अजिता हत्यामा संलग्नलाई पक्रेर कारवाही गर्न माग

अजिता हत्यामा संलग्नलाई पक्रेर कारवाही गर्न माग

मकवानपुर (पहिचान) माघ १० – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले तेस्रोलिंगी अजिता भुजेलको हत्यामा संलग्नलाई चाँडो पत्ता लगाएर कारबाही गर्न माग गरेको छ । हेटौंडामा पत्रकार सम्मेलन गरेर तेस्रोलिंगी अधिकारकर्मी किरण थापा सुरजले अजिताको बलात्कारपछि निर्मम हत्या भएको बताउँदै हत्यामा संलग्नलाई पक्रेर कारवाही गर्न प्रहरीसमक्ष अनुरोध गरिन ।

संयोजक सुरजले अजिताको हत्यासम्बन्धमा आफूहरुमाथि भ्रम फैलाइएको जिकिर गरे । उनले यो अपराधीको षडयन्त्र भएको बताए । बलात्कारपछि हत्या भएको भन्ने आफूहरुलाई विश्वास लागेकोले यसबारे गम्भीर भएर अनुसन्धान गर्न उनले माग गरे । अजिताको हत्या निर्मलाको हत्या प्रकरणजस्तो गुपचुप नहोस् भन्दै उनले पत्रकार सम्मेलनमा अजिता तेस्रोलिंगीमात्र नभएर नागरिकसमेत भएकोले छानबिन प्रभावकारी हुनुपर्ने बताइन् ।

पत्रकार सम्मेलनमा उनले अजिताको हत्याले सम्पूर्ण तेस्रोलिंगी तथा समलिंगी समुदाय त्रासमा परेको भन्दै हत्यारा जो कोही भए पनि कडा कारबाहीको माग गरेकी छन् । मकवानपुरबाट पहिलोपटक तेस्रोलिंगी नागरिकका रुपमा नागरिकता प्राप्त गरेकी भुजेलको हत्या भएको थियो । उनले पहिलो पटक समलिंगी विवाह पनि गरेकी थिइन ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय तथा मानवअधिकार क्षेत्रमा काम गर्दै आएकी भुजेलको हत्या हुँदा किन कोही मानवअधिकारकर्मी बोलेनन् भन्ने प्रश्न गर्छिन् किरण । लैंगिक हिंसा तथा महिला हिंसाविरुद्ध कुनै कार्यक्रम नछुटाउने भुजेलको हत्या हुँदा कोही पनि बोल्न नसक्नु नै हाम्रो समाज हालसम्म पनि परिवर्तन हुन नसकेको देखाउँछ, थापा भन्छिन्–बोलीमा मात्र परिवर्तन भएको छ, व्यबहारमा परिवर्तन भएको छैन, आजसम्म पनि हामीलाई हेर्ने नजर त्यही नै छ । किन यसमा महिलावादी बोल्दैनन् ?, थापाले प्रश्न गरिन् ।

पत्रकार सम्मेलनमा बताइएअनुसार भुजेल करिब दुई महिनादेखि एक युवकसँग लिभिङ टुगेदरमा बस्दै आएकी थिइन् । ति व्यक्ति अजिताको शव भेटिएपछि फरार छन् । उनीहरु बिहे नगरी आपसी समझदारीमा पति–पत्नीका रुपमा बस्दै आएको जानकारी आफूहरुलाई आएको थापाले जानकारी गराइन् ।

अजिताकी साथीसमेत रहेकी थापाले २ महिनादेखि अजिताको उक्त व्यक्तिसँग सम्बन्ध रहेको र उनको शव भेटिएपछि ती व्यक्ति फरार हुनु शंकाको विषय भएको बताइन् । आफूलाई अजिताले ती व्यक्तिको फोटो देखाएको तर आफूहरुले उक्त व्यक्तिसँग भेट नगराएको उनको भनाइ छ । अजिताको हत्या भएकै दिनबाट ती व्यक्ति गायब हुनु रहस्यको विषय भएको भन्दै आफूहरुले ती व्यक्तिको तस्बीर प्रहरीलाई उपलब्ध गराइसकेको उनले बताइन् ।

