गोपाल वंशभन्दा पहिलेको नेपाल: अजिमाको समाज कहाँ हरायो?

गोपाल वंशभन्दा पहिलेको नेपाल: अजिमाको समाज कहाँ हरायो?

राजवंशावलीले नलेखेको इतिहास, मातृसंस्कृतिको दर्शन र नेपालको प्राचीन समाजबारे नयाँ प्रश्न

60
SHARES

नेपालको लिखित इतिहास भन्छ: नेपालको शासन व्यवस्था गोपाल वंशबाट सुरु हुन्छ। त्यसपछि महिषपाल, किरात, लिच्छवि, मल्ल हुँदै शाह राजवंशसम्मको इतिहास हामीले पढ्दै आएका छौँ। राजाहरूको उदय, राज्य विस्तार, युद्ध, विजय र वंश हस्तान्तरणलाई इतिहासको मुख्य विषय बनाइएको छ। तर यी राजवंशको इतिहास सुरु हुनुभन्दा पहिले काठमाडौँ उपत्यकामा को थिए? उनीहरू कसरी बस्थे? उनीहरूको सामाजिक व्यवस्था कस्तो थियो? मानिस, प्रकृति र अन्य जीवसँग उनीहरूको सम्बन्ध कस्तो थियो?

सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो- “राज्य र राजवंशको स्थापना हुनुभन्दा पहिले समाज कस्तो थियो? के समाजको अस्तित्वका लागि राजा, भू-सीमा, वंशावली र अरूमाथि शासन गर्ने व्यवस्था अनिवार्य थियो?”

नेपालको परम्परागत इतिहासले गोपाल वंशलाई प्रारम्भिक राजवंशका रूपमा प्रस्तुत गर्छ। ‘गोपालराजवंशावली’ काठमाडौँ उपत्यकाको राजकीय इतिहाससम्बन्धी महत्त्वपूर्ण स्रोत हो। तर यो आज उपलब्ध भएको प्रारम्भिक समयको प्रत्यक्षदर्शी विवरण होइन। यसको सङ्कलन चौधौँ शताब्दीको अन्त्यतिर भएको मानिन्छ। यसमा गोपाल र महिषपालपछि किरात शासक आएको परम्परा उल्लेख छ, तर प्रारम्भिक राजवंशका सबै विवरण स्वतन्त्र समकालीन प्रमाणबाट पुष्टि भएका छैनन्।

त्यसैले गोपाल वंशलाई पहिलो राजवंश मान्ने परम्परा स्वीकार गर्दा पनि एउटा प्रश्न बाँकी रहन्छ- “गोपाल वंशभन्दा पहिलेको समाज कहाँ छ?”

राज्यको इतिहास समाजको सम्पूर्ण इतिहास होइन। राज्यको अभिलेख सुरु हुनुभन्दा पहिले पनि मानिसहरू बस्थे, प्रकृतिसँग सम्बन्ध राख्थे, ज्ञान हस्तान्तरण गर्थे, सन्तान हुर्काउँथे, सामूहिक जीवन बिताउँथे र आफ्नो संसारलाई बुझ्ने तरिका विकास गर्थे। उनीहरूको जीवनपद्धति बुझ्न राजवंशावली मात्र पर्याप्त हुँदैन।

१. मातृसंस्कृति भनेको महिलाको शासन मात्र होइन

हामीले मातृसंस्कृतिको कुरा गर्दा प्रायः त्यसलाई पितृसत्ताको ठीक उल्टो व्यवस्था ठान्ने गल्ती गर्न सक्छौँ। पितृसत्तामा पुरुषले शासन गर्छ भने मातृसत्तामा महिलाले शासन गर्थे भन्ने सरल व्याख्याले मातृसंस्कृतिको गहिराइलाई समेट्न सक्दैन।

मातृसंस्कृति महिलाले पुरुषको ठाउँमा बसेर उही प्रकारको सत्ता सञ्चालन गर्ने व्यवस्था मात्र नहुन सक्छ। यो मानिसले आफूलाई प्रकृति, अन्य जीव र सामुदायिक जीवनबाट अलग राखेर नहेर्ने जीवनदृष्टि पनि हुन सक्छ। त्यसकारण यो पुरुष केन्द्रित त होइन होइन, मानव केन्द्रित पनि होइन, बरु समग्र प्रकृति केन्द्रित हो र पूरा प्रकृति नै मातृ (वा माता) भएकाले मातृसंस्कृति भनिएको बुझ्नु पर्छ।

