समलिंगी सम्बन्धबारेको चलचित्र ‘म होइन म’ करोड क्लबमा

समलिंगी सम्बन्धबारेको चलचित्र ‘म होइन म’ करोड क्लबमा

काठमाडौं (पहिचान) फागुन २ – चलचित्र, गीत संगित करोड क्लबमा पुग्नु कुनै नौलो बिषय भने होइन । तर, कुनै चलचित्र हलमा प्रदर्शन नगरिएको चलचित्र ‘म होइन म’ ले करोड भन्दा धेरै भ्यू पाएको छ । नाम मात्रैले पनि यो चलचित्रको यति भ्यू आएको होइन ।

यो चलचित्रको बिशेषता हो, समलिंगी सम्बन्धलाई जवरजस्ती विपरितलिंगीसँग या विपरितलिंगीलाई समलिंगीसँग विवाह नगराऔ भन्ने नै हो । चलचित्र मार्फत नेपालमा रहेको नर्वेजियन दूतावासले नील हिरा समाज मार्फत दिन खोजेको सन्देश पनि यही थियो ।

३६ लाख रुपैयाँमा निर्माण भएको यो चलचित्र पहिलो पटक सन् २०१७ मा भएको अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिएको थियो । पर्यटन बोर्डमा भएको यो चलचित्र प्रदर्शन गरेपछि पहिचान मिडिया युट्युब च्यानलमा राखिएको हो । आजसम्म पहिचानको युट्युब च्यानलमा सबैभन्दा धेरै भिओर यही चलचित्रको छ ।

सबैभन्दा धेरै प्रतिक्रिया पनि यही चलचित्रले पाएको छ । यो समलिंगी विवाह, समलिंगी सम्बन्ध, बैबाहिक अधिकार, घर, परिवार र समाजले हेर्ने दृष्टिकोणमा मात्रै केन्द्रित नेपालको पहिलो चलचित्र हो । चलचित्रमा कलाकारिता मार्फत देश दुनियाँ देखाइन्छ भने यो चलचित्रमा आफ्नै घर, परिवार र समाजमा उत्पिडित मध्येका यौनिक तथा लैंगिक अल्पसंख्यक भित्रको पनि समलिंगीलाई बोल्ने शब्द र गर्ने ब्यवहार समान छ छैन ? चलचित्रमा देखाइएको छ ।

चलचित्र हेरेर भेरी नाइस, भेरी गुड, फेन्टास्टिक, नाइस मुभी, आइ ल दिस मुभिज जस्ता प्रतिक्रिया आएका छन् भने केही प्रतिक्रिया सुरुवात नै मन नपरेको सम्मका छन् । समग्रमा यो चलचित्रलाई धेरैले माया गरेका छन् । युट्युबमा झण्डै ९ सय प्रतिक्रिया पाएको चलचित्र  ‘म होइन म’ लाई ११ हजारले लाइक गरेका छन् भने ५ हजार ४ सयले डिसलाइक गरेका छन् ।

नेपालमा समलिंगी विवाहको कानून नबने पनि समलिंगी विवाहबारेको चलचित्र बनेको छ । यो चलचित्रले एक करोड भ्यू पाएजस्तै समलिंगी विवाहको कानून बनेको भए घर, परिवार र समाजमा समलिंगी जोडीलाई स्वीकारेको या अस्वीकार गरेका चलचित्र पो बन्ने थिए कि ?

बर्षोदेखि विवाहको अधिकार माग्दै आएका यौनिक तथा लैंगिक अल्पसंख्यकलाई कानून र व्यवहारमा समान व्यवहार गर्नुपर्छ भन्ने चेतना धेरै थोरैमा मात्र पुगेको छ । नीति निर्माण तहमा रहेकाहरु मध्ये पनि सिमित संख्यामा मात्र यौनिक तथा लैंगिक अल्पसंख्यक बुझेका छन् । उनीहरु आफ्नै कुरा सुन्दैनन भनेर गुनासो गर्छन ।

बहुमतको सरकार, बहुमतको कर्मचारितन्त्र, बहुमतको दम्भ भएकाहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई बैबाहिक अधिकार दिनुपर्छ भन्नेनै नठानेका हुन् कि ? कुरो बुझ्न मुस्किलै कायम रहेका बेला बनेको चलचित्र म होइन म आजपनि सान्र्दभिक बिषयबस्तुका साथ उभिरहेको छ ।

समलिंगी सम्बन्धलाई लिएर बनाइएको चलचित्र ‘म होइन म’ इलम दीक्षितले निर्देशन गरेका हुन् । १ घण्टा २५ मिनेट लामो चलचित्रले आफ्नै परिवारले फरक यौनिकता स्वीकार नगरेसम्म समाज र राज्यले स्वीकार गर्दैन भन्ने सन्देश दिने प्रयास गरेको छ । नर्वेजियन दूतावासको सहयोगमा भूषण दाहालले निर्माण गरेको यो चलिचित्र नील हिरा समाजको प्रस्तुती हो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.