एलजिबिटिआई मैत्री नीति तथा कार्यक्रम बनाउन प्रदेश सरकारलाई सुझाव

एलजिबिटिआई मैत्री नीति तथा कार्यक्रम बनाउन प्रदेश सरकारलाई सुझाव

835
SHARES

रुपन्देही (पहिचान) चैत ३ – प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री प्रदेश बनाउने बताएका छन् । मन्त्री बरालले प्रदेश ५ लाई आफुले लैंगिक समानता मुलक प्रदेशको परिकल्पना गरेको उल्लेख गरे ।

यौनिक तथा लैंगिक अल्पसंख्यक, महिला, पुरुष, अपांगता भएका, दलित, मुस्लिम, जनजाती, मधेशी, पिछडा वर्ग सबैका अधिकारको प्रत्याभुतिका लागि मन्त्रालय सदैव सकारात्मक रहेको उनको भनाई छ । नील हिरा समाजको आयोजना तथा ओपन सोसाईटी फाउण्डेशनको सहयोगमा बुटवलमा भएको यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकार र चासो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बरालले सबैका अधिकार दिलाउने र समृद्ध प्रदेश बनाउने काममा प्रदेश सरकारले चासो राखेको बताए ।

उनले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु अझै पनि समाजमा लुकेर हिड्नु परेको र समाज तथा परिवारले विभेद गरेको घटना सुन्नु पर्दा दुख लाग्ने गरेको बताए । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकार र उनीहरुलाई सक्षम बनाउन बजेट, कार्यक्रम तथा सहभागिताका सवालमा समय समयमा छलफल तथा कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने मन्त्री बरालको भनाई छ ।

कार्यक्रममा प्रदेश सांसद थान कुमारी थापा, कमला देवी विश्वकर्मा, पुर्व सांसद तथा संचारकर्मी बिनोद पहाडी, एक्लोलाई सहारा दिने वृक्ष समुह भैरहवाकी अध्यक्ष आनिक राना मगर एक्लोलाई सहारा दिने वृक्ष समुह भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपाने लगायतले लैंगिक मैत्री समाज नै समृद्धिको आधार भएको बताए । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि समाजमा सहज वातावरण सृजना गर्नु अहिलेको आवश्यकता रहेको उनीहरुको भनाई छ ।

कार्यक्रममा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले मुलुकमा संघिय संरचना निर्माण भए संगै स्थानीय तथा प्रदेश सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकारका विषयमा नीति तथा कार्यक्रम बनाउनु पर्ने बताईन् । अध्यक्ष गुरुङले यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री नीति तथा कार्यक्रम बनाउन प्रदेश सरकारलाई सुझाव समेत दिइन ।

चिकित्सकिय उपचारबाट लिंग परिवर्तन गर्ने होईन, प्राकृतिक रुपमा भएको पहिचानकै आधारमा आफुहरुले अधिकार पाउनु पर्ने माग राख्दै गुरुङले त्यही पहिचानको आधारमा अधिकार प्राप्तिको अभियानमा आफुहरु लागेको बताइन ।

समाचार शेयर गर्नुहोस्
835
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.