लिङ्गदेखि मानव-प्रकृतिसम्म : लैङ्गिकताका भ्रम र यथार्थ

लिङ्गदेखि मानव-प्रकृतिसम्म : लैङ्गिकताका भ्रम र यथार्थ

60
SHARES

काठमाडौँ – जन्मँदा देखिएको शारीरिक पहिचानभन्दा मानिसको अस्तित्व धेरै फराकिलो हुन्छ। मानिसलाई महिला र पुरुषको दुईवटा कोटिमा मात्र सीमित गरेर बुझ्न सकिँदैन। शरीर, प्रकृति, चेतना, अनुभूति, पहिचान र सामाजिक परिवेशको समग्रताबाट मानव अस्तित्वलाई बुझ्नुपर्छ। यही मूल मान्यतालाई दार्शनिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिक दृष्टिकोणबाट व्याख्या गर्ने प्रयास हो, सुनिल बाबु पन्तद्वारा लिखित पुस्तक ‘लिङ्गदेखि मानव–प्रकृतिसम्म’।

नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचान, अधिकार र सम्मानका लागि सन् २००१ देखि संस्थागतरुपमै सङ्घर्ष गर्दै आएका पन्तले यस पुस्तकमार्फत लैङ्गिक विविधताको बहसलाई अधिकार र पहिचानको परम्परागत सीमाबाट अघि बढाएर मानव प्रकृति र अस्तित्वको गहिराइसम्म पुर्‍याउन खोजेका छन्।

पुस्तकले लैङ्गिक विविधतालाई केवल आधुनिक पश्चिमी अवधारणा, नयाँ सामाजिक पहिचान वा पुरुष र महिलाभन्दा फरक तेस्रो समूहको विषयका रूपमा मात्र प्रस्तुत गर्दैन। बरु पूर्वीय दर्शन, संस्कृत भाषा, धार्मिक ग्रन्थ, ऐतिहासिक पात्र, चिकित्सा परम्परा र आधुनिक विज्ञानका विभिन्न पक्षलाई जोडेर मानव प्रकृतिको विविधता बुझ्ने वैकल्पिक वैचारिक आधार प्रस्तुत गर्छ।

यो पुस्तक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका लागि मात्र होइन, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, सञ्चारकर्मी, सामाजिक अभियन्ता, नीति निर्माता र मानव अस्तित्वको विविधताबारे जान्न चाहने सबैका लागि अध्ययनयोग्य सामग्री बन्न खोजेको छ।

पुस्तकको पहिलो अध्यायमै लेखकले ‘लिङ्ग’ शब्दको अर्थमाथि प्रश्न उठाएका छन्। सामान्य बुझाइमा लिङ्ग भन्नासाथ पुरुष र महिलाको यौनाङ्ग सम्झिने गरिए पनि संस्कृत भाषाको ‘लिङ्ग’ शब्दले चिह्न, सङ्केत, लक्षण र प्रतीकलाई जनाउने उनको व्याख्या छ। धुवाँ आगोको सङ्केत हुन सक्छ, पदचिह्न मानिसको सङ्केत हुन सक्छ र झन्डा कुनै राष्ट्रको प्रतीक हुन सक्छ। त्यसैगरी मानव शरीरमा देखिने विभिन्न शारीरिक विशेषता र तिनको विकासक्रमलाई पनि लिङ्ग बुझ्ने व्यापक आधारका रूपमा लिन सकिने उनको तर्क छ।

पुस्तकले जैविक लिङ्ग, लैङ्गिक प्रकृति, लैङ्गिक आत्मबोध, लैङ्गिक अभिव्यक्ति र यौनिक अभिमुखीकरणबीचको भिन्नता केलाएको छ। अन्तरलिङ्गी र तेस्राेलिङ्गी अवस्थालाई पनि एउटै अवधारणामा राख्न नहुने उनले स्पष्ट पारेका छन्। अन्तरलिङ्गी अवस्था जन्मजात शारीरिक यौन विशेषतासँग सम्बन्धित विविधता हो भने तेस्राेलिङ्गी अवधारणा जन्मँदा निर्धारण गरिएको जैविक लिङ्ग र व्यक्तिको लैङ्गिक पहिचानबीचको सम्बन्धसँग जोडिएको विविधता हो।

यी विषयलाई छुट्टाछुट्टै बुझाउन खोज्नु पुस्तकको महत्त्वपूर्ण पक्ष हो। किनकि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र पनि सबै व्यक्तिको अनुभव, पहिचान, प्रकृति र आवश्यकता एउटै हुँदैनन् भन्ने विषयमा लेखकले विशेष जोड दिएका छन्।

तृतीय प्रकृति : तेस्रो दर्जा होइन, फरक अस्तित्व

पुस्तकको सबैभन्दा महत्त्वपूर्ण वैचारिक पक्ष ‘तृतीय–प्रकृति’ को व्याख्या हो। सामान्यतया तेस्रोलिङ्गी वा तेस्रो लिङ्ग भन्ने बित्तिकै पुरुष र महिलापछिको तेस्रो दर्जा भन्ने बुझाइ बन्ने गरेको छ। तर लेखकले ‘तृतीय’ शब्दलाई क्रम वा श्रेणीका रूपमा बुझ्नु गलत हुने बताएका छन्। उनका अनुसार तृतीय प्रकृति भनेको पुरुष र महिला प्रकृतिभन्दा फरक मानवीय प्रकृति वा अस्तित्वको अभिव्यक्ति हो।

यसलाई आधुनिक पश्चिमी लैङ्गिक बहसमा प्रयोग हुने पारलिङ्गी अवधारणासँग पनि समानार्थी मान्न नहुने उनको तर्क छ। यी अवधारणाबीच सम्बन्ध हुन सक्ने भए पनि ऐतिहासिक, दार्शनिक र सांस्कृतिक आधार फरक छन्।

पुस्तकले पूर्वीय सभ्यता र दर्शनमा लैङ्गिक विविधताका अवधारणाको खोजी गरेको छ। यस क्रममा अर्धनारीश्वर, मोहिनी, शिखण्डी, इला, किन्नर, पाण्डक, नपुंसक, विपुरुषिका लगायतका पात्र, शब्द र अवधारणाको चर्चा गरिएको छ।

विशेषगरी अर्धनारीश्वरको दार्शनिक व्याख्या रोचक छ। शिव र शक्तिको संयुक्त स्वरूपलाई आधा पुरुष र आधा महिलाको शारीरिक आकृतिमा मात्र सीमित नगरी पुरुषत्व र स्त्रीत्व, चेतना र ऊर्जा तथा द्वैतभित्रको एकत्वको प्रतीकका रूपमा व्याख्या गरिएको छ। त्यस्तै, मोहिनी र इलाको कथामार्फत पूर्वीय धार्मिक तथा सांस्कृतिक आख्यानमा रूप, भूमिका र लैङ्गिक अभिव्यक्तिको परिवर्तनशीलताबारे चर्चा गरिएको छ।

बौद्ध विनय साहित्य, जैन परम्परा र प्राचीन भारतीय ग्रन्थमा पाइने लैङ्गिक विविधतासम्बन्धी शब्द तथा वर्गीकरणलाई पनि पुस्तकले समेटेको छ। समय, ग्रन्थ, भाषा र सामाजिक सन्दर्भअनुसार शब्दको अर्थ फरक हुन सक्ने उनको स्वीकारोक्ति छ। ऐतिहासिक पात्रलाई आधुनिक पहिचानको प्रत्यक्ष प्रमाणका रूपमा प्रस्तुत गर्नु र इतिहासमा लैङ्गिक विविधताका अनुभव तथा अवधारणा रहेको तथ्यलाई स्वीकार गर्नु फरक विषय हुन्।

पुस्तकले आधुनिक पश्चिमी लैङ्गिक अवधारणाको योगदानलाई अस्वीकार गरेको छैन। उनको मुख्य आग्रह पश्चिमी ज्ञानलाई अस्वीकार गर्ने वा पूर्वीय ज्ञानलाई पूर्ण सत्य मान्ने होइन। बरु दुवै ज्ञान परम्परालाई आधुनिक विज्ञान, मानव अधिकार, इतिहास र समुदायका वास्तविक अनुभवसँग जोडेर अध्ययन गर्नुपर्छ भन्ने हो।