हत्या भएपछि भएको पोष्टमार्टमको कागजी रिपोर्ट नआए पनि उनको बलात्कारपछि निर्मम हत्या भएको जानकारी आएको उनले बताइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–५ को क्याम्पाडाँडामा मृत फेला परेकी तेस्रोलिंगी भुजेलको हत्यामा संलग्न भएको आरोपमा हेटौंडाबाट ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले हत्यामा संलग्न भएको आशंकामा केही युवालाई पक्राउ गरिएको बताए । घटनाको अनुसन्धान भइरहेकाले नाम गोप्य राखिएको उनले जानकारी दिए । अनुसन्धान सकिएपछि घटनामा संलग्न भएको पुष्टि भए सार्वजनिक गरिने कुर्मीले बताए ।

मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले अजिता हत्या प्रकरणलाई प्रहरीले गम्भीरतापूर्वक लिएको र केही दिनमा अपराधी पक्राउ पर्ने बताए । राठौरले मुख्य अभियुक्तको पहिचान भइसकेकाले छिट्टै पक्राउ पर्ने बताए ।

केही समयदेखि अजिता ‘लिभिङ टुगेदर’ मा बस्दै आएकी थिइन् । घटनापछि उक्त केटा फरार छन् । अजिताको अर्को नाम वसन्ती हो । ‘वसन्ती भुजेल’ नामक उनको फेसबुक अकाउन्ट केही समयअघि ‘वसन्ती घिसिङ’ बनाइएको थियो । त्यसैले ती केटाको थर घिसिङ हुनसक्ने अनुमान गरिएको छ ।

भुजेलको गत शनिवार हेटौंडा–५, क्याम्पाडाँडामा अर्धनग्न अबस्थामा शव फेला परेको थियो । मृतक भुजेलको घाँटी र टाउकोमा लागेको चोटले हत्या भएको प्रहरीले बताएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालयले विशेष टोली बनाएर अनुसन्धान गरिरहेको जनाएको छ ।

शुक्रबार राति अजिता दुई पुरुषसँग होटलबाट निस्किएको सीसीटिभी फुटेज फेला परेको छ । प्रहरीले त्यो रात होटलमा बस्ने ग्राहकलाई ‘ट्रयाक’ गरिरहेको छ । अजिताको हत्या गरिएको अबस्थामा माघ ४ गते शव फेला परेपछि परिवारका एकमात्र सहारा डुबेपछि अजिताका ७६ वर्षीय हजुरबुबा भक्तबहादुर नातिनीको काजकिरियामा छन् ।

पहिला अजय नाम थियो, पछि उनी आफंैले नाम परिवर्तन गरी अजिता राखेकी थिइन् । अजिताले उनका साथीहरुलाई भनेकी थिइन्–म मरेपछि बेहुलीझैं सजाएर घाटमा लैजानु ल । त्यसैले आइतबार दुहलीझैं रातो कपडा लगाएर, श्रृंगार गरी उनको दाहसंस्कार गरियो, हेटौंडा–११ को नवलपुरमा ।

उनकी ७० वर्षीया हजुरआमा कृष्णाकुमारी भुजेलले अपराधी पक्राउ परे आफूहरुलाई न्याय हुने बताइन् । नातिनी सम्झदै कृष्णाले भनिन्–हाम्रो त सहारा नै खोसिएको छ । आफूलाई महिला बताउन चाहने अजिता परिवारसँग संघर्ष गरेर घरै छाडेर हिडे पनि घरमा बेलाबेलामा आउँथिन । हजुरबुबा र आमालाई केही सहयोग गर्थिन ।

तेस्रोलिंगी अजिताको हत्या भएको आशंका, असुरक्षित भएको तेस्रोलिंगीको महसुस

अजिता मृत्युले उव्जाएका आशंका

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.