काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गरेका छन्। बिहान सामाजिक सञ्जालमार्फत शुभकामना दिएका प्रधानमन्त्री शाहले दिउँसो कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका हुन्।
तेस्रो संस्करणको एनपीएलअन्तर्गत साबिक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा डार्सी शर्टले आक्रामक ब्याटिङ गरे। उनले १८ बलमा ४ चौका र ३ छक्काको मद्दतले ४० रन जोडे। आसिफ शेखले ३२ रन बनाए। बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। सुदूरपश्चिमका ब्याटर फ्लप साबित भए। अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्। उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेल १५ रनमा अविजित रहे भने सैफ जइबले १३ रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका किशोर महतोले ४ तथा शेर मल्लले ३ विकेट लिए। शाद्ली भान साल्कविक, कप्तान रोहित पौडेल र तिलक भण्डारीले समान १ विकेट लिए। लुम्बिनीका बलरले सुरुदेखि नै दबाब बनाएपछि सुदूरपश्चिम ठूलो योगफल बनाउन असफल भयो।
गत दुई संस्करणमा लगातार फाइनल खेलेको सुदूरपश्चिम दुवैपटक उपविजेतामै सीमित भएको थियो। पहिलो संस्करणमा पनि फाइनल पुगेको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो। यसपटक पनि लुम्बिनीसँगको खेलबाट प्रतियोगिता सुरु गरेको सुदूरपश्चिमले कमजोर सुरुवात गरेको छ।
एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्स गरी ८ टोली सहभागी छन्।
प्रतियोगिताअन्तर्गत मङ्गलवार दुई खेल हुनेछन्। दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन्। दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.