संविधानले सुनिश्चित गरेको अधिकार व्यवहारमा लागू नभएको गुनासो

संविधानले सुनिश्चित गरेको अधिकार व्यवहारमा लागू नभएको गुनासो

मकवानपुर (पहिचान) जेठ १५ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले संविधानमा लेखिएको अधिकार कार्यान्वयन नभएको गुनासो गरेका छन् । फ्रेण्ड्स् हेटौँडा मकवानपुरले हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाका प्रतिनिधि, राजनीतिक दल तथा सञ्चारकर्मीहरुबीच समलिंगी तेस्रोलिंगी समुदायको बारेमा गरेको समन्वय तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले संविधानमा लेखिएको अधिकार कार्यान्वयन नभएको गुनासो गरेका हुन् ।

कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालकी उपाध्यक्ष भूमिका श्रेष्ठले यौनिक तथा लैँगिक अल्पसंख्यकहरुको अधिकार संविधानले सुनिश्चित गरेपनि व्यवहारमा लागु नभएको बताइन । अहिले पनि मकवानपुर सहित देशका विभिन्न क्षेत्रमा संविधानमा व्यवस्था भए अनुरुप यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरुले सजिलैसँग नागरिकता तथा पासपोर्ट नपाएको भूमिकाले बताइन ।

उनले जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन गएकालाई संविधानमा आएपनि ऐन नबनेको भन्दै फर्काउने गरेको सुनाइन । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारका लागि वडास्तरबाटै कदम चल्नुपर्नेमा भूमिकाको जोड छ ।

प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका भिम तिमल्सिना, नेपाली काँग्रेसका नेता प्रदिप कोईराला, विभिन्न वडाका वडाअध्यक्ष, प्रतिनिधि तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण फ्रेण्ड्स् हेटौँडा मकवानपुरका कार्यक्रम संयोजक सुरज थापा ‘किरण’ ले गरेका थिए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे सचेतना कार्यक्रम देशका विभिन्न ४० वटा जिल्लामा सञ्चालन भईरहेको आयोजकले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.