काठमाडौँ – नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढीको गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई हानिनोक्सानी पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीलाई पक्राउ गरेको हो।
सीआईबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई गम्भीर हानिनोक्सानी पुर्याउने कार्य भइरहेको भन्ने उजुरी परेको थियो। उक्त उजुरीको प्रारम्भिक छानबिनका क्रममा तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको पूर्वयोजनाअनुसारको योजना र मिलेमतोमा सङ्गठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई प्रत्यक्ष आर्थिक हानिनोक्सानी पुर्याएको प्रारम्भिक रूपमा पुष्टि भएको ब्युरोले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट संस्थानलाई आर्थिक हानिनोक्सानी पुर्याई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिएको देखिएको सीआईबीको भनाइ छ।
उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुर देखिएकाले काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिई २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका–३ घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ बस्ने ४५ वर्षीय सञ्जीव झा रहेका छन्। उनी दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक हुन्। हाल उनी संस्थानको लैनचौरस्थित केन्द्रीय कार्यालयको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत छन्। उनलाई काठमाडौँ महानगरपालिका–२६, लैनचौरबाट पक्राउ गरिएको हो।
त्यस्तै, सिरहा नगरपालिका–१ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–४ बस्ने ४६ वर्षीय विजयकुमार यादव पक्राउ परेका छन्। उनी तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज थिए। हाल काठमाडौँ दुग्ध वितरण आयोजना, बालाजुमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत छन्। उनलाई काठमाडौँ महानगरपालिका–१६, बालाजुबाट पक्राउ गरिएको हो।
पर्वतको मोदी गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–६ बस्ने ५५ वर्षीय मनहरी शर्मा पनि पक्राउ परेका छन्। उनी तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज थिए। हाल दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय, लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत छन्। उनलाई कास्कीको पोखरा महानगरपालिका–१४ बाट पक्राउ गरिएको हो।
सर्लाहीको मोहनपुर गाविस–५ स्थायी घर भई हाल चितवनको भरतपुर महानगरपालिका–५, कल्याणपुर बस्ने ४९ वर्षीय रामकेवल राय पक्राउ परेका छन्। उनी तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज थिए। हाल काठमाडौँ दुग्ध वितरण आयोजना, सङ्कलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत छन्। उनलाई सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–५, कल्याणपुर बस्ने २८ वर्षीय जितेन्द्रकुमार यादव पनि छन्। उनी हेटौँडास्थित बागमती धुलो दूध कारखानामा भरपाई पदका कर्मचारीका रूपमा कार्यरत छन्। उनलाई चितवनको भरतपुर महानगरपालिका–५, आनन्दपुरबाट पक्राउ गरिएको हो।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ घर भएका ३२ वर्षीय नवीन राय यादव पनि पक्राउ परेका छन्। उनी डेरी ब्वाई पदका कर्मचारी तथा नवलपुर/गरुडा चिस्यान केन्द्रका इन्चार्ज हुन्। उनलाई सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगञ्जबाट पक्राउ गरिएको हो।
त्यस्तै, सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ घर भई हाल चितवनको माडी नगरपालिका–२ बस्ने ४६ वर्षीय शिवनन्दन राय पक्राउ परेका छन्। उनी माडी चिस्यान केन्द्रमा दैनिक पारिश्रमिक पदका कर्मचारीका रूपमा कार्यरत थिए। उनलाई चितवनको माडी नगरपालिका–१, भरुवाबाट पक्राउ गरिएको हो।
सिन्धुपाल्चोकको कालिका गाउँपालिका–७ बस्ने ४८ वर्षीय विखबहादुर भण्डारी पनि पक्राउ परेका छन्। उनी जुनियर टेक्निकल असिस्टेन्ट तथा माडी चितवनस्थित चिस्यान केन्द्रका इन्चार्ज हुन्। उनलाई चितवनको माडी नगरपालिका–१ बाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।
पक्राउ परेका आठै जनामाथि आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.