म्याराथन भेटवार्ता सकेर फर्किए मिस्री

म्याराथन भेटवार्ता सकेर फर्किए मिस्री

85
SHARES

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीस्वरूप नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्री सरकारी तहमा मात्रै म्याराथन भेटवार्ता गरेर फर्किएका छन्।

बुधवार काठमाडौँ आइपुगेका भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री, मन्त्री तथा सत्तारूढ दलका सभापतिसँग भेटवार्ता गरे। उनले सरकारी अधिकारी तथा सांसदहरूसँग पनि वार्ता र अन्तरक्रिया गरे।

प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीले बिहीबार छुट्टाछुट्टै भेटवार्ता गरे।

भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोसी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे।

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला टेलिफोनमार्फत सहयोगको ऐक्यबद्धता जनाएकामा पनि धन्यवाद दिए।

नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि प्रधानमन्त्री शाहले चासो राखेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार शिष्टाचार भेटमा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पार्न भारतीय प्रधानमन्त्री मोदीले दिएको सन्देश सुनाए। उनले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल बनाउन भारत सरकारले आवश्यक तयारी गरिरहेको जानकारी पनि गराए।

त्यसैगरी, भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताए।

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको जानकारी पनि उनले प्रधानमन्त्री शाहलाई गराए। उक्त मार्गमा बिहीबार नै रेल परीक्षणसमेत गरिएको उनले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भारतीय विदेश सचिव विक्रम मिस्रीले बिहीबार नै शिष्टाचार भेटवार्ता गरे। भेटवार्तामा सभापति लामिछानेले आफूले विगतमा गरेको औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुकबीच हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताको शुभकामना दिए। साथै, उनले नेपालले विकास तथा आर्थिक कूटनीतिमा जोड दिइरहेको उल्लेख गरे।

भेटमा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल–भारतको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जानकारी दिए। प्रवक्ता खरेलका अनुसार भेटमा दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियो।

नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले दुईदिने नेपाल भ्रमण गरेका हुन्। परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा भारतीय विदेश सचिवले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश व्यक्त गरेको जानकारी दिएको छ।

भारतीय विदेश सचिवले द्विपक्षीय सहयोगका विविध क्षेत्रमा भइरहेको व्यापक संलग्नता र समग्र प्रगतिबारे चर्चा गर्नुका साथै नेपालका प्रधानमन्त्रीको आशन्न भारत भ्रमणका सन्दर्भमा सम्भावित नतिजा र पहलकदमीहरूबारे छलफल गरेका थिए।

भारतका परराष्ट्र सचिवले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि भेटवार्ता गरे।

दुवै देशका परराष्ट्र सचिवहरूबीच सन् २०२६ नोभेम्बर ४ मा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। विभिन्न क्षेत्रमा भइरहेको सहकार्यको समीक्षा गर्नुका साथै नेपाल र भारतबीचको पारस्परिक लाभदायी साझेदारीलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतीय विदेश सचिवले नेपाल–भारत संसदीय मैत्री समूह तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनसम्बन्धी संसदीय समितिका सदस्यहरूसहित सांसदहरूको एक समूहसँग अन्तरक्रियासमेत गरे।

भ्रमणका विभिन्न चरणमा नेपाली नेतृत्वले रसुवा–भोटेकोसी बाढीपछिको अवस्थामा भारतले प्रदान गरेको द्रुत तथा महत्त्वपूर्ण मानवीय र प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्‍यो।

दुवै पक्षले व्यापार तथा वाणिज्य, विकास साझेदारी, जलविद्युत्, भौतिक सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, ऊर्जा र जनस्तरको सम्बन्धजस्ता परम्परागत रूपमा बलिया द्विपक्षीय सहयोगका क्षेत्रमा पछिल्ला दिनमा बढेको संलग्नताप्रति सन्तोष व्यक्त गरे। साथै, उनीहरूले स्टार्टअप, डिजिटल सम्पर्क, कृत्रिम बुद्धिमत्ता (एआई) र खेलकुदजस्ता सहकार्यका नयाँ आयामबारे पनि चर्चा गरे।

दुवै पक्षले द्विपक्षीय साझेदारीलाई समग्र रूपमा अझ सुदृढ बनाउने प्रतिबद्धता पुनः दोहोर्‍याए। भारतीय परराष्ट्र सचिवको यो भ्रमणले दुई देशबीचको घनिष्ठ मित्रता र सहयोगको सम्बन्धलाई अघि बढाउन नियमित रूपमा हुँदै आएको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
85
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.