फेशन डिजाइनर बन्ने धोको पुरा गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यक

फेशन डिजाइनर बन्ने धोको पुरा गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यक

रुपन्देही (पहिचान) माघ २० – रुपन्देहीको योगीकुटीकी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी रिना रानाको सिप सिकेर आत्मनिर्भर बन्ने धोको छ ।

त्यही धोको पुरा गर्न राना अहिले बुटवल उपमहानगरपालिकाको सहयोगमा सशक्तीकरण नेपालले आयोजना गरेको फेशन डिजाइन तालीममा सहभागी भएकी छन् । “समाजमा हामीलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक छैन, हामीप्रति आम नागरिकको सकारात्मक दृष्टिकोण बनाउन आयमुलक काममा जोडिन जरुरी छ ” उनले भनिन् । तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गर्ने उनको योजना छ ।

पाल्पाको तानसेनमा जन्मिएर हाल बुटवलमा बस्दै आएकी अवान्तिका घर्ती मगर पनि फेशन डिजाइन तालिममा सहभागी छन् । तालीममा सिप सिकेर आफु पनि आत्मनिर्भर बन्ने र अरुलाई पनि सघाउने इच्छा उनको छ । “ तेस्रोलिंगी भएकै कारण शारीरिक, मानसिक र सामाजिक हिंसा सहेर पनि संघर्ष गर्दै यहाँसम्म आए । अब कुशल फेशन डिजाइनर बनेर समाजमा स्थापित हुने धोको छ ” घर्ती भन्छीन ।

बुटवल दिपनगरकी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकै दिया सारु पनि भविष्यमा सफल उद्यमी बन्ने चाहना बोकेर तालिममा सिप सिक्न तल्लिन छन् । तालिममा विभिन्न डिजाइनीङका कपडा सिलाउने सिप सिकेर स्वरोजगार बन्ने इच्छा सारुको छ । “ हामी प्राय नाच्ने गाउने कार्यक्रममा रमाउछौ तर नाच्ने भनेको बैंश छदासम्म मात्रै हो, उमेर गएपछि यो सम्भव छैन, सारु भन्छिन,’ “हातमा सिप भयो भने जहाँ गएर पनि आय आर्जन गर्न सकिन्छ ।”

बुटवलको ट्राफिकचोक बस्ने सायरा गुरुङलाई फेशन डिजाइनिङ मनपर्ने विषय हो । गुरुङ समय समयमा विभिन्न ठाउँमा हुने कार्यक्रममा सहभागिता जनाउँछिन् । आफैले डिजाइनिङ गरेको कपडा सिलाउन नजान्दा सायरालाई कहिलेकाँही समस्या पर्ने गरेको छ । त्यही समस्या नहोस भन्नका लागि फेशन डिजाइनिङमा दक्ष हुन तालिममा सहभागी भएको सायरा बताउँछिन ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई लक्षित गरेर आयोजना गरिएको फेसन डिजाईन तालिममा १६ जना जना सहभागी छन् । बुटवल उपमहानगरपालिका र युएन डिपिको सहयोग तथा बुटवल टेक्निकल ईन्स्टिच्युटको संयोजनमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि तालिमको आयोजना गरिएको हो ।

“अहिलेसम्म धेरैलाई सिप सिकाए तर यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई पहिलो पटक प्रशिक्षण दिदै छु, तालिमका प्रशिक्षक कमला चापागाई भन्छिन् , “शुरु शुरुमा अलि असहज महशुस भयो तर उहाँहरुको राम्रो व्यवहार र क्रियाशिलताले सिकाउन सहज भएको छ ।” कामप्रतिको लगनशिलता र क्रियाशीलताका कारण ३ सय ९० घण्टाको तालिममा सबै सहभागी दक्ष हुने प्रशिक्षक चापागाइको विश्वास छ । तालिममा कुर्ता सुरुवाल, वान पीस, डिजाइनर ब्लाउज, लेहेङ्गा, प्लाजा, सरारा, गाउन, मेक्सी लगायतका विभिन्न डिजाइनका कपडा सिलाउन सिकाइएको उनले बताइन ।

स्थानीय सरकारबाट यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि तालिमको आयोजना हुदा यो समुदायको अधिकारका क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरु खुशी छन् । “तेस्रोलिंगीहरुलाई लाग्ने अनेक लाञ्छना चिर्न सिपमूलक कार्यक्रम जरुरी छ, सशक्तीकरण नेपालकी अध्यक्ष आनिक राना भन्छिन,’ यो समुदायका युवाहरु सिप सिकेर आत्मनिर्भर बनुन भन्ने उद्देश्यले यो तालिम आयोजना गरिएको हो ।”

परिवारबाट समेत अपहेलित भएका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई आत्मनिर्भर बनाउन तालिममले ठूलो सहयोग गर्ने आनिकको विश्वास छ । “समाजमा अझै पनि हामीलाई स्वीकार गरिएको छैन , तेस्रोलिंगीले कहि पनि सजिलै काम पाउने वातावरण बन्न सकेको छैन । यस्तो अवस्थामा स्वरोजगारका लागि सिप सिक्न आवश्यक छ ” उनले भनिन् ।

कुनै पनि समुदायको सशक्तीकरणका लागि रोजगार प्रमुख विषय हो । यसका लागि सिप र दक्षता आवश्यक पर्ने भएकाले बुटवल उपमहानगरपालिकाले सिपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको उपप्रमुख गुमादेबी आचार्यले बताइन । “सिप नजानी आत्मनिर्भर हुन सम्भव छैन त्यसैले नगरमा रोजगारी सृजनाका लागि सिपमूलक र आयमूलक तालिमलाई जोड दिएका छौ” उनले भनीन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.