सिंगिङ थेरापी

भान्सादेखि उपचारसम्म उपयोगी ‘सिंगिङ बउल’: कुन सक्कली,कुन नक्कली? (भिडियो)

भान्सादेखि उपचारसम्म उपयोगी ‘सिंगिङ बउल’: कुन सक्कली,कुन नक्कली? (भिडियो)

काठमाडौं : लामो समयदेखि सिंगिङ बउल बनाउँदै आएका शान्तरत्न शाक्य ‘कसा:’ले बजारमा नक्कली सिंगिङ बउल भेटिन थालेकोमा चिन्ता व्यक्त गरेका छन्।
पुर्ख्यौली पेसाको रूपमा सिंगिङ बउल बनाउँदै आएका शाक्यको आफ्नै ब्रान्ड छ ‘फुलमुन बउल’ जुन बउलमा उनको आफ्नै लोगो र नेवारी लिपिमा ‘कसा:’ लेखेका छन्।
‘कसा:’ भन्ने शब्द उनको ट्रेडमार्क हो। तर, पछिल्लो समय नक्कली सिंगिङ बउल निर्माताले आफ्नो कम्पनीको लोगो र नाम राखेर उत्पादन गरिदिएकाले समस्या परेको उनले बताए।
शाक्यले भने ‘बजारमा पाइने विभिन्न बउलहरुमा मेरो कम्पनीको लोगो र मेरो सिग्नेचर समेत भेटिएकाले समस्या परेको छ।’ यो बनाउन विशेष किसिमको धातु र सिपको आवश्यकता पर्छ। अहिले बजारमा पाइने सबै किसिमका बउलमा उपयुक्त धातु मिसिएको हुँदैन।
शाक्यले नामाकरण गरेको फूलुमन बउल हरेक पूर्णिमाको रातमा मात्रै बनाउने गरेको बताए। ‘यो फुलमुन बल सबै समयमा बनाइँदैन,’उनले भने,‘हामी विभिन्न सात किसिमका धातु राखेर हरेक पूर्णिमामा मात्रै बनाउँछौँ र त्यसकारण यो विशेष खालको हुन्छ।’ यसबाट आउने साउन्ड अन्य बलको भन्दा फरक हुने उनले बताए।
विदेशमा आफूले बनाएको फूलमुन बउल लोकप्रिय र विश्वसनीय भएको जानकारी दिँदै शाक्यले नक्कली बउल उत्पादनले आफ्नो मात्रै नभएर सिङ्गै नेपालकै बदनाम हुन सक्ने बताए। ‘व्यापार जसले पनि गर्न पाउँछ मेरो कुनै गुनासो छैन तर, अन्य कम्पनीहरूले मेरो लोगो र नाम नराखुन् भन्ने मात्रै हो’ उनले भने।
कुनै पनि मन्दिरको घन्टहरूको आवाज फरक फरक हुने जानकारी दिँदै शाक्यले आफूले बनाउने सबै फूलमुन बउलको साउन्ड एउटै हुने बताए। ‘हामी आवश्यक कच्चा पदार्थमा कहिल्यै कम्प्रमाइज गर्दैनौ र निकै मेहनतका साथ बनाउँछौँ,’उनले भने,‘त्यसकारण हामीले बनाउने बउलको साउन्डमा एकरूपता हुन्छ।’
यो बउल पहिला पहिला विषेशगरी गर्भवती र सुत्केरी महिलालाई खाना खुवाउन प्रयोग गर्ने चलन थियो। अहिले सिंगिङ बउलबाट साउन्ड थेरापी गर्न सकिन्छ।
युरोप, अमेरिकालगायतका मुलुकमा डिप्रेसनमा गएकाहरूलाई सिंगिङ थेरापीबाटै उपचार गराउने चलन छ। अहिलेसम्म ३५ भन्दा बढी मुलुकमा गएर साउन्ड थेरापी गरिसकेको शाक्यको भनाई छ।
अङ्ग्रेजीमा सिङ्गिङ् बउल भनेर चिनिने बटुकोलाई नेपाल भाषामा ‘बाटा’ भनिन्छ। नेवारी परम्परा र संस्कृतिमा ‘बाटा’को महत्त्व विशेष खालको रहेको बताउँदै शाक्य भन्छन् ‘नेवारी परम्परामा ‘जानेगु बाटा’ भनेर सुत्केरीलाई यसमा खाना खुवाइन्छ। साथै मृत्यु हुँदा काँसको सानो कचौरा मृतकको मुखमा राख्ने चलन । यसलाई ‘कें ख्वाला’ भनिन्छ। तर आजभोलि काँसको प्रयोग घट्दै गएकाले यो परम्परा हराउँदै गएको छ।’
सिङ्गिङ् बउल तान्त्रिक योग र साधनामा प्रयोग हुने महत्त्वपूर्ण उपकरण भएको शाक्यको भनाई छ। ‘यसले हाम्रो शरीरको नसालाई कम्पन र झङ्कार दिन्छ’ उनले भने।
सिङ्गिङ् बउलबाट धेरै खालका ध्वनि उत्पन्न हुने र त्यसले फरक फरक रोगको उपचार गर्न सकिने उनले बताए। तर फरक फरक समस्याका लागि फरक फरक ध्वनिको उपयोग गर्नुपर्ने उनको सुझाव छ।
एउटा सिङ्गिङ बउलबाट सयभन्दा बढी प्रकारका ध्वनि निकाल्ने अभ्यास गरेको जानकारी दिँदै उनले भने, ‘म कहाँ बढी मात्रामा महिलाहरू उपचार गर्न आउँछन्।’ विशेष गरी महिनावारी हुँदा नारीहरूमा मानसिक तनाव उत्पन्न हुने भएकाले विश्वमा करिब ९० प्रतिशत महिलामा माइग्रेनको समस्या हुने गरेको उनले बताए।
माइग्रेसन पीडितका लागि सिङगिङ बउलको उपचार अचुक विधि भएको उनको अनुभव छ। तर एकै खालको समस्या भए पनि प्रत्येक व्यक्तिमा फरक फरक रक्त समूह हुने भएकाले फरक फरक ध्वनिको प्रयोग गर्नुपर्ने उनले बताए।
उनको भनाई अनुसार मुख्यतः यो विधिले नसा र मानसिक रोगीका बिरामीका साथै कान कराउने समस्यालाई पनि उपचार गर्न सकिन्छ।
अहिले धेरै मात्रामा मेसिनबाट बउलहरु बन्दै आएकाले ती सामान उपचारका लागि काम नलाग्ने उनको भनाई छ। ‘मेसिनबाट बन्ने काँसमा मिसावट बढी हुने भएकाले त्यो शुद्ध धातु मानिँदैन’ उनले भने।
‘मेसिनबाट बनेको काँसको बाटामा ध्वनि आए पनि त्यसमा कम्पन हुँदैन। उपचारका लागि कम्पन अत्यावश्यक हुन्छ। मेशिनले बनाएको हेर्दा राम्रो र सस्तो हुने भएकाले सजावटका लागि बढी उपयुक्त हुन्छ’ उनले भने।
शाक्यले छ सय भन्दा बढी विदेशी नागरिकलाई बउल बजाउने तालिम दिएका छन्। उनीहरू त्यसमा लागिरहेकै छन्। तर नेपालमा चाही त्यसको दुरुपयोग भएको उनलाई लागेको छ।
हिलिङ बउलको नाम ठाउँअनुसार फरक फरक हुन्छ। अमेरिकामा यसलाई हिलिङ बउल, युरोपमा मसाज बउल र जापानमा सिराइन बउल भनिन्छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading