कुटपिटबाट घाइते भएका तेस्रोलिंगीको स्थानीयले उपचार गर्ने

कुटपिटबाट घाइते भएका तेस्रोलिंगीको स्थानीयले उपचार गर्ने

रुपन्देही (पहिचान) माघ ८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय र मझगवा मर्यादापुरका स्थानीयबीच अब गल्ती नदोहोर्याउने सहमति भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा समूदाय, स्थानीय बासिन्दा र प्रहरीबीच भएको छलफलमा दुवै पक्षले गल्ती नगर्ने सहमति भएको नील हिरा समाज रुपन्देहीकी अध्यक्ष आनिक रानाले जानकारी दिइन ।

मझगवाको मर्यादापुरमा जन्मोत्सव समारोहमा बधाई दिन गएका तेस्रोलिंगीमाथि स्थानीयले दुरव्यवहार र कुटपिट गरेको बिषयमा भएको छलफलमा अब गाली गलौज झैझगडा र कुटपिट नगर्ने सहमति भएको हो । अध्यक्ष रानाका अनुसार स्थानीयको कुटपिटबाट घाइते भएका तेस्रोलिंगी राजकुमारी चौधरी, कान्छी चौधरी र पुष्पा चौधरीको उपचार स्थानीयले गर्ने गरी मिलापत्र भएको छ ।

समाजकी अध्यक्ष रानाले तेस्रोलिंगी माथि दुरव्यवहार गर्दै संबेदनशिल अंग समेतमा कुटपिट गरि घाउँ चोट पुर्याएको घटनाप्रति गंभिर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्नलाई कारवाही गर्न माग गरेकी थिइन ।

स्थानीय र तेस्रोलिंगी दुवै पक्षको कमजोरी देखिएको बताउँदै अबदेखि कमजोरी नदोहोर्याउने सहमति गरेर दुवै पक्ष गएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक कुमुद ढुंगेलले जानकारी दिए । जन्मोत्सवमा शुभकामना र बधाई दिन गएका तेस्रोलिंगीलाई मर्यादापुरका स्थानीय कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएका तेस्रोलिंगीलाई इलाका प्रहरी कार्यालय मझगवाका प्रहरीले उद्धार गरेको प्रहरी नायव निरीक्षक जीवन सुनारीले जानकारी दिए । ‘स्थानीय बासिन्दाले पटक पटक गुनासो गरेकाले हाम्रो टोली घटिएको थियो उनले भने, स्थानीयले कुटपिट गरेका तेस्रोलिंगीलाई हाम्रो टोलीले उद्धार गरेको हो ।’

कुटपिटमा संलग्नलाई कारवाही र घाइतेको उपचार तथा राहतको माग गर्दै नील हिरा समाज रुपन्देहीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । निवेदन अनुसार मझगवाका प्रहरी र स्थानीयलाई बोलाएर यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायसँग छलफल गराएको प्रहरीले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.