"/>

हेमालाई बिचल्ली बनाउनेमाथि छानबिन गरी कारबाही गर्न माग

हेमालाई बिचल्ली बनाउनेमाथि छानबिन गरी कारबाही गर्न माग

अमेरिकी डाक्टर झिकाएर लिङ्ग परिवर्तन गराए, अहिले लात्ती हानेर निकाले

54
SHARES

काठमाडौँ – ‘ओहो ! यो कुरा त बाहिर आउन नहुने। अब के पो होला ?’ गत वर्ष अमेरिकी चिकित्सक झिकाएर शिक्षण अस्पताल महाराजगन्जमा लिङ्ग परिवर्तन गराएकी हेमा यादवको बिचल्ली भएको खबर सुनेपछि एक जना तेस्रोलिङ्गी महिलाले पहिचानसँग यस्तो प्रतिक्रिया दिइन्।

नेपालकै शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक बटम (तल भागको) शल्यक्रिया गराएकी हेमा अहिले शारीरिक पीडा, मानसिक तनाव र संस्थागत उपेक्षाको सिकार बनेकी छन्। शल्यक्रियापछि नयाँ जीवन सुरु गर्ने आशा राखेकी उनी अहिले न्याय माग्दै हिँड्नुपर्ने अवस्थामा पुगेकी छन्। आफूलाई सहयोग गर्नुपर्ने संस्थाकै नेतृत्वबाट दुर्व्यवहार र हिंसा भोग्नुपरेको उनको गुनासो छ।

हेमा विवाहित थिइन्। उनी युएसएआइडीको परियोजनामा काम गर्थिन्। जनकपुरस्थित सुनौलो बिहानी समाजमा कार्यरत रहँदा ब्लु डायमन्ड सोसाइटी (बिडिएस) मार्फत शल्यक्रिया गराउने अवसरबारे उनले जानकारी पाइन्।

‘बिडिएसबाट नै खबर आयो। बिडिएसले नै समन्वय गर्‍यो,’ उनले पहिचानसँग भनिन्, ‘नेपालकै शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक बटम सर्जरी गर्ने मै हुँ।’

युएसएआइडीको परियोजना बन्द भएपछि उनले लिङ्ग परिवर्तन गराएर महिला बन्ने निर्णय गरिन्। शल्यक्रियापछि काठमाडौँमै बसेर नयाँ जीवन सुरु गर्न पाउने उनको आशा थियो। तर, उनको त्यो आशा लामो समय टिकेन। शल्यक्रियापछि बिडिएसले उनलाई काठमाडौँमा बस्न नदिएको र जनकपुर फर्किन बाध्य पारेको उनको आरोप छ।

‘यता बस्ने होइन छोरी, उतै जाऊ, बधाई माग, हिजडा कल्चर अपनाऊ,’ बिडिएसका व्यक्तिहरूले आफूलाई भनेको उनले सुनाइन्। काठमाडौँमा बसेर सामान्य जीवन बिताउने चाहना राखे पनि संस्थाले आफूलाई जनकपुर नै फर्किन दबाब दिएको उनको भनाइ छ।

त्यति मात्रै होइन, लिङ्ग परिवर्तन गराएको विषय बाहिर नबोल्नसमेत आफूलाई धम्की दिइएको उनले बताइन्। ‘बाहिर बोले जेल परिएला है,’ काठमाडौँमा शल्यक्रियाका लागि बोलाउने बिडिएसको समूहले आफूलाई चेतावनी दिएको उनले सुनाइन्।

संस्थाको धम्कीपछि हेमा वर्ष दिनसम्म मौन बसिन्। उनी कुनै पनि सञ्चारमाध्यमको सम्पर्कमा पुगिनन्। बधाई मागेरै जीवन चलाउनुपर्ने अवस्थामा पुगेकी उनले संस्थाको दबाबपछि श्रीमतीसँग सम्बन्ध विच्छेदसमेत गरिन्।

‘अहिले म एक्लै छु, डिभोर्स भइसक्यो,’ उनले पहिचानसँग भनिन्।

सर्जरी गरेकै ठाउँमा अध्यक्षको लात्ती

बधाई माग्ने क्रममा कसैले उनलाई पाउजु दिएका थिए। त्यही पाउजुको विषयलाई लिएर कार्यालयमा विवाद भएको उनले बताइन्। सामान्य विवाद झगडामा परिणत भएपछि संस्थाका अध्यक्षले नै आफूलाई लात्तीले हानेको उनको आरोप छ।

उनका अनुसार अध्यक्षले लात्तीले शल्यक्रिया गरेकै ठाउँमा प्रहार गरेका थिए। त्यसपछि शल्यक्रिया गरिएको ठाउँ सुन्निएको छ। शारीरिक पीडा सहेरै बस्नुपरेको उनले बताइन्।

आफूमाथि भएको दुर्व्यवहारबारे संस्थाभित्रै उजुरीसमेत दिइन्। तर, उनको उजुरीमाथि सुनुवाइ भएन। उनले बिडिएसकी सञ्जीव गुरुङ (पिंकी) र सञ्जय शर्मालाई समेत घटनाबारे जानकारी गराएकी थिइन्।

तर, उनीहरूले पनि तत्काल कुनै सुनुवाइ नगरेको उनको भनाइ छ। ‘अहिले होस, चुप बस्नु, तिहारपछि हेरौँला,’ आफूलाई यस्तो जवाफ दिएको उनले सुनाइन्। त्यसपछि पनि आफ्नो समस्याबारे संस्थाले वास्ता नगरेको उनको गुनासो छ।

हेमालाई शारीरिक हिंसाको पीडासँगै आश्रयको समस्या पनि आइलाग्यो। आपत् पर्दा सुरक्षित रूपमा बस्ने ठाउँसमेत उनले पाइनन्।

युएनडिपी र ग्लोबल फन्डको सहयोगमा बिडिएसले क्राइसिस होम सञ्चालन गरेको उनले सुनेकी थिइन्। अध्यक्षले आफ्नै घरलाई क्राइसिस होम बनाएको भन्ने पनि उनको जानकारीमा थियो।

हेटौँडादेखि नेपालगन्जसम्म सञ्चालनमा रहेका क्राइसिस होम नाम मात्रका भएको गुनासो यसअघि पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले गर्दै आएका थिए। करोडौँ रुपैयाँको बजेटमा सञ्चालन गरिएका भनिएका आपत्कालीन आश्रयस्थलमा वास्तविक समस्यामा परेका व्यक्तिले आश्रय नपाउने अवस्था रहेको समुदायको गुनासो छ।

हेमाले पनि जनकपुरमा त्यस्तो आश्रय पाउन सकिनन्। संस्थाले राति ७ बजे आफूलाई गलहत्त्याएर निकालेको उनको आरोप छ। शारीरिक र मानसिक पीडामा रहेकी उनलाई सहयोग र संरक्षण दिनुपर्ने संस्थाबाटै थप पीडा दिइएको उनको भनाइ छ। आफूले कुनै अपराध नगरे पनि अपराधीलाई जस्तो व्यवहार गरिएको उनले गुनासो गरेकी छन्।

अमेरिकी दूतावासदेखि जिल्ला प्रशासनसम्मको मौनता

हेमाको लिङ्ग परिवर्तनका लागि सहयोग गर्ने अमेरिकी दूतावासले त्यसयता उनीसँग कुनै सम्पर्क नगरेको उनको गुनासो छ। शल्यक्रियाका लागि सहयोग गर्ने निकायबाटै अहिले आफ्नो अवस्थाबारे कुनै चासो नदेखाइएको उनको भनाइ छ।

अमेरिकी सहयोग जोडिएको विषयमा नेपालका सरकारी अधिकारीसमेत मौन देखिएका छन्। गत वर्ष साउनमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बिडिएसको गैरकानुनी तथा अनियमित कामको छानबिन गर्न उजुरी परेको थियो। तर, जिल्ला प्रशासन कार्यालयले हालसम्म उक्त उजुरीमाथि छानबिन गरेको विवरण सार्वजनिक गरेको छैन।

जबाफदेहिता र पारदर्शिताको माग गर्नेहरूलाई नै दुर्व्यवहार गरेर संस्थाबाट निकाल्ने गरेको आरोप बिडिएसको नेतृत्वमाथि लाग्दै आएको छ। हेमा जस्ता व्यक्तिले पटक–पटक पीडा भोग्नुपरेको भन्दै समुदायका सदस्यहरूले संस्थाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्।

बिडिएसको स्थापना गर्ने पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तको योगदान र इतिहाससमेत मेटाउने गतिविधिमा सक्रिय रहेको आरोप लाग्दै आएको समूहले संस्थाको नेतृत्व सम्हालिरहेको छ। स्वस्थ व्यक्तिलाई अस्वस्थ बनाउने र अन्ततः सडकमा पुर्‍याउनेसम्मका गतिविधि भइरहेको भन्दै समुदायका सदस्यहरूले गम्भीर प्रश्न उठाएका छन्।

विदेशी दातृ निकायहरूले बिडिएसमा निरन्तर सहयोग खन्याइरहेका छन्। तर, संस्थामा पारदर्शिता र जबाफदेहिताको अवस्था के छ भन्ने प्रश्न अनुत्तरित छ। नेपाली नागरिकको शरीर र स्वास्थ्यसँग जोडिएको संवेदनशील विषयमा सहयोग गर्ने विदेशी दातृ निकायहरूले हेमाको अहिलेको बिचल्लीबारे के जवाफ दिन्छन् ? उनीहरूको सहयोगबाट के उपलब्धि हासिल भयो ? दातृ निकायका प्रतिनिधि र उनीहरूका साझेदार संस्थाले यसबारे जवाफ दिनुपर्ने समुदायका सदस्यहरूको माग छ।

त्यस्तै, विदेशी दातृ निकायको सहयोगमा काम गर्ने संस्थाको नेतृत्वले आफूलाई सहयोग गर्ने निकायको प्रतिनिधिका रूपमा मात्रै प्रस्तुत हुने कि समुदायप्रति पनि जबाफदेही हुने भन्ने प्रश्न उठेको छ। बिडिएसको नेतृत्वले सञ्चारमाध्यमको पटक–पटकको सम्पर्कमा प्रतिक्रिया दिन अस्वीकार गर्दै आएको छ।

बिडिएसको नेतृत्वमाथि छानबिन गर्न माग

हेमाको बिचल्लीबारे पहिचानमा समाचार प्रकाशित भएपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले उनीमाथि अन्याय गर्ने बिडिएसको नेतृत्वमाथि छानबिन गर्न माग गरेका छन्।

समुदायका सदस्यहरूले शल्यक्रियापछि हेमाले भोग्नुपरेको अवस्था, संस्थाभित्र भएको भनिएको हिंसा, उजुरीमाथि सुनुवाइ नहुनु र आपत्कालीन अवस्थामा आश्रय नपाउनुसम्मका विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तले पनि अब दातृ निकाय र नेपाल सरकार मौन बस्न नमिल्ने बताएका छन्। पन्तले यस घटनालाई मानव अधिकार, चिकित्सा नैतिकता, दातृ निकायको जबाफदेहिता र राज्यको जिम्मेवारीसँग जोडिएको अत्यन्त गम्भीर विषयका रूपमा व्याख्या गरेका छन्।

‘यो अत्यन्त गम्भीर विषय हो। युएनडिपी नेपाल र द ग्लोबल फन्ड लगायतका दातृ निकायहरूले आफ्ना कोषहरू कसरी उपयोग भइरहेका छन् भन्नेबारे स्पष्ट पार्नुपर्छ,’ पन्तले भनेका छन्।

उनका अनुसार हेमाको लिङ्ग परिवर्तन शल्यक्रियाका लागि आर्थिक सहयोग उपलब्ध गराउने दातृ निकायले पनि उक्त शल्यक्रियाको उद्देश्य, स्वीकृति प्रक्रिया र अपनाइएका सुरक्षात्मक उपायहरूबारे सार्वजनिक रूपमा स्पष्ट पार्नुपर्छ।

नेपाल सरकारले यस विषयमा तत्काल र गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने पन्तको माग छ। साथै, नेपालमा लिङ्ग परिवर्तनसम्बन्धी प्रक्रियाहरूको कानुनी हैसियतसमेत स्पष्ट पार्नुपर्ने उनले बताएका छन्।

‘के यस्ता प्रक्रियाहरूलाई कानुनले अनुमति दिएको छ? यदि छ भने, कुन कानुन वा नियमअन्तर्गत यस्तो अनुमति दिइएको हो?’ पन्तले प्रश्न गरेका छन्।

सरकारले यस्ता प्रक्रियालाई अनुमति दिएको हो भने अब ढिला नगरी विस्तृत कानुनी ढाँचा, राष्ट्रिय नीति, चिकित्सा मापदण्ड र स्पष्ट कार्यविधि तर्जुमा गर्नुपर्ने उनको भनाइ छ।

‘यो मानव अधिकार, चिकित्सा नैतिकता, दातृ निकायको जबाफदेहिता र राज्यको जिम्मेवारीसँग जोडिएको विषय हो। यसलाई बेवास्ता गर्न वा नियमनविहीन अवस्थामा छोड्न मिल्दैन,’ पन्तले भनेका छन्।

हेमाको घटनाले लिङ्ग परिवर्तनको शल्यक्रियापछि व्यक्तिको स्वास्थ्य, सुरक्षा, गोपनीयता, सामाजिक पुनःस्थापना र अधिकार संरक्षणको जिम्मेवारी कसले लिने भन्ने गम्भीर प्रश्नसमेत उठाएको छ। शल्यक्रियाका लागि समन्वय गर्ने संस्था, आर्थिक सहयोग उपलब्ध गराउने दातृ निकाय र राज्यले यसबारे जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको छ।

शल्यक्रियापछि नयाँ जीवनको आशा गरेकी हेमा अहिले न्याय, उपचार र सुरक्षित आश्रयको खोजीमा छिन्। उनको पीडालाई व्यक्तिगत घटनाका रूपमा मात्रै सीमित नराखी यसमा संलग्न संस्था, सहयोगी निकाय र राज्यको भूमिकामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ।

विदेशी दातृ निकायको सहयोगमा शिक्षण अस्पतालमा सेक्सचेन्ज गराइएकी हेमाको बिचल्ली

समाचार शेयर गर्नुहोस्
54
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.