छात्रवृत्ति कार्यक्रमले दलित बालबालिकाको शिक्षामा महत्त्वपूर्ण योगदान

छात्रवृत्ति कार्यक्रमले दलित बालबालिकाको शिक्षामा महत्त्वपूर्ण योगदान

94
SHARES
खाँडाचक्रमा दलित बालबालिकाको शैक्षिक सुधारका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरू। तस्बिर : मानबहादुर/पहिचान डटकम

कालीकोट – दलित बालबालिका तथा युवाहरूको शैक्षिक अवस्थामा सुधार गर्दै शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले कालीकोटको खाँडाचक्र नगरपालिकामा स्थानीय सरकार तथा शैक्षिक सरोकारवालाबीच समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ केन्द्रीय कार्यालय तथा सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रमअन्तर्गत खाँडाचक्र नगरपालिका–३, ताडीमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ कालीकोटका सचिव अनिल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाही प्रमुख अतिथि तथा नगर शिक्षा शाखा प्रमुख जशि प्रसाद चौलागाई र वडा नं. ३ का वडाध्यक्ष ददि प्रसाद पाण्डेकाे विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी तथा दलित अधिकारका क्षेत्रमा क्रियाशील सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय तहको शिक्षा नीति तथा छात्रवृत्ति नीति, दलित बालबालिकाको शैक्षिक अवसर र पहुँच विस्तार, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ तथा सरकारी विद्यालयबाट उपलब्ध हुँदै आएका छात्रवृत्तिको पारदर्शिता र प्रभावकारिता लगायतका विषयमा गहन छलफल गरिएको आयोजकको भनाइ छ।

त्यसैगरी अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूको दायित्व र जिम्मेवारी, बालबालिकाको चौतर्फी विकासका लागि घर तथा विद्यालयमा उपयुक्त वातावरण निर्माण, व्यक्तिगत अनुशासन, सरसफाइ र विद्यालयमा नियमित उपस्थितिको महत्त्वबारे समेत अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेश शाहीले नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित नेपाल छात्रवृत्ति कार्यक्रमले नगरपालिकाका विपन्न, गरिब तथा सम्भावना बोकेका दलित बालबालिकाको शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।

उनले आफू कार्यक्रमको सुरुवाती चरणदेखि नै परिचित रहेको र विभिन्न गतिविधिमा सहभागी हुँदै आएको उल्लेख गर्दै आगामी सरकारी योजना छनोट तथा बजेट तर्जुमा प्रक्रियामा दलित बालबालिकाको शैक्षिक सुधार र पहुँच विस्तारका लागि छात्रवृत्ति तथा शैक्षिक सहयोगका योजनालाई प्राथमिकता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै सङ्घसँग आगामी दिनमा पनि निरन्तर समन्वय र सहकार्य गर्ने उनको भनाइ थियो।

त्यसैगरी नगर शिक्षा शाखा प्रमुख जशि प्रसाद चौलागाईले दलित तथा विपन्न बालबालिकाको शैक्षिक सुधारका लागि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, जिल्ला शाखा कालीकोटसँग लामो समयदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै सङ्घले शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको बताए। आगामी दिनमा दलित बालबालिकाको शैक्षिक सुधारका लागि सहकार्यलाई थप सुदृढ बनाउँदै अघि बढ्ने उनले बताए।

कार्यक्रमका अर्का विशेष अतिथि खाँडाचक्र नगरपालिका वडा नं. ३ का वडाध्यक्ष ददी प्रसाद पाण्डेले विपन्न तथा दलित बालबालिकाको शैक्षिक विकासमा नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, जिल्ला शाखा कालीकोटले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

उनले वडास्तरमा सञ्चालन हुने विभिन्न गतिविधिमा दलित बालबालिकालाई प्राथमिकतामा राख्दै उनीहरूको क्षमता विकास, शैक्षिक गुणस्तर वृद्धि तथा छात्रवृत्तिका लागि बजेट छुट्याइएको जानकारी दिए। आगामी आर्थिक वर्षमा यसभन्दा बढी बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्घसँगको सहकार्यलाई निरन्तरता दिने बताए।

अन्तरक्रियाका क्रममा सहभागी शैक्षिक सरोकारवालाहरूले आफूहरूले दैनिक रूपमा भोग्दै आएका शैक्षिक समस्या, चुनौती, अनुभव तथा समाधानका उपायहरू प्रस्तुत गरेका थिए। दलित बालबालिकाको शिक्षामा पहुँच विस्तार र शैक्षिक सुधारका लागि आगामी दिनमा कसरी प्रभावकारी रूपमा अघि बढ्ने भन्ने विषयमा सहभागीहरूबीच राय, सुझाव तथा प्रतिबद्धतासहित संयुक्त कार्ययोजना तयार गरिएको थियो।

कार्यक्रम सञ्चालन तथा सहजीकरण गर्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, कालीकोटका जिल्ला कार्यक्रम अधिकृत गोरख नेपालीले दलित, विपन्न तथा गरिब परिवारका बालबालिकाको शैक्षिक अवस्था सुधार गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक तथा सम्पूर्ण शैक्षिक सरोकारवालाहरूको साथ, सहयोग र सहकार्य अपरिहार्य रहेको बताए।

उनले स्थानीय तह तथा शैक्षिक सरोकारवालाहरूको अर्थपूर्ण सहभागिता र आवश्यक विषयवस्तुमा गहन छलफल भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा दलित बालबालिकाले थप शैक्षिक सहायता प्राप्त गर्ने विश्वास व्यक्त गरे। छात्रवृत्ति कार्यक्रममा सीमित कोटा भएका कारण छुटेका अति आवश्यक बालबालिकाहरूले समेत स्थानीय सरकार तथा सरोकारवालाहरूको पहलबाट शैक्षिक राहत प्राप्त गर्न सक्ने अपेक्षा रहेको उनले बताए।

कार्यक्रममा स्थानीय सरकार तथा शैक्षिक सरोकारवालाहरूले आगामी सरकारी योजना तथा बजेट तर्जुमा प्रक्रियामा दलित बालबालिकाको छात्रवृत्ति, शैक्षिक सुधार र शिक्षामा पहुँच विस्तारका लागि आ–आफ्नो निकायबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

समाचार शेयर गर्नुहोस्
94
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.