"/>
काठमाडौँ – नेपालकै अस्पतालमा पहिलो पटक शल्यक्रिया गराएकी हेमा यादवमाथि लात्ती प्रहार भएको छ। शल्यक्रिया गर्न प्रोत्साहन गर्ने ब्लु डायमन्ड सोसाइटीसँग जोडिएका व्यक्तिहरूले नै अहिले कुटपिट, गालीगलौज र धम्की दिएको उनको आरोप छ।
न्याय माग्दै सम्बन्धित संस्थासम्म पुग्दा पनि सुनुवाइ नभएपछि राति ७ बजे सम्मान गृहबाट निकालिएकी हेमा अहिले सुरक्षित बसोबासको खोजीमा काठमाडौँ आइपुगेकी छन्।
युएनडिपी र ग्लोबल फन्डको सहयोगमा देशका नौ ठाउँमा सुरक्षित आश्रय गृह सञ्चालन गर्न करिब २७ करोड बजेट उपलब्ध गराइएको भनिए पनि आफूलाई आवश्यक पर्दा त्यस्तो आश्रय गृह कहाँ छ भन्ने जानकारीसमेत नपाएको उनको गुनासो छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अमेरिकी चिकित्सक बोलाएर आफ्नो शल्यक्रिया गराउन पहल गरेको सोसाइटीसँग जोडिएका व्यक्तिहरूले नै अहिले आफूलाई कुटपिट गर्दै धम्की दिएको हेमाले बताएकी छन्। न्यायको खोजीमा उनी अहिले काठमाडौँ आएकी छन्।
हेमाका अनुसार उनी यसअघि युएसएआइडीको परियोजनामा कार्यरत थिइन्। युएसएआइडीको परियोजना बन्द भएपछि उनी हिजडा कल्चरमा लागिन्। शल्यक्रिया गरेपछि उनी हिजडा कल्चरमा प्रवेश गरेकी हुन्। तर, त्यसपछि आफूले विभिन्न प्रकारका दमन र शोषण भोग्नुपरेको उनले बताइन्।
हिजडा कल्चरमा गुरु–चेला भन्ने चलन रहेको र गुरु भएपछि चेलाले सबै कुरा मान्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्। त्यहाँका विकृति देखेपछि आफूले त्यसको विरोध गरेको र त्यसैका कारण यातना तथा हातपातसमेत भोग्नुपरेको उनको भनाइ छ।
ब्लु डायमन्ड सोसाइटीसँग आबद्ध जनकपुरस्थित सुनौलो बिहानी समाजका पूर्वअध्यक्षले आफूमाथि हातपात गरेको हेमाले बताइन्। हातपात भएपछि उनले निवेदनसमेत दिएकी थिइन्। तर, उक्त निवेदनमाथि सुनुवाइ नभएको र उल्टै अध्यक्षकै घरमा राखिएको भनिएको सम्मान गृहबाट राति ७ बजे निकालिएको उनले बताइन्।
युएनडिपी र ग्लोबल फण्डले ब्लु डायमन्ड सोसाइटीलाई देशका नौ ठाउँमा सुरक्षित आश्रय गृह (सेफ केयर होम) सञ्चालन गर्न बजेट दिएको छ। तर, ती आश्रय गृह कहाँ छन् भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताइन्। सहयोग रकमबाट सञ्चालित भनिएका आश्रय गृहको स्थान, सञ्चालन अवस्था र सेवा कसले पाउने भन्ने विषयमा पारदर्शिता हुनुपर्ने उनको माग छ।
सम्मान गृहबाट राति ७ बजे निकालिएपछि आफू कहाँ जाने भन्ने समस्या परेको हेमाले सुनाइन्। त्यसपछि उनलाई ब्लु डायमन्ड सोसाइटीले सञ्चालन गरिरहेको भनिएको सीसीसी अर्थात् सम्मान गृहको सम्झना आयो। राति ७ बजे घरबाट निस्कनुपरेपछि बस्ने ठाउँ नभएको अवस्थामा सीसीसी कहाँ छ भन्ने जिज्ञासा लागेको उनले बताइन्।
तर, आफूले सीसीसी कहाँ छ भनेर पत्ता लगाउन नसकेको उनको भनाइ छ। त्यसपछि उनी एक साथीकोमा गएर बसेकी थिइन्।
हेमाले आफूलाई पटकपटक गालीगलौज गर्ने, कुटपिट गर्ने र मानसिक यातना दिने गरिएको बताइन्। त्यहाँका अध्यक्ष पनि हिजडा कल्चरमा आबद्ध रहेको र उनले गुरु बनेर चेलामाथि धाँधली गरेको उनको आरोप छ।
सुनुवाइ भएन
आफूमाथि भएको अन्यायबारे गुनासो गर्न हेमा ब्लु डायमन्ड सोसाइटीमा समेत पुगेकी थिइन्। उनले सोसाइटीकी सञ्जीव गुरुङ (पिंकी), सञ्जय शर्मा र सुबेन ढकाललाई आफूमाथि अन्याय भएको भन्दै न्याय दिन माग गरेकी थिइन्। तर, उनीहरूले ‘पर्खनु, पर्खनु’ मात्र भनेको र कुनै कदम नचालेको उनको गुनासो छ। उनले आफ्नो समस्या राख्दै न्यायका लागि आग्रह गरेकी थिइन्।
हेमाका अनुसार उनलाई सेक्स चेन्ज गर्ने इच्छा थियो। त्यही क्रममा ब्लु डायमन्ड सोसाइटीबाट अमेरिकाबाट चिकित्सक आउँदैछन् भन्ने खबर पुगेको थियो। त्यसपछि शल्यक्रिया गर्ने प्रक्रिया अघि बढेको उनले बताइन्।
सेक्स चेन्ज गरेपछि बधाई माग्न पठाइएको पनि उनले बताइन्। अहिले आफ्नो स्वास्थ्यमा खासै समस्या नरहेको उनको भनाइ छ। तर, कुटपिटका क्रममा अध्यक्षले शल्यक्रिया गरेको ठाउँमा लात्तीले हानेपछि सुन्निएको उनले बताइन्।
उनले भनिन्, “पहिला शल्यक्रिया गर्न प्रोत्साहन गरे। पछि चाहिँ धम्की दिए। शल्यक्रिया गरिहाल्यो, अब कहाँ जान्छ र भन्ने उनीहरूको मानसिकता थियो होला। अब घर सबै छुटिहाल्यो। जे गरे पनि यहीँ त बस्ने हो नि भन्ने सोच उनीहरूको थियो होला।”
तर, आफू कसैको अधीनमा बस्ने, कसैको चाप्लुसी गर्ने पक्षमा नरहेको उनले स्पष्ट पारिन्। आफूले आफैँ काम गरेर खान पाउनुपर्ने र स्वतन्त्र भएर बाँच्न पाउनुपर्ने उनको भनाइ छ। यही सोचका साथ अहिले काठमाडौँ आएको उनले बताइन्।
हेमाका अनुसार सेक्स चेन्ज गरेपछि उनलाई सोसाइटीले जनकपुर पठाएको थियो। त्यहाँ बधाई माग्न लगाइएको र हिजडा कल्चरलाई पछ्याउन बाध्य पारिएको उनको आरोप छ।
उनले भनिन्, “सेक्स चेन्ज गरेपछि सोसाइटीले मलाई जनकपुर पठायो। बधाई माग्न लगायो। हिजडा कल्चरलाई फलो गर्न लगाए। अहिले कुटपिट गरे। सुरक्षित महसुस गर्न सकिनँ र अहिले काठमाडौँ आएको हुँ।”
आफूले सुरक्षित महसुस गर्न नसकेपछि न्याय खोज्दै काठमाडौँ आउनुपरेको उनले बताइन्।
सम्मान गृह कहाँ छ? सबैले थाहा पाउनुपर्छ
हेमाले अहिले सञ्चालनमा रहेका क्राइसिस होम अर्थात् आपत्कालीन आश्रय गृहहरू सबै मेटी (तेस्रोलिंगी)ले उपयोग गर्न पाउनुपर्ने माग गरेकी छन्। समुदायका सबै सदस्यले त्यस्ता आश्रय गृहको सेवा उपभोग गर्न पाउनुपर्ने उनको भनाइ छ।
उनले भनिन्, “हाम्रो समुदायलाई थाहा हुनुपर्छ कि मेरो सीसीसी कहाँ छ? क्राइसिस होम कहाँ छ? संस्थाले दिएको त्यो मेरो लागि हो। त्यो सबैले देख्नुपर्छ। त्यो कहाँ छ भनेर पारदर्शी हुनुपर्छ। लुकाएर सीसीसी छ भन्ने चाहिँ हुनु भएन।”
हिजडा कल्चरका नाममा धाँधली गर्ने, गुरु–चेला बनाएर चेलालाई दबाएर राख्न खोज्ने प्रवृत्ति हट्नुपर्ने उनको माग छ। नेपालमा सबै मेटी बराबर रहेको भन्दै उनले समुदायभित्र गुरु–चेलाको नाममा हुने विभेद र नियन्त्रण अन्त्य हुनुपर्ने बताइन्।
नेपालमा अहिले पनि धेरै मेटी रहेको र उनीहरूमध्ये कतिपय पढेलेखेका नभएको उनले बताइन्। उनीहरू पसलपसलमा मागेर खाने अवस्थामा रहेको उनको भनाइ छ। अहिले अधिकांश मेटी काठमाडौँमा रहेको उल्लेख गर्दै उनले तराईमा भने होली, दिवाली र बधाई माग्ने तथा कार्यालयसमेत सम्हाल्ने काम निश्चित समूहकै नियन्त्रणमा रहेको बताइन।
धनुषाका मेटी जनकपुरमा रहेको, बम्बई र दिल्लीमा समेत रहेको उल्लेख गर्दै उनले सबैले आफ्नो ठाउँमा मागेर खान पाउनुपर्ने बताइन्। सबैले बराबरी अधिकार पाउनुपर्ने र नेपालमा गुरु–चेलाको नाममा कसैलाई नियन्त्रणमा राख्ने व्यवस्था हुन नहुने उनको भनाइ छ।
आफूमाथि यस्तो अन्याय होला भन्ने सुरुमा कल्पनासमेत नगरेको हेमाले बताइन्। अन्यायमा पर्दा घरको याद आउने गरेको उनको भनाइ छ।
उनले भनिन्, “सायद शल्यक्रिया नगरेको भए म कपाल काटेर घरमा गएर ममी, म सुध्रिएर आएँ, छोरै भएर बस्छु पनि भन्थेँ होला। अब त्यो पनि छैन। घरपरिवार पनि छुट्यो। जहाँ बस्थेँ, त्यहाँबाट पनि छुटेँ। अहिले म केही सोच्नै सकिरहेको छैन। दिमाग नै ब्ल्यांक भइरहेको छ। मैले न्याय पाउनुपर्छ भनेर यहाँ काठमाडौँसम्म आइपुगेको छु।”
आफूलाई त्यहाँ रहेका गुरुभाइ र मितिनीहरूले फोन गर्ने गरेको उनले बताइन्। उनीहरूमध्ये केहीले आफूलाई फोन गरेको तर आफूसँग बोलेको कुरा कसैलाई नभन्न आग्रह गरेको उनको भनाइ छ।
उनले भनिन्, “एक–दुई जनाले मलाई फोन गरेर कसैलाई नभन्नु, हेमा दिदी भनेका थिए। तपाईँसँग बोल्यो भने ५० हजार जरिवाना तिराउँछौँ, कपाल काटेर घरबाट निकालिदिन्छौँ भनेका रहेछन्।”
आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरूको नाम भने उनले खुलाउन चाहिनन्। नाम खुलाएमा उनीहरूले पनि आफूले जस्तै समस्या भोग्नुपर्ने उनको चिन्ता छ।
हेमाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गरेको बताउने भूमिका श्रेष्ठलाई पनि आफूमाथि भएको घटनाबारे जानकारी गराउने प्रयास गरेको बताइन्। उनले पटकपटक आफ्नो कुरा सुनाउन खोजे पनि भूमिकाले फोन नउठाएको उनको गुनासो छ।
हेमाले युएनडिपी र ग्लोबल फन्डको सहयोगमा हिजडा कल्चर सञ्चालन भइरहेको र सम्मान गृह पनि त्यही सहयोगमा चलाइएको बताइन्। तर, आफूलाई आवश्यक परेको बेला सुरक्षित आश्रय गृहको सेवा कहाँबाट पाउने भन्ने जानकारीसमेत नपाएको उनको गुनासो छ।
कुटपिट, धम्की र अपमानको आरोप
हेमाले बर्दिबास, जनकपुर र सुनौलो बिहानी समाजसँग जोडिएका घटनाहरू पनि उल्लेख गरेकी छन्। शल्यक्रिया गरेपछि आफूलाई माग्न पठाइएको र झोला बोक्न लगाइएको उनले बताइन्। आफूलाई त्यहाँबाट निस्केर जान भनिएको, एकलौटी व्यवहार गरिएको र कपाल समातेर भुत्ल्याउँदै शल्यक्रिया गरेको ठाउँमा लात्तीले हानिएको उनले पीडा व्यक्त गरिन्।
“कति लड्नु, सक्नुपर्यो नि,” भन्दै उनले आफूले पटकपटक अन्याय सहनुपरेको बताइन्।
कुटपिटपछि उनले सञ्जय आमालाई फोन गरेको र तिहारपछि कुरा गर्ने जवाफ पाएको पनि सुनाइन्। शल्यक्रिया गरेको ठाउँमा चोट लाग्दा आफूले निवेदन दिएको तर बढी जान्ने बुझ्ने भएको भन्दै उल्टै व्यवहार गरिएको उनको गुनासो छ।
आफूलाई भिक्षा मागेर खानुपर्ने बाध्यता नभएको र काम गरेर खान चाहेको उनको भनाइ छ।
राति ७ बजे कार्यालयबाट निकालिएको र त्यसपछि कोइली पिंकी गुरुङलाई खबर गरे पनि वास्ता नगरेको उनले बताइन्। सीसीसीमा जान खोज्दा आपत्कालीन आश्रय गृह नै नभेटिएको उनले सुनाइन्। सीसीसी छ भनिन्छ, कहाँ छ भन्ने प्रश्न गर्दै उनले त्यसको वास्तविक अवस्थाबारे जानकारी दिनुपर्ने माग गरिन्।
आफूमाथि दुर्व्यवहार भएको थाहा हुँदाहुँदै सम्बन्धित संस्थाले किन कारबाही नगरेको भन्ने प्रश्न पनि उनले उठाइन्। “थाहा छ छोरी भने त्यसो भए एक्सन लिनु त,” भन्दै उनले आफूले भोगेको समस्या समाधानका लागि पहल हुनुपर्ने बताइन्।
ब्लु डायमन्ड सोसाइटीमा भएको व्यवहार सहन नसक्ने बताउँदै उनले धाँधली, कुटपिट, बस्ने ठाउँको अभाव र धम्कीको सामना गर्नुपरेको सुनाइन्। “गुण्डागर्दी गर्ने हो? खोइ त कहाँ छ?” भन्दै उनले सम्मान गृहको अवस्थाबारे प्रश्न गरिन्।
५० हजार जरिवाना र घरबाट निकाल्ने धम्की
हेमाका अनुसार आफू कसैसँग बोलेमा ५० हजार रुपैयाँ जरिवाना तिराउने, कपाल काटेर घरबाट निकालिदिने र बोल्ने व्यक्तिलाई नै फसाइदिने धम्की दिइएको छ।
उनले आफूलाई मानसिक रूपमा प्रभावित पार्ने प्रयास गरिएको र जेल जानुपर्ने भन्दै डर देखाइएको पनि बताइन्। विवाह गरेको विषयलाई लिएर समेत धम्की दिइएको उनको भनाइ छ।
शल्यक्रिया गरेपछि पाँच महिनासम्म आफू निको नभएको र त्यसपछि पनि विभिन्न प्रकारका दबाब तथा धम्की सहनुपरेको उनले बताइन्।
उनले भनिन्, “पहिला सेक्स चेन्ज गर्न लगाए। पछि बच्चा छ, विवाह गरेको भनेर धम्की दिए। कतै बोले आफैँ फस्ने धम्की दिए।”
आफूलाई शल्यक्रिया गर्न लगाउने व्यक्तिहरूले अहिले आफ्नो जिम्मेवारी स्वीकार नगरेको उनको गुनासो छ। “मैले तेरो सर्जरी गर्न लगाएको हो,” भन्ने तर पछि आफ्नै मान्छे नमान्ने व्यवहार गरिएको उनले बताइन्।
आफूलाई बधाई माग्न पठाइएको र त्यसका लागि मन नभए पनि बाध्य पारिएको उनको आरोप छ।
हेमाले अहिले आफ्नो मुख्य माग न्याय, सुरक्षित बसोबास, स्वतन्त्र रूपमा काम गरेर खान पाउने अधिकार र समुदायका सबै सदस्यले सम्मान गृह तथा आपत्कालीन आश्रय गृहको सेवा समान रूपमा उपभोग गर्न पाउने व्यवस्था रहेको बताएकी छन्।
सम्बन्धित समाचार :
युएसएआडीको सहयोगमा लिङ्ग परिवर्तन, सामाजिक काममा समेत भ्रष्टाचार
शिक्षण अस्पतालमा विवाहित पुरुषको लिङ्ग परिवर्तन, समुदायको प्रश्नमा भाग्यो ब्लु डायमन्ड
‘मेल टु फिमेल’ सेक्स चेन्ज शल्यक्रिया सुरु, संविधानले दिएको पहिचानमाथि चिकित्सकीय हस्तक्षेप?
विवाहित पुरुषको लिङ्ग परिवर्तन : सत्यतथ्य सार्वजनिक गर्न दबाब
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.