अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने, निर्माण क्षेत्र ऋणात्मक

अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने, निर्माण क्षेत्र ऋणात्मक

काठमाडौं : केन्द्रीय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ।

कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा अर्थतन्त्रको आकार ४९ खर्ब ७६ अर्ब रहने अन्तिम विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षमा स्थिर मूल्यमा अनुमान गरिएको आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.५४ प्रतिशत र उपभोक्ताको मूल्यमा ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ।

आधारभूत मूल्यको आर्थिक वृद्धिदर गत आर्थिक वर्ष २०७९/८० मा २.३१ प्रतिशत हुने संशोधित अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा कृषि क्षेत्रको ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान तथ्याङ्क कार्यालयले मङ्गलवार सार्वजनिक गरेको हो।

संशोधित विवरण अनुसार गत आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहने अनुमान गरिएको छ। विद्युत्, ग्याँस, वाष्प तथा वातानुकूलित आपूर्ति सेवा क्षेत्रको चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर १७.४४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

केही विद्युत् परियोजनाको उत्पादन थप भएसँगै चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि उल्लेख्य रूपमा वृद्धि हुने अनुमान कार्यालयले गरेको छ। निर्माण क्षेत्रको चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (–२.०७%) हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ।

निर्माण सामाग्रीको आयातमा आएको कमी, निर्माण सामाग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा सङ्कुचन हुने अनुमान गरिएको हो। गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–१.१०%) रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.९३ प्रतिशत कायम गरिएको छ।

थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ०.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ। चालु आर्थिक वर्षमा व्यापारजन्य वस्तुको आयात तथा आन्तरिक उत्पादनमा आएको गिरावटले यस क्षेत्रको मूल्य अभिवृद्धि नगण्य रूपमा मात्र वृद्धि हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (–३.०२%) रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ७.४२ प्रतिशत कायम गरिएको छ।

यातायात तथा भण्डारण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ११.८९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयातमा भएको वृद्धि, पर्यटकको आवागमनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि सुधार हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर १.४५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.६० प्रतिशत कायम गरिएको छ।

आवास तथा भोजन सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २१.८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ। विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर १८.०३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १२.५६ प्रतिशत कायम गरिएको छ।

सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा कम्प्युटर प्रोगामिङ तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा तार रहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान रहेको छ।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८÷७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१९ प्रतिशत कायम गरिएको छ।

घरजग्गा कारोबार सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। घर जग्गाको कारोबारमा तुलनात्मक रूपमा कमी आएको भए पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा यस क्षेत्रको वृद्धिदर २.१८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७८÷७९ को अन्तिम तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.७२ प्रतिशत कायम गरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading