तेस्रोलिंगी ‘सुगर ममी’को आतङ्क, संस्थागत संरक्षणको आशङ्का

तेस्रोलिंगी ‘सुगर ममी’को आतङ्क, संस्थागत संरक्षणको आशङ्का

196
SHARES

काठमाडौँ – काठमाडौँको असन, बांगेमुढामा बस्ने तेस्रोलिंगी सन्तोष भुजेल (रंगिला) ले समुदायमा डर, त्रास र आतङ्क सिर्जना गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। विनाकारण मुखमा थुक्ने, गालीगलौज गर्ने र ज्यान मार्ने धम्की दिने गरेको आरोप लगाउँदै पीडितहरूले रंगिलालाई कारबाही गर्न माग गरेका छन्।

‘सुगर ममी’का रूपमा समेत चिनिने रंगिलाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकै व्यक्तिमाथि आक्रमण र कुटपिट गरेको उजुरी प्रहरीमा दिएको पीडितहरूको भनाइ छ। उनीहरूले रंगिलाको कुटपिटबाट लागेको चोटपटकसम्बन्धी घाउ जाँच केस फारामसहित जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका हुन्।

नुवाकोटको विदुर नगरपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–२८ मा बस्ने सुमन थपलिया र उदयपुरको गाईघाट नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–२८ मा बस्ने रंगिला भन्ने सन्तोषकुमार भुजेलविरुद्ध कुटपिटसम्बन्धी उजुरी प्रहरी परिसरमा दिएको पीडितहरूले जानकारी दिए।

रंगिलाले समुदायका व्यक्तिलाई डर र त्रासमा पार्दै कुटपिट गरेको यो पहिलो घटना नभएको पीडितहरूको दाबी छ। पटकपटक ज्यान मार्नेसम्मको धम्की दिने र कुटपिट गर्ने क्रम नरोकिएपछि बाध्य भएर प्रहरीमा उजुरी दिनुपरेको उनीहरूले बताए।

रंगिलाको धम्की र कुटपिट नरोकिनुमा ब्लु डायमन्ड सोसाइटीको संरक्षण रहेको हुन सक्ने आशङ्का पनि पीडितहरूले गरेका छन्। उनीहरूका अनुसार यसअघि घटना मिलाउने नाममा सोसाइटीका व्यक्तिहरूले फोन गरेर हस्तक्षेप गर्ने गरेका थिए। तर, यसपटक घटना प्रहरीसम्म पुगेपछि सोसाइटीका सम्बन्धित व्यक्तिहरू मौन बसेको पीडितहरूको आरोप छ।

सोसाइटीकी सल्लाहकार तथा पूर्वअध्यक्ष सञ्जीव गुरुङ ‘पिंकी’ले यसअघि समुदायकै सदस्यहरूबाट सेयर भर्न लगाएर असुल गरेको लाखौँ रुपैयाँ फिर्ता नगरेको आरोपसमेत पीडितहरूले लगाएका छन्। जिल्ला प्रहरी परिसरमा रकम फिर्ता गर्ने सहमति जनाएकी पिंकीबाटै समुदायका सदस्यहरू शोषित र पीडित भएको उनीहरूको भनाइ छ।

सेयरको रसिद दिएर रकम असुल गरेको आरोप लागेकी पिंकीको संरक्षणमा रंगिलाले समुदायमा आतङ्क मच्चाएको आरोपसमेत पीडितहरूले लगाएका छन्। रंगिलाले अबदेखि कुटपिट नगर्ने भन्दै सहमति गर्ने तर सहमति भएको लगत्तै धाकधम्की दिन थाल्ने गरेको पीडितहरूको आरोप छ। नाम नखुलाउने सर्तमा एक पीडितले पहिचानसँग भने, “अब आइन्दा कुटपिट गर्दिनँ भनेर सहमति गर्ने, सहमति लगत्तै धाकधम्की दिने काम रंगिलाबाट भयो। विश्वास भएन। धेरैलाई तनाव दिएको छ। जोखिम भयो। डर भयो।”

पीडितहरूका अनुसार रंगिलाले ‘काट्छु’, ‘मार्छु’ भन्दै धम्की दिँदै आएका छन्। रंगिलाको व्यवहार आपराधिक प्रकृतिको देखिएको उनीहरूको आरोप छ। “अत्याचार नै गरेको भएर प्रहरी चौकी जानुपरेको हो। सबैले गरिखान पाउनुपर्छ। प्रताडित बनाएको छ। सबैको मानवअधिकार छ। सुरक्षित बाँच्न पाउनुपर्छ,” एक पीडितले भने।

पीडितहरूले आफूहरूमाथि भइरहेको कुटपिट, धम्की र त्रासको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। साथै, घटनामा संस्थागत संरक्षण वा संलग्नता भए त्यसको समेत अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

समाचार शेयर गर्नुहोस्
196
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.