लोक सेवाको विज्ञापनमा तेस्रोलिंगीलाई समावेश गर्न माग

लोक सेवाको विज्ञापनमा तेस्रोलिंगीलाई समावेश गर्न माग

काठमाडौं (पहिचान) असार २९ – सरकारले खुला गर्ने लोक सेवाको विज्ञापनमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नील हिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समसामयिक अन्तक्र्रिया तथा छलफल’मा समाजबाट अपहेलित भएको तेस्रोलिंगी समुदायलाई लोक सेवाको विज्ञापनमा समावेश गर्नुपर्ने बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । “यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको समस्या समाधानका लागि नेपाल प्रहरी तत्पर छ”, उनले भने । नेपाल प्रहरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समुदाय–प्रहरी साझेदारीमा समावेश गरेको उनको भनाई छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले कानूनको पालना गरेर अगाडि बढे प्रहरीले सहयोग गर्ने विश्वास व्यक्त गरे । “संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारलाई ‘ग्यारेन्टी’ गरेकोले सम्मानित भएर बाँच्नका लागि बाटोमा होइन, नयाँ जागिरको खोजी गर्नुपर्छ”, उनले भने ।

टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले खुलारूपमा यौन व्यवसाय सञ्चालन गर्न कानूनले नदिएको भन्दै व्यापार व्यवसाय गरेर अगाडि बढ्न यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सुझाव दिए । खुर्सानीटार टोल सुधार समितिका उपाध्यक्ष हरिश चन्दले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई राज्यले हेर्नुपर्ने बताए ।

कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तर्फबाट जिया केसी, अस्मिता श्रेष्ठ, अनिशा सुवेदी, सुनिता लामालगायतले आफ्नो समुदाय प्रहरी र समाजबाट अपहेलित हुनुपरेको बताउँदै आफूहरु सम्मानित भएर बाँच्न चाहेको बताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका हक र हितका लागि काम गर्दै आएको नील हिरा समाजले देशभरका २७ जिल्लामा शाखा विस्तार गरेर काम गरिरहेको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन ।
रासस

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.