यस्तो दृष्टिकोणमा समाजको मूल आधार कुनै भूभागमाथिको स्वामित्व, अर्को समुदायमाथिको नियन्त्रण वा पुरुष वंशको निरन्तरता नभई सम्बन्ध, सहअस्तित्व र पारस्परिक जिम्मेवारी हुन सक्छ। मानिस प्रकृतिको मालिक होइन, प्रकृतिसँगै अस्तित्वमा रहेको एउटा जीव हो। जमिन केवल जित्नुपर्ने वा आफ्नो नाममा दर्ता गर्नुपर्ने सम्पत्ति होइन; त्यो मानिस, वनस्पति, पशुपक्षी, पानी र अनेकौँ जीवको साझा जीवनाधार हो।

यस्तो सामाजिक दर्शनमा समुदायलाई व्यवस्थित राख्न अनिवार्य रूपमा केन्द्रीय राजा, स्थायी शासक वर्ग वा अरूमाथि शासन गर्ने राज्य चाहिन्छ भन्ने हुँदैन। सामाजिक नियम, सामूहिक स्मृति, अनुष्ठान, पारस्परिक सहयोग र प्रकृतिसँगको सम्बन्धले पनि मानिसको जीवनलाई दिशा दिन सक्छन्।

यसको अर्थ प्राचीन समाजमा कुनै नियम, मतभेद वा शक्ति सम्बन्ध थिएनन् भन्ने होइन। कुनै समाजमा राजा नभए पनि नेतृत्व हुन सक्छ। वंशावली नलेखिए पनि नातासम्बन्ध हुन सक्छन्। भू-सीमा नकोरिए पनि साझा स्रोतको प्रयोगसम्बन्धी नियम हुन सक्छन्। महत्त्वपूर्ण प्रश्न यो हो- समाजलाई व्यवस्थित गर्ने अधिकार र जिम्मेवारी कसरी बाँडिएको थियो?

यदि हामीले नेपालको प्राचीन इतिहासमा मातृसंस्कृतिको खोजी गर्ने हो भने महिलाले शासन गरेका थिए कि थिएनन् भन्ने प्रश्नमा मात्र सीमित हुनु हुँदैन। समाजको जीवनदृष्टि, प्रकृतिसँगको सम्बन्ध, सामूहिक निर्णय, स्रोतको उपयोग, हेरचाह, सामाजिक स्मृति र शक्ति वितरणको अध्ययन पनि गर्नुपर्छ।

२. अजिमा: केवल देवी होइन, फरक सामाजिक स्मृतिको सम्भावित वाहक

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनमा अजिमाको स्थान अत्यन्त महत्त्वपूर्ण छ। विभिन्न नेवार समुदायमा अजिमालाई हजुरआमा देवीका रूपमा सम्मान गरिन्छ। मातृका, स्थानीय देवी, शक्तिपीठ, जात्रा र बस्तीको सांस्कृतिक जीवनबीच गहिरो सम्बन्ध पाइन्छ।

यी परम्परालाई केवल पूजा गर्ने देवीका रूपमा हेरेर मात्र पुग्दैन। तिनले समुदायले आफ्नो स्थान, विगत, सामूहिक पहिचान र संसारसँगको सम्बन्धलाई कसरी बुझ्छ भन्ने प्रश्न पनि उठाउँछन्।

अजिमाको मन्दिर केवल धार्मिक स्थल हो कि त्यो बस्तीको सामूहिक स्मृतिको केन्द्र पनि हो? अजिमासँग जोडिएका जात्रा र अनुष्ठानले समुदायलाई कसरी एकत्रित गर्छन्? देवीलाई आमा वा हजुरआमा भनेर सम्बोधन गर्ने परम्पराले हेरचाह, संरक्षण, जीवन र पुस्ताबीचको सम्बन्धलाई कसरी अर्थ दिन्छ?

यी प्रश्न मातृसंस्कृतिको अध्ययनका लागि महत्त्वपूर्ण छन्।

अजिमालाई बुझ्न उनका पति को थिए, उनको वंश कसरी चल्यो वा उनको नाममा कस्तो राजसत्ता थियो भन्ने प्रश्न मात्र पर्याप्त हुँदैन। त्यो प्रश्नले पनि मानौँ हरेक सामाजिक अस्तित्वलाई पति, परिवार र वंशको संरचनाभित्र राखेर बुझ्नुपर्छ भन्ने पूर्वमान्यता बोकेको हुन्छ। पुराना अजिमाका सन्तान त थिए तर पति हुँदैन थिए ।

यसरी कुनै समुदायले आफूलाई बुझ्ने आधार परिवारको पुरुष प्रमुख, पुरुष वंशको उत्तराधिकार वा भूभागमाथिको राजनीतिक स्वामित्व नै नभएको भए के हुन्थ्यो?

केही समाजमा व्यक्तिको सामाजिक सम्बन्ध विस्तारित समुदाय, मातृसम्बन्ध, स्थान, अनुष्ठान र पारस्परिक जिम्मेवारीमा आधारित हुन सक्छन्। त्यहाँ व्यक्तिको महत्त्व पुरुष वंशको नाम अगाडि बढाउनुमा मात्र सीमित हुँदैन। समुदायको निरन्तरता पनि, एउटा वंशको सत्ता हस्तान्तरणभन्दा, व्यापक र बढी महत्त्वको हुन सक्छ।

अजिमाका विभिन्न कथालाई यस दृष्टिकोणबाट पुनः पढ्नु आवश्यक छ। तिनमा रहेका सम्बन्ध, मातृत्व, दिदीबहिनीपन, संरक्षण, सामूहिक जीवन र स्थानसँगको सम्बन्धले कस्तो सामाजिक दर्शन व्यक्त गर्छन्? के तिनमा पुरुष वंशावलीमा केन्द्रित नभएको सांस्कृतिक स्मृति भेटिन्छ?

यी प्रश्नको उत्तर सबै अजिमा परम्परा एउटै हुन् भनेर मानेर होइन, प्रत्येक स्थानीय परम्पराको अध्ययन गरेर खोज्नुपर्छ।

३. प्रकृतिसँगको सम्बन्ध कि भूभागमाथिको अधिकार?

राज्यको इतिहासमा भूभागको विस्तार, सीमा निर्धारण, युद्ध, विजय र स्वामित्वलाई विशेष महत्त्व दिइन्छ। राजाको शक्ति कति ठूलो थियो, उसले कति क्षेत्र जित्यो र कसले उसको उत्तराधिकारीका रूपमा शासन गर्‍यो भन्ने प्रश्न इतिहासको केन्द्रमा हुन्छ।

तर समाजलाई हेर्ने अर्को दृष्टिकोण पनि सम्भव छ।

कुनै समुदायका लागि पहाड, नदी, वन, पानीका स्रोत र खेतीयोग्य जमिन केवल आर्थिक स्रोत नहुन सक्छन्। तिनीहरू जीवन, पुर्खाको स्मृति, स्थानीय देवी, सामूहिक जिम्मेवारी र अन्य जीवसँगको सम्बन्धका आधार पनि हुन सक्छन्। यस्तो अवस्थामा भूभागको अर्थ त्यसलाई आफ्नो स्वामित्व लिनुमा मात्र सीमित हुँदैन; त्यससँग सम्बन्ध कायम राख्नु र त्यसको संरक्षण गर्नु पनि महत्त्वपूर्ण हुन्छ।

यदि प्राचीन काठमाडौँ उपत्यकामा यस्ता जीवनदृष्टि भएका समुदाय थिए भने उनीहरूले आफ्नो संसारलाई कसरी व्यवस्थित गर्थे? पानी, वन, खेतीयोग्य जमिन र साझा स्रोत कसरी प्रयोग गर्थे? विवाद कसरी समाधान गर्थे? स्थानीय देवी र अनुष्ठानले सामाजिक जिम्मेवारीलाई कसरी अर्थ दिन्थे?

