काठमाडौं (पहिचान) साउन १४ – नेपाल चाडपर्व धेरै भएको देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएको छ । दहि, मासु, खिचडी, सेल, घ्युचाकु, दहि चामल, दहि चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गरिन्छ । यि सबै चाडपर्व मनाउँदाका आ–आफ्नै विशेषता छन् । त्यसै गरि हरेक वर्ष साउन १५ गते खिर खाएर चाड मनाउने गरिन्छ । पुर्खाहरुले हाम्रो देशमा यसरी नै संस्कृतीलाई जोगाइ राखेका छन् । यो हाम्रो लागि ठूलो उपलब्धि हो । यसले देशको पहिचान बढ्नुका साथै पर्यटन क्षेत्रको विकासमा टेवा पुग्दछ । हाम्रो देशको संस्कृती भनेको विश्वको नमुना हो । यस्तो संस्कृती कतै पनि छैन् । तर अब भने यसको जर्गेनाको पाटो ठूलो कठिनाई छ । यसमा आम जनताको चासो रहन आवश्यक छ ।
साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ । नेपालमा प्राचिन कालदेखि खिर एक उत्कृष्ट खाना हो । आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । यस दिन खिर खाएमा शुभ हुने मान्यता रहेको छ । यस महिनामा वर्षा हुने र विभिन्न किसिमका रोग लाग्ने र विरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनका लागि खिर खाने चलन रहेको पाईन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाइन्छ । वर्षायाममा विभिन्न संक्रमण भई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस् र संक्रमण नहोस्, थकान नलागोस्, फुर्ति बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ । गर्मी महिना भएको कारणले शरिरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ । यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन साउन महिनामा दुध र दुधजन्य पदार्थको बढि नै सेवन हुने गरेको पाइन्छ ।
गाउँघरमा मिठो मसिनो कमै खाईने र खान पनि कठिन हुने भएकोले खानामा सन्तुलित होस् भनेर शरिरलाई आवश्यक पर्ने सबै खाले खाना खाने चाडपर्वको व्यवस्था भएको पाइन्छ । यसले गर्दा सबै मानिसले दैनिक खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन मद्दत पुग्ने गरेको देखिन्छ । यि सब कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाहरुले धेरै सोचबुझ गरेर चाडपर्वको महत्व विस्तार गरेको पाइन्छ । अनि आम नेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भएपनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिने गरि कम्तिमा वर्षको एकदिन भए पनि खानु पर्ने गरि चाडपर्वको व्यवस्था भएको पाइन्छ । बैज्ञानिक तरिकाले पनि यो अति उत्तम मानिन्छ ।
आजभोलि सबै किसिमका खानेकुराहरु सबै समयमा पाइने भएपनि त्यसको सहि उपभोग भएको पाइन्न । यसले गर्दा अन्य समस्या धेरै उत्पन्न भएको पाइन्छ । त्यस कारण पहिले पहिलेका चाडपर्वले गर्दा सन्तुलन भोजनको लागि लाभदायक भएकोे देखिन्छ । आजकाल चाडपर्व फेसनको रुपमा पनि मनाउने गरेको पाइन्छ । स्कुल, कलेज, अफिसमा पनि साथीभाईहरु मिलेर खिर खाने चलन बढेको छ । यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा लगभग ४ गुणा बढि हुने गर्दछ । दैनिक उत्पादनको दुधले नपुग्ने भएकोले डेरी उद्योगहरुले दुई चार दिन अगाडि देखि नै दुध भण्डारण गरि राख्ने र नपुगेमा धुलो दुध मिसाएर बजारमा लाने गरिन्छ । यस पटक भने कोरोना भाइरसका कारण यसको महत्व कम देखिएको छ । आम मानिस चैत्र ११ गतेबाट लकडाउनमा थिए ।
भर्खर यहि साउन ७ गते रातीबाट लक डाउन खुलेको छ । लक डाउन खुले पनि कोरोनाको प्रकोप भने घटेको छैन । यो माहामारीका कारण शहरमा होटल, रेष्टुरेण्ट, स्कुल, कलेज, पार्टीप्यालेस, क्यानटिन आदि सबै बन्द भएका कारण दुधको खपत पनि कम छ । आजभोलि खपत कम भएकोले यस पटक पहिले पहिले जस्तो दुध त्यति नपुग हुने छैन् । आसा गरौं यस पटक सबै ठाउँमा आवश्यक मात्रामा दुध सहजै उपलब्ध हुनेछ । यसरी हामी आम नेपाली देशैभरी साउन १५ मा सबैजना खिर खाई साउन १५ भब्य रुपमा मनाउँदछौं । हामी सबै मिलि सबै किसिमका चाडपर्वको संरक्षण गरि हाम्रा भावि पुस्तालाई राम्रोसँग यस्ता सबै किसिमका चाडपर्वको महत्व बुझाउनु पर्दछ । यसले हाम्रो देशको पहिचान दिनेछ । यसलाई सहि तवरले परिचालन गर्न सक्ने हो भने विदेशी पाहुना ल्याउन मद्दत पुग्नेछ । हामीले अरु देशको धर्म संस्कृतीको नक्कल गरेर आफ्नो देशका धर्म संस्कृतीलाई भुल्न हुँदैन ।
(लेखक नेपाल डेरी एसोसिएशनका महासचिव हुन् )
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.