काठमाडौँ – नेपालको प्रमुख क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
सोमबार दिउँसो साढे ४ बजे हुने उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको क्यानका सचिव पारस खड्काले बताए।
पहिलो पटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता र विदेशी स्टार खेलाडीहरूको सहभागिताले एनपीएलको तेस्रो संस्करणलाई विशेष बनाएको छ।
एनपीएलमा यस पटक पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुँदैछ। अघिल्ला संस्करणमा अम्पायरका केही निर्णयलाई लिएर प्रश्न उठेपछि खेलाडी र दर्शकले लामो समयदेखि यो प्रविधिको माग गर्दै आएका थिए।
डीआरएस लागू भएपछि अम्पायरको निर्णयमा चित्त नबुझे खेलाडीले पुनरावलोकन अर्थात् रिभ्यु माग गर्न पाउनेछन्। यसले खेलका क्रममा हुने विवाद कम गर्न र निर्णयलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। एनपीएलका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले लिस्ट ए टी–२० को आधिकारिक मान्यता दिएको छ।
आइसिसीको मान्यता प्राप्त भएसँगै नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने क्यानको विश्वास छ। यसबाट एनपीएलमा खेलाडीले बनाउने रन र लिने विकेट उनीहरूको आधिकारिक टी–२० करियरको तथ्याङ्कमा समावेश हुनेछन्। यसअघि आधिकारिक मान्यता नहुँदा टेस्ट क्रिकेट खेल्ने देशका खेलाडीलाई एनपीएलमा सहभागी गराउन फ्रेन्चाइज टोलीहरूलाई कठिनाइ हुँदै आएको थियो।
आइसिसीको मान्यतापछि विदेशी खेलाडी अनुबन्ध गर्ने बाटो सहज भएको छ। यससँगै विश्व क्रिकेटमा स्थापित खेलाडीको सहभागिता बढेको र विदेशी खेलाडी ल्याउन क्यानले सहजीकरण गरेको सचिव पारस खड्काले बताए।
क्यानले पहिलो र दोस्रो संस्करणमा देखिएका समस्या सुधार गर्दै दर्शकका लागि सिट संख्या थप्ने, शौचालयको अवस्था सुधार गर्ने र पिच परिमार्जनलगायतका काम गरेको जनाएको छ। एनपीएलको दोस्रो संस्करणको तुलनामा यस पटक झन्डै दुई हजार सिट थप गरिएको छ। दर्शकका लागि छाना भएको प्यारापिटको व्यवस्था पनि गरिएको छ। यस पटक कीर्तिपुर मैदानको पिचमा नयाँ माटो प्रयोग गरी परिमार्जन गरिएको क्यानले जनाएको छ।
एनपीएलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससहित विराटनगर किङ्ग्स, चितवन राइनोज, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी आठ टोली सहभागी छन्।
नेपाली क्रिकेटको इतिहासमै यस पटक आर्थिक र व्यवस्थापकीय दुवै दृष्टिले एनपीएललाई भव्य रूपमा सञ्चालन गर्ने क्यानको योजना छ। प्रतियोगिताका क्रममा ७० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले बताए।
एनपीएलको तेस्रो संस्करणमा विजेता टोलीका लागि पुरस्कार राशि पनि उल्लेख्य रूपमा वृद्धि गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउने क्यानका कोषाध्यक्ष खड्काले जानकारी दिए।
एनपीएलको तेस्रो संस्करण अघिल्ला वर्षभन्दा विशिष्ट हुने क्यानले जनाएको छ। क्यानका अनुसार एनपीएल क्रिकेटको एउटा स्थापित ब्रान्डका रूपमा अघि बढेको छ। क्रिकेट खेलाडीलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ क्यानले काम गरिरहेको जनाएको छ।
तर, पछिल्लो पटक सरकारले घोषणा गरेका पुरस्कारसमेत खेलाडीले पाउन नसकेको अवस्था रहेको विषय उठाउँदै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे। उनले दोस्रो पटक एसिया कप खेल्ने अवसर प्राप्त गरेको नेपाली टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरे।
नेपाली क्रिकेटको महाकुम्भका रूपमा हेरिएको एनपीएलको तेस्रो संस्करणका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको क्यानले जनाएको छ। विदेशी खेलाडीहरूको आगमनसमेत भइसकेको छ। प्रतियोगिता सुरु भएसँगै आगामी दिनमा क्रिकेटको रौनक छाउने अपेक्षा गरिएको छ।
करोडौँ रुपैयाँको आर्थिक कारोबार, अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता, पुरस्कार राशिमा वृद्धि, दर्शकका लागि थप सुविधा र नयाँ प्रविधिको प्रयोगले यस संस्करणलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.