हामीसँग यी सबै प्रश्नको उत्तर दिने पर्याप्त प्रमाण छैन। तर राजवंशावलीले यी विषयबारे मौनता राखेको कारण तिनलाई इतिहासको विषय नै नबनाउने हो भने समाजको इतिहास अधुरै रहनेछ।

मातृसंस्कृतिको सम्भावित दर्शन बुझ्नका लागि यस्ता प्रश्न उठाउनु आवश्यक छ। किनकि, आजको दिनमा जसरी प्रकृतिको विनाश भैँ राखेको छ, समाजलाई केवल राज्य, स्वामित्व र प्रभुत्वका आधारमा बुझ्ने दृष्टिकोणभन्दा बाहिर निस्केर अन्य सम्भावनाको खोजी गर्नु आवश्यक भैसकेको छ।

४. वंश, परिवार र उत्तराधिकारभन्दा बाहिर पनि समाज सम्भव छ?

राजवंशावलीले इतिहासलाई वंशको निरन्तरतासँग जोड्छ। कसको छोरा राजा भयो, कसले बाबुको सत्ता पायो, कुन वंशले अर्को वंशलाई विस्थापित गर्‍यो- यस्ता प्रश्न राजकीय इतिहासका आधार हुन्।

तर मानव समाजको निरन्तरता एउटा वंशको निरन्तरतासँग समान हुँदैन।

समुदायको ज्ञान: गीत, कथा, अनुष्ठान, सीप, भाषा र सामूहिक स्मृतिबाट पनि पुस्तौँसम्म हस्तान्तरण हुन सक्छ। कुनै सामाजिक परम्परा कायम रहन पुरुष वंशको नाममा सत्ता हस्तान्तरण हुनु आवश्यक छैन। कुनै समुदायको पहिचान एउटै पितृवंशमा सीमित नहुन सक्छ।

त्यसैगरी मातृसंस्कृतिको अर्थ हरेक अवस्थामा मातृवंशीय उत्तराधिकार वा महिलाको स्वामित्व भएको परिवार व्यवस्था पनि होइन। मातृसंस्कृति भनेर हामीले खोजिरहेको विषय सामाजिक जीवनको व्यापक दर्शन हो भने त्यसलाई परिवारको संरचनामा मात्र सीमित गर्न मिल्दैन।

सम्भव छ, कुनै प्राचीन समुदायमा परिवार र नातासम्बन्ध आजको भन्दा फरक ढङ्गले व्यवस्थित हुन्थे। सम्भव छ, उनीहरूको सामूहिक पहिचान पुरुष वंशावलीभन्दा अन्य सम्बन्धमा आधारित हुन्थ्यो। सम्भव छ, उनीहरूले आफूलाई आजको अर्थमा छुट्टाछुट्टै जाति, राष्ट्र वा भूभागका मालिकका रूपमा परिभाषित गर्दैनथे। तर यी सम्भावनालाई ऐतिहासिक निष्कर्षमा रूपान्तरण गर्न स्थानीय कथाहरू, भाषिक प्रमाण, पुरातत्त्व र सामाजिक परम्पराको गहन अध्ययन आवश्यक छ।

यहाँ मूल प्रश्न हो- हामीले विगतलाई बुझ्न वर्तमानका परिवार, राज्य र वंशका अवधारणालाई नै सार्वभौमिक मापदण्ड बनाइरहेका त छैनौँ?

५. लाखे, लषी र ख्याः: प्राचीन बासिन्दाका सांस्कृतिक स्मृति?

काठमाडौँ उपत्यकामा लाखे नाच, ख्याःसम्बन्धी लोकविश्वास र अन्य स्थानीय सांस्कृतिक पात्र आजसम्म जीवित छन्। यी परम्परालाई केवल मनोरञ्जन, अन्धविश्वास वा असाधारण शक्तिका कथाका रूपमा पन्छाउँदा तिनले बोकेको सामाजिक स्मृति र सांस्कृतिक अर्थ बुझ्ने अवसर गुम्न सक्छ।

लाखेका मुखौटा, अनुहारको बनोट, घना कपालको प्रस्तुति र शरीरको दृश्यात्मक स्वरूपलाई हेर्दा कतिपय मानिसले तिनमा आज काठमाडौँमा रहेका अधिकांश मानव स्वरूपभन्दा फरक विशेषता देख्न सक्छन्। कतिपयलाई ती आकृतिमा अफ्रिकी मूलका मानिससँग मिल्दोजुल्दो दृश्यात्मक पक्षसमेत लाग्न सक्छ। लषी र ख्याःसम्बन्धी चित्रणमा पनि त्यस्तै खाले फरक स्वरूप पाइन्छन्।

यसले एउटा प्रश्न उठाउँछ- के यी पात्र केवल काल्पनिक वा प्रतीकात्मक आकृति हुन्, कि तिनले उपत्यकाका कुनै पुराना मानव समुदायको सांस्कृतिक स्मृति पनि बोकेका हुन सक्छन्?

