काठमाडौँ – एक्सनएड इन्टरनेशनल नेपालका कार्यक्रम प्रमुख सरोज पोखरेलले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको न्याय र अधिकारको विषय नेपालको राजनीतिक तथा सामाजिक क्षेत्रमा उदाउँदो विषय भएको बताएका छन्।
‘ब्रेकिङ ब्यारियर्स’ परियोजना शुभारम्भ कार्यक्रममा बोल्दै पोखरेलले लैङ्गिक समानताको उद्देश्यलाई अगाडि बढाउने क्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको विषय नयाँ आयामका रूपमा आएको बताए। यस विषयमा संसारभर विभिन्न मत र दृष्टिकोण रहेको उल्लेख गर्दै उनले यो विश्वव्यापी बहस र विवादको विषयसमेत रहेको बताए।
एक्सनएडले गरिबीको अन्त्य, लैङ्गिक समानता र सामाजिक न्यायलाई आफ्नो महत्त्वपूर्ण प्रतिबद्धताका रूपमा लिएर काम गरिरहेको उनले बताए। लैङ्गिक समानताको विषयमा लामो समयसम्म पितृसत्ताको दमनमा परेका महिला तथा बालिकाको अधिकार र समावेशिताका लागि काम गर्दै आएको उल्लेख गर्दै पोखरेलले अहिले नयाँ विषयमा काम गर्ने अवसर प्राप्त भएको बताए।
यस अवसरका लागि उनले एक्सनएड र साझेदार संस्थाहरूका तर्फबाट युरोपेली सङ्घप्रति आभार व्यक्त गरे। लैङ्गिक समानताको कुरा गर्दा सामान्यतया लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हकअधिकारको विषय पनि आउने उनको भनाइ थियो।
यस समुदायसँग सम्बन्धित विभिन्न सामाजिक, स्वास्थ्य तथा आर्थिक आयामका विषयमा छलफल भइरहेको गौतमले बताए। नेपाल सरकारले पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचानसँगै सम्बन्धित मन्त्रालयको नामकरणमा पुनर्विचार गरेर महत्त्वपूर्ण कदम चालेको उनले उल्लेख गरे। यसले आगामी दिनमा अधिकारका विषयलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।
एक्सनएड इन्टरनेशनल नेपालले मानवअधिकारमा आधारित पद्धतिको विकासलाई अगाडि बढाइरहेको उल्लेख गर्दै पोखरेलले मानवअधिकारका आधारभूत मान्यताअनुसार लैङ्गिक समानताको क्षेत्रमा विभिन्न समुदायका अधिकार र न्यायका विषय पनि उठाउँदै आएको बताए।
अहिले अधिकार र न्यायका विषयसँगै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक सहभागिताको विषयलाई अगाडि बढाउन खोजिएको उनले बताए। राजनीतिक निर्णय गर्ने स्थानमा समुदायको पहुँच नपुगेसम्म आफ्नो समानताको अधिकार र न्यायलाई अर्थपूर्ण रूपमा स्थापित गर्न कठिन हुने उनको भनाइ थियो।
राज्य सञ्चालनको प्रक्रिया तथा शासकीय प्रबन्धमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न प्रवर्द्धन गर्ने उद्देश्यले परियोजना अगाडि सारिएको पोखरेलले बताए।
यसैगरी, एक्सनएड इन्टरनेशनल नेपालमा परियोजना संयोजकका रूपमा कार्यरत सबनम पोखरेलले ‘ब्रेकिङ ब्यारियर्स’ परियोजना एउटा परियोजनाको सुरुवात मात्र नभई नेपालको राज्य व्यवस्था, नीति–नियम र लोकतन्त्रलाई पूर्ण समावेशी बनाउन चालिएको साहसिक वैचारिक कदम भएको बताइन्।
समान नागरिक तथा राजनीतिक अधिकारको प्रत्याभूतिबिना नेपालको समावेशी लोकतन्त्र अपूर्ण रहनेमा दृढ रहँदै नीति तथा नेतृत्व विश्लेषणका पक्षमा परियोजना तयार पारिएको उनले बताइन्।
युरोपेली सङ्घको आर्थिक सहयोगमा एक्सनएड इन्टरनेशनल नेपालको नेतृत्वमा सञ्चालित परियोजना आगामी तीन वर्षसम्म सञ्चालन हुनेछ। परियोजनाको कुल बजेट साढे आठ करोड रुपैयाँ रहेको छ। अभियान नेपालका सातवटै प्रदेशमा सञ्चालन हुनेछ।
परियोजना सफल बनाउन मायाको पहिचान नेपाल, लिड नेपाल र इन्क्लुसिभ फोरम नेपाल कार्यान्वयन साझेदारका रूपमा जोडिएका छन्। यो अभियान राज्यको समग्र संयन्त्र र सीमान्तकृत समुदायको साझा सङ्घर्ष भएको परियोजनासम्बन्धी विवरणमा उल्लेख गरिएको छ।
नेपाली राजनीतिमा प्रतिनिधित्व र नेतृत्व बढाउने लक्ष्य
‘ब्रेकिङ ब्यारियर्स नेपाली राजनीतिमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक प्रतिनिधित्व र नेतृत्व अभिवृद्धि’ परियोजनाको उद्देश्य समुदायलाई आफ्नो राजनीतिक अधिकार प्रयोग गर्न तथा अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्नबाट रोक्ने अवरोध सम्बोधन गर्नु हो।
परियोजनाले सहभागितालाई प्रभावकारी बनाउन नीति, संस्थागत संरचना र दैनिक अभ्यासमा परिवर्तनका लागि पैरवी गर्ने लक्ष्य राखेको छ।
परियोजनाले समुदायका आवाजलाई नीति निर्मातासम्म पुर्याउने, उनीहरूसँग संवाद गर्ने तथा सार्वजनिक संस्था, नागरिक समाज र विकास साझेदारबीच सहकार्य र एकताको वातावरण बनाउने उद्देश्य राखेको छ।
प्रत्येक व्यक्तिले आफ्नो पहिचान र अधिकारको सम्मानसहित सुरक्षित रूपमा राजनीतिक प्रक्रियामा सहभागी हुन, आफ्ना कुरा राख्न र आफूलाई प्रभाव पार्ने निर्णय प्रक्रियामा भूमिका निर्वाह गर्न पाउने समावेशी नेपाल निर्माण गर्ने परियोजनाको लक्ष्य छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.