पुस्तकको २९औँ अध्यायमा प्रस्ताव गरिएको बहुआयामिक लैङ्गिक ढाँचाले यसलाई थप स्पष्ट पार्छ। यसमा जैविक विशेषता, शारीरिक विकास, लैङ्गिक प्रकृति, आत्मबोध, अभिव्यक्ति, यौनिक सम्बन्ध, संस्कृति र अधिकारलाई छुट्टाछुट्टै आयामका रूपमा हेरिएको छ। लेखकले यसलाई अन्तिम वैज्ञानिक सूत्र नभई थप ऐतिहासिक, दार्शनिक र वैज्ञानिक अध्ययनबाट परिष्कृत गर्न सकिने पूर्वीय तथा स्थानीय अवधारणात्मक प्रस्तावका रूपमा प्रस्तुत गरेका छन्।

पहिचानदेखि अधिकार र राज्यको संरचनासम्म

पुस्तकको अर्को महत्त्वपूर्ण पक्ष लैङ्गिक पहिचानलाई व्यक्तिगत अनुभूति वा सामाजिक स्वीकारोक्तिमा मात्र सीमित नराखी राज्यको नीति, कानुन र प्रशासनिक संरचनासँग जोड्नु हो।

‘अन्य’ शब्दले प्रशासनिक प्रयोजन पूरा गर्न सक्ने भए पनि व्यक्तिको सम्पूर्ण पहिचान र अस्तित्वलाई प्रतिनिधित्व गर्न नसक्ने लेखकको तर्क छ। त्यसैले ‘थर्ड’ र ‘अदर’ एउटै कुरा होइनन् भन्ने विषयलाई छुट्टै अध्यायमा व्याख्या गरिएको छ।

त्यस्तै, नागरिकता, विवाह, तेस्राेलिंगी पहिचान, कानुनी अभिलेख, परिवार, सार्वजनिक शौचालय, आवास, रोजगारी र सामाजिक सुरक्षाजस्ता विषयमा राज्यले सामना गर्नुपर्ने व्यावहारिक प्रश्नहरू पनि पुस्तकमा उठाइएका छन्।

विशेषगरी लैङ्गिक पहिचानलाई मान्यता दिनु भनेको परिचयपत्रमा नयाँ कोठा थप्नु मात्र होइन भन्ने लेखकको तर्क विचारणीय छ। वास्तविक समावेशिताका लागि विद्यालय, स्वास्थ्य सेवा, सार्वजनिक शौचालय, आवास, कानुनी अभिलेख, रोजगारी र सामाजिक सुरक्षाको संरचनामा समेत परिवर्तन आवश्यक हुन्छ।यसले लैङ्गिक विविधताको बहसलाई अधिकारको मागबाट अघि बढाएर संस्थागत र संरचनागत सुधारको आवश्यकतासम्म पुर्‍याएको छ।

पुस्तकको २५औँ अध्यायमा असहमति र अधिकारबीचको सम्बन्धबारे चर्चा गरिएको छ। कुनै व्यक्तिको लैङ्गिक पहिचानसम्बन्धी विचारसँग असहमत हुनु र उसलाई अपमानित, बहिष्कृत वा हिंसाको सिकार बनाउनु एउटै कुरा होइन भन्ने लेखकको स्पष्ट मान्यता छ। लोकतान्त्रिक समाजमा प्रश्न उठाउन, प्रमाण माग्न, नीतिको आलोचना गर्न र असहमति राख्न पाउने अधिकार सबैलाई हुनुपर्ने उनको धारणा छ। तर असहमतिका नाममा कसैको मानव मर्यादा र अधिकारमाथि प्रहार गर्न पाइँदैन।

विद्यालय र शिक्षकको भूमिकाबारे पनि पुस्तकले महत्त्वपूर्ण सन्देश दिएको छ। फरक हुनु अपराध होइन, प्रश्न गर्नु अपराध होइन र असहमत हुनु पनि अपराध होइन भन्ने आधारभूत शिक्षा विद्यार्थीलाई दिनुपर्ने लेखकको आग्रह छ।

बालबालिकाको लैङ्गिक पहिचान र त्यससँग सम्बन्धित चिकित्सा प्रक्रियाबारे पुस्तकका परिशिष्टमा थप विस्तृत बहस गरिएको छ। लेखकले बालबालिकाको अनुभूतिलाई अस्वीकार गर्न नहुने तर प्रत्येक असहजतालाई अनिवार्य रूपमा चिकित्सा प्रक्रियामार्फत समाधान गर्नुपर्ने निष्कर्षमा पुग्न नहुने बताएका छन्।

बालबालिकाको शारीरिक विकास, मानसिक अवस्था, पारिवारिक वातावरण, सामाजिक दबाब र उनीहरूको आफ्नै अनुभूतिलाई ध्यानमा राखेर संवेदनशील निर्णय गर्नुपर्ने उनको धारणा छ।

‘लिङ्गदेखि मानव–प्रकृतिसम्म’ को सबैभन्दा ठूलो सबल पक्ष यसले लैङ्गिक विविधताबारे स्थापित बुझाइलाई प्रश्न गर्न र नयाँ कोणबाट अध्ययन गर्न प्रेरित गर्नु हो। पुस्तकले पूर्वीय दर्शन र आधुनिक पश्चिमी लैङ्गिक अवधारणाबीचको तुलनात्मक अध्ययन गरेको छ।

ऐतिहासिक शब्दावलीलाई आधुनिक पहिचानसँग जबरजस्ती जोड्न नहुने स्पष्ट पारेको छ। अन्तरलिङ्गी, तेस्राेलिंगी, समलिङ्गी र तृतीय प्रकृतिका अनुभवबीचको भिन्नता बुझाउने प्रयास गरेको छ।

त्यस्तै, पुस्तकको अन्त्यमा शब्दावली, शिक्षकका लागि कक्षाभ्यास, विद्यार्थीका लागि प्रश्न, सन्दर्भ सामग्री र थप अध्ययनका विषय राखिएकाले यो केवल वैचारिक बहसको पुस्तकमा सीमित छैन। शिक्षण र अनुसन्धानका लागि समेत उपयोगी बन्न सक्ने आधार तयार गरेको छ।

मानिसलाई बुझ्न उसको एउटा शारीरिक चिह्न वा प्रशासनिक पहिचान पर्याप्त हुँदैन। शरीर, प्रकृति, चेतना, अनुभूति, संस्कृति, सामाजिक सम्बन्ध र समयसँगै विकसित हुने जीवनका विविध पक्षलाई समग्रतामा बुझ्नुपर्छ। लेखकले मानिसलाई पुरुष, महिला वा तृतीय प्रकृतिको एउटा निश्चित कोटिमा सीमित नगरी उसको सम्पूर्ण अस्तित्व र गरिमालाई सम्मान गर्नुपर्ने बताएका छन्। पुस्तकको मूल प्रश्न पनि यही हो- मानिसलाई वर्गीकरण गर्न बनाइएको श्रेणी ठूलो हो कि मानिस स्वयं?

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि लामो समयदेखि सार्वजनिक बहस, पैरवी र अभियानमा सक्रिय सुनिल बाबु पन्तको यो पुस्तकमा अधिकारको मागसँगै आफ्नो समाज, भाषा, इतिहास र ज्ञान परम्परालाई पुनःपाठ गर्ने प्रयास गरिएको छ। ‘लिङ्गदेखि मानव–प्रकृतिसम्म’ ले पाठकलाई तयार उत्तर दिनुभन्दा प्रश्न गर्न सिकाउँछ। पूर्वीय ज्ञान र आधुनिक विज्ञानबीच संवाद खोज्न प्रेरित गर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, मानिसलाई कुनै एउटा पहिचानको बाकसमा थुन्नुभन्दा उसको सम्पूर्ण अस्तित्व बुझ्नुपर्ने मानवीय सन्देश दिन्छ।

लिङ्ग बुझ्नु भनेको शरीर बुझ्नु मात्र होइन, प्रकृति बुझ्नु भनेको मानिसको विविधता बुझ्नु हो र मानिस बुझ्नु भनेको उसको अस्तित्व र गरिमा स्वीकार गर्नु हो।पुस्तकको अन्त्यमा शब्दावली, शिक्षकका लागि कक्षाभ्यास, विद्यार्थीका लागि प्रश्न, सन्दर्भ सामग्री र थप अध्ययनका विषय राखिएकाले यो केवल वैचारिक बहसको पुस्तकमा सीमित छैन। शिक्षण र अनुसन्धानका लागि समेत उपयोगी बन्न सक्ने आधार तयार गरेको छ। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

समाचार शेयर गर्नुहोस्
60
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.