मानव जातिको प्रागैतिहासिक यात्रा अफ्रिकासँग जोडिएको छ। आधुनिक मानवका पुर्खाहरू अफ्रिकाबाट विभिन्न भूभागमा फैलिए र दक्षिण एसियामा पनि हजारौँ वर्ष पहिला देखि ती मानव समुदायको बसोबास रहेको थियो भन्ने वैज्ञानिक मान्यता रहेको छ। त्यसैले काठमाडौँ उपत्यकाका प्रारम्भिक मानव बसोबास र विभिन्न समुदायको आवागमनबारे अनुसन्धान गर्नु महत्त्वपूर्ण छ।

“राज्य बन्नुभन्दा पहिले पनि समाज थियो। राजवंशावली सुरु हुनुभन्दा पहिले पनि मानव जीवन, ज्ञान, संस्कृति र सम्बन्ध थिए। ती समाजको इतिहास राजाहरूको इतिहासभन्दा फरक हुन सक्छ- र त्यो फरक इतिहास खोज्नु हाम्रो दायित्व हो।”

लाखे, लाशी र ख्याःका आकृति अफ्रिकी मूलका मानिसको प्रत्यक्ष प्रतिनिधित्व हुन् भन्ने कुरा अहिले नै प्रमाणित भैसकेको छैन। मुखौटा, नृत्य र लोकविश्वासमा देखिने स्वरूपलाई वास्तविक मानव समुदायको शारीरिक बनावटसँग सीधै जोड्नुअघि तिनको इतिहास, प्रतीकात्मक अर्थ र सांस्कृतिक विकासक्रम बुझ्नुपर्छ।

यद्यपि, यस प्रश्नलाई सुरुमै खारेज गर्नुपर्ने कारण पनि छैन। नेवार समुदायमा लाखे, यक्ख्य(यक्ष) र द्वाखाः जस्ता थर भएका मनिस आज पनि छन्। ती नामको पुरानो उल्लेख कहाँ पाइन्छ? तिनको भाषिक अर्थ के हो? ती परिवारका उत्पत्तिसम्बन्धी कथाहरू के छन्? तिनको सम्बन्ध कुनै जात्रा, पेशा, धार्मिक भूमिका वा स्थानीय समुदायसँग छ कि छैन?

थरको नाम वा कुनै पात्रको रूपरङले मात्र अफ्रिकी वंश प्रमाणित गर्दैन। तर त्यस्ता नामको ऐतिहासिक विकासक्रम खोज्नु नेपालको सामाजिक इतिहासलाई फराकिलो बनाउने महत्त्वपूर्ण काम हुन सक्छ।

६. के पुरानो समुदाय पराजित भएर सांस्कृतिक स्मृतिमा मात्र बाँकी रह्यो?

इतिहासमा कुनै भूभागमा पहिले बसोबास गर्ने समुदायहरू पछि आएका समूहसँगको सम्पर्क, प्रतिस्पर्धा, द्वन्द्व वा राजनीतिक परिवर्तनका कारण आफ्नो पुरानो सामाजिक संरचना गुमाउन सक्छन् (अमेरिकामा युरोपेली गोराहरूको आगमन पश्चात् त्यहाँका आदिवासी मासिए जस्तै)। उनीहरूको भाषा, नाम, परम्परा र सांस्कृतिक आकृति पछिल्लो समाजमा विभिन्न रूपमा बाँकी रहन सक्छन्।

काठमाडौँ उपत्यकाको सन्दर्भमा पनि हामीले यस्तो प्रश्न सोध्न सक्छौँ। गोपाल, महिषपाल, किरात वा त्यसपछिका राजकीय संरचना स्थापित हुनुभन्दा पहिले यहाँ कुन-कुन मानव समुदाय थिए? उनीहरूको आपसी सम्बन्ध कस्तो थियो? पछि बनेका राज्य र सामाजिक संरचनाले पुराना समुदायलाई कसरी समेटे वा विस्थापित गरे? स्थानीय देवी, जात्रा, नाच र लोकविश्वासमा कुनै पुरानो सामाजिक स्मृति सुरक्षित छ कि छैन?

के लाखे, लषी वा ख्याःसँग सम्बन्धित कथाहरूले त्यस्तो कुनै स्मृति बोकेका हुन सक्छन्? के केही स्थानीय थर वा सांस्कृतिक परम्पराले आजसम्म नलेखिएको विगततर्फ सङ्केत गर्छन्? के पछि विकसित पितृसत्तात्मक राज्य र सामाजिक संरचनाले पहिलेका समुदायको जीवनदृष्टि वा सांस्कृतिक अभ्यासलाई परिवर्तन गरे?

यी प्रश्न अनुसन्धानयोग्य छन्। तर कुनै समुदाय अफ्रिकाबाट आएको थियो, पछि पितृसत्तात्मक समूहसँग युद्धमा पराजित भयो र त्यसपछि उसको स्मृति लाखे वा अन्य लोकपात्रका रूपमा मात्र बाँकी रह्यो भन्ने विशिष्ट कथा स्थापित गर्न अहिले नै पर्याप्त प्रमाण छैन। यसलाई ऐतिहासिक परिकल्पनाका रूपमा राखेर पुरातत्त्व, मानवशास्त्र, भाषाविज्ञान, संस्कृति, आनुवंशिकी र मौखिक इतिहासबाट जाँच्नुपर्छ।

इतिहासको खोजीमा महत्त्वपूर्ण कुरा कुनै सम्भावनालाई सुरुमै अस्वीकार गर्नु पनि होइन, प्रमाणबिना त्यसलाई अन्तिम सत्य घोषणा गर्नु पनि होइन।

७. अजिमा, काली, भद्रकाली र नरदेवीको इतिहास

अजिमा, काली, भद्रकाली, नरदेवी र अन्य स्थानीय देवीहरूको इतिहास यस बहसको महत्त्वपूर्ण पक्ष हो। उनीहरूका नाम, मन्दिर, जात्रा, स्थानीय कथा र पूजा गर्ने समुदायको इतिहास अध्ययन गर्दा उपत्यकाको सांस्कृतिक विकासक्रमबारे धेरै कुरा बुझ्न सकिन्छ।

स्थानीय देवीहरूलाई केवल पछिल्लो समयमा स्थापित पौराणिक वंशावलीभित्र राखेर बुझ्नु पर्याप्त हुँदैन। उनीहरूको स्थानीय स्वरूप, समुदायसँगको सम्बन्ध, अनुष्ठान र सांस्कृतिक स्मृतिलाई पनि अध्ययन गर्नुपर्छ।

केही देवीको कथामा उनीहरूको स्वतन्त्र शक्ति र स्थान देखिन्छ। कतिपयमा उनीहरूलाई अन्य देवतासँगको सम्बन्धमा व्याख्या गरिन्छ। जस्तो अजिमाका पति हुँदैनन् तर तिनै अजिमालाई मातृकाको रूपमा ल्याउँदा पति उपस्थित गराइएका छन्। यस्तो भिन्नताले विभिन्न सांस्कृतिक तह, स्थानीय परम्परा र समयक्रममा भएका पुनर्व्याख्याबारे अनुसन्धान गर्ने अवसर दिन्छ।

तर काली, भद्रकाली वा नरदेवी कुनै विशेष अफ्रिकी मूलका नेपालमा बसोबास गर्ने मानव जातिको प्राचीन कुलका देवी थिए भन्ने दाबी गर्न अहिले पर्याप्त प्रमाण छैन। त्यसैगरी उनीहरूको सबैभन्दा पुरानो स्वरूप पितृसत्ताले मेटाएको वा पुरुष देवताहरूले प्रतिस्थापन गरेको थियो भन्ने निष्कर्ष पनि अनुसन्धानबिना निकाल्न मिल्दैन।

बरु हामीले सोध्नुपर्ने प्रश्न हुन्- स्थानीय देवीहरूलाई पछि विकसित धार्मिक ग्रन्थमा कसरी व्याख्या गरियो? उनीहरूको नाम, स्वरूप र पूजा गर्ने विधिमा के परिवर्तन आयो? स्थानीय समुदायको भूमिका कस्तो रह्यो? महिलाले ती परम्पराको संरक्षण र नेतृत्वमा के भूमिका खेले? आज किन महिलाहरू नै देवीकै मन्दिरमा पुजारी छैनन् , पुरुष पुजारी मात्र किन र कहिले देखी राखिए? पुराना कथामा प्रकृति, सामूहिक जीवन र देवीको स्वतन्त्र अस्तित्वलाई कसरी चित्रण गरिएको छ?

यी प्रश्नले देवीहरूको इतिहासलाई सामाजिक र सांस्कृतिक इतिहाससँग जोडेर बुझ्न मद्दत गर्छन्।

८. के पुराना मातृपरम्परालाई पछि राक्षसीकरण गरियो?

नयाँ धार्मिक र राजनीतिक व्यवस्थाको विकाससँगै पुराना स्थानीय देवी-देवता, शक्ति र परम्पराहरूलाई नयाँ अर्थ दिइएको उदाहरण विश्वका विभिन्न समाजमा पाइन्छ। कुनै पुरानो देवी नयाँ परम्परामा समाहित हुन्छिन्, कुनैलाई राक्षसी बनाइन्छ, कुनैलाई नयाँ नाम दिइन्छ, कुनै स्थानीय शक्तिको स्वरूप परिवर्तन हुन्छ। तर सबै ठाउँमा एउटै प्रक्रिया भएको हुँदैन।

नेपालको सन्दर्भमा पनि मातृका, अजिमा, डाकिनी, योगिनी, लाखे, लषी र ख्याःजस्ता पात्रको ऐतिहासिक छवि कसरी विकसित भयो भन्ने प्रश्न अनुसन्धानयोग्य छ।

के कुनै स्थानीय देवी वा शक्तिलाई पछि स्थापित पौराणिक परम्परामा समेट्दा उनको स्वतन्त्र स्थानीय पहिचान परिवर्तन भयो? के कुनै पुरानो स्थानीय पात्रलाई नयाँ धार्मिक वर्गीकरणमा राक्षस, भूत वा अशुभ शक्तिका रूपमा चित्रण गरियो? के ती परिवर्तन सामाजिक पदानुक्रम, जातीय सम्बन्ध वा पितृसत्तात्मक मूल्यसँग सम्बन्धित थिए?

डाकिनी र योगिनीलाई पनि स्वतः सबै ठाउँमा राक्षसी पात्र मान्न मिल्दैन। बौद्ध वज्रयान र तान्त्रिक परम्परामा तिनका अनेकौँ सकारात्मक आध्यात्मिक र अनुष्ठानिक अर्थ छन्। त्यसैगरी लाखे वा ख्याःलाई सबै ठाउँमा दुष्ट शक्तिका रूपमा मात्रै प्रस्तुत गरिएको छैन।

त्यसैले पुराना स्थानीय परम्पराको अर्थ समयसँगै कसरी फेरियो, कुन समूहको व्याख्या प्रभावशाली बन्यो र त्यस प्रक्रियामा लैङ्गिक तथा सामाजिक शक्ति सम्बन्धको भूमिका के थियो भन्ने अनुसन्धान आवश्यक छ।

९. इतिहासले कुन प्रकारको समाजलाई देख्न सिकेको छ?

इतिहास लेखनको एउटा आधारभूत समस्या के हो भने हामी प्रायः राज्यको उत्पत्ति, शासकको नाम, युद्ध, भूभाग र वंशावलीलाई विगत बुझ्ने मुख्य साधन मान्छौँ। यस्तो इतिहासले राज्यको संरचना र सत्ता परिवर्तन बुझ्न मद्दत गर्छ। तर राज्यको इतिहास र मानव समाजको इतिहास एउटै होइनन्।

कुनै समाजको इतिहास लेख्न त्यसको राजा को थियो भनेर सोध्नु उपयोगी हुन सक्छ। तर राजा नै नभएको वा राजकीय सत्ता केन्द्रमा नराखेको समाज थियो भने? त्यस्तो समाजको इतिहास कसरी लेख्ने?

