार्यक्रममा सरकार र गैर सरकारी संघ संस्थाहरुले बार्षिक २ अर्व भन्दा धेरै खर्च गरिरहेका छन् । सबैभन्दा धेरै एचआइभी संक्रमित यौनकर्मीमा देखिएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका रणनीतिक सूचना अधिकृत वीरबहादुर रावलले सबैभन्दा धेरै यौनकर्मी र तिनका ग्राहक १० हजार ७ सय ८३ जना एचआइभी संक्रमित भेटिएको जानकारी दिए । उनले रोजगारीका लागि बिदेश जाने ३ हजार ३ सय ६२ र सुईद्धारा लागू पदार्थ प्रयोग गर्ने ३ हजार २ सय ४७ जना एचआइभी संक्रमित फेला परेका छन् ।

समग्रमा भने एचआइभी संक्रमणको दर गएको बर्षको तुलनामा घटेको छ । विगत बर्षमा संक्रमणको दर प्रति हजारमा ५ जना हुन्थे भने अहिले प्रति हजार २ जनामा झरेको छ । नेपालमा रहेका एचआइभी संक्रमितहरुमध्ये करिब ८५ प्रतिशत असुरक्षित यौनसम्पर्कको माध्यमबाट सर्ने गरेको पाइएको छ । सुईद्वारा लागू पदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि विदेश जाने र कैदीलगायतको समूहमा एचआइभी संक्रमणको दर पाँच प्रतिशतभन्दा बढी रहेको केन्द्रले जनाएको छ ।

सरकारले मुलुकका विभिन्न २ सय ६५ केन्द्रमा एचआइभी परिक्षणको व्यवस्था गरेको छ भने ६५ वटा एआरटी साइट सञ्चालनमा ल्याएको छ । यस्तै, आमाबाट बच्चामा एचआइभी सक्रमण सर्नबाट रोक्न विभिन्न ५५ जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको केन्द्रले जनाएको छ ।

अझै पनि एचआइभीको अवस्था थाहा नपाएकाहरुलाई सर्वसुलभ परामर्श र परीक्षणबाट भेट्टाउने र सबै संक्रमितलाई बेलैमा उपचार, हेरचाह र स्याहार सेवा प्रदान गर्न आवश्क रहेको एचआइभीको क्षेत्रमा कार्यरत संघ संस्थाले बताएका छन् ।

एचआइभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै विश्व स्वास्थ्य संगठनको आयोजनामा एचआइभी रोकथामको लागि जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो । यस वर्ष ’एचआइभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराको साथ यो दिवस मनाइएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.