यदि कुनै समुदायले आफ्नो सामूहिक जीवनलाई प्रकृतिसँगको सम्बन्ध, साझा स्रोतको संरक्षण, सामुदायिक जिम्मेवारी र मौखिक ज्ञानका आधारमा व्यवस्थित गरेको थियो भने राजवंशावली खोजेर मात्र त्यसलाई बुझ्न सकिँदैन।

त्यस्तो समाजको इतिहास पानीको स्रोत कसरी बाँडिन्थ्यो भन्ने स्थानीय नियममा हुन सक्छ। वन, खेती, पशुपालन र प्रकृतिसँग जोडिएका संस्कारमा हुन सक्छ। देवीसम्बन्धी कथामा हुन सक्छ। जात्रा र नाचमा हुन सक्छ। मानिसहरूबीचका सम्बन्ध, सहयोग र साझा जिम्मेवारीमा हुन सक्छ।

१०. गोपाल वंशभन्दा पहिलेको इतिहास खोज्नु किन आवश्यक छ?

गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल र शाह राजवंश नेपालको इतिहासका महत्त्वपूर्ण विषय हुन्। तर राजवंशको इतिहास पढेर मात्र नेपालका सबै प्राचीन समुदायको सामाजिक जीवन बुझ्न सकिँदैन।

हामीले अजिमा र मातृकाका परम्परा, स्थानीय देवी, जात्रा, नाच, लोककथा र मौखिक स्मृतिलाई पनि गम्भीरतापूर्वक अध्ययन गर्नुपर्छ। तिनलाई केवल पूजा वा मनोरञ्जनको विषय नभई समाजले आफ्नो संसारलाई कसरी बुझ्यो भन्ने प्रश्नसँग जोड्नुपर्छ।

हामीले खोज्नुपर्ने कुरा केवल प्राचीन नेपालमा महिलाले शासन गर्थे कि पुरुषले भन्ने होइन। प्रश्न अझ गहिरो छ- “के त्यस्ता सामाजिक जीवनदृष्टि पनि थिए, जसमा शासन गर्नु, भू-भाग जित्नु, वंशको नाममा सत्ता हस्तान्तरण गर्नु वा अरूमाथि प्रभुत्व जमाउनु समाजको सङ्गठनका अनिवार्य आधार थिएनन्?”

यदि त्यस्ता जीवनदृष्टि थिए भने तिनका स्मृति कहाँ सुरक्षित छन्? के आजसम्म जीवित मातृसंस्कृतिले तिनको कुनै अंश बोकेको छ? के प्रकृतिसँगको सम्बन्ध, साझा जीवन र सामुदायिक स्मृतिले विगतको सामाजिक दर्शन बुझ्न सहयोग गर्न सक्छन्?

इतिहासमा ओझेलमा परेका आवाज उजागर गर्नु भनेको विगतलाई आफ्नो इच्छाअनुसार पुनर्निर्माण गर्नु होइन। बरु इतिहास लेखनले लामो समयसम्म प्राथमिकता दिएका सत्ता, राज्य र वंशका कथासँगै अरू प्रकारका सामाजिक अनुभवलाई पनि स्थान दिनु हो।

“राज्य बन्नुभन्दा पहिले पनि समाज थियो। राजवंशावली सुरु हुनुभन्दा पहिले पनि मानव जीवन, ज्ञान, संस्कृति र सम्बन्ध थिए। ती समाजको इतिहास राजाहरूको इतिहासभन्दा फरक हुन सक्छ- र त्यो फरक इतिहास खोज्नु हाम्रो दायित्व हो।”

अजिमाको परम्परा, मातृकाको पूजा, लाखेको नाच, लषी, ख्या: र स्थानीय देवीका कथा र प्रकृतिसँग जोडिएका सांस्कृतिक अभ्यासलाई यही प्रश्नसहित पुनः पढौँ। तिनले के प्रमाणित गर्छन् भन्ने मात्र होइन, तिनले हामीलाई विगतबारे कस्ता नयाँ प्रश्न सोध्न सिकाउँछन् भन्ने पनि विचार गरौँ।

नेपालको इतिहास शिलालेख र राजवंशावलीमा मात्र छैन। त्यो मानिसको सामूहिक स्मृति, जीवित संस्कृति र प्रकृतिसँगको सम्बन्धमा पनि खोजिन बाँकी छ।

समाचार शेयर गर्नुहोस्
60
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.