काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा मन्त्रीहरूको भारत भ्रमण लगातार भइरहेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको सम्भावित भारत भ्रमणको चर्चा भइरहेका बेला रास्वपाका सभापति रवि लामिछानेसहित नेता तथा मन्त्रीहरू भारत पुगेका हुन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुधन गुरुङ र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भारत भ्रमण गरेका छन्। सत्तारुढ दलका नेता तथा मन्त्रीहरूको एकपछि अर्को भारत भ्रमण भइरहेका बेला प्रधानमन्त्री शाहको सम्भावित भ्रमणको तयारी र नेपाल–भारत सम्बन्धलाई लिएर समेत चर्चा हुन थालेको छ।
अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री शाहले पनि छिट्टै भारत भ्रमण गर्ने जानकारी दिएका छन्। नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी भावनासँग जोडेर राष्ट्रवादको व्याख्या गरिने युग अब समाप्त भएको दाबी पनि गरे।
प्रधानमन्त्री वालेन्द्र शाहले सन् २०२६ को अन्त्यसम्ममा भारत भ्रमण गर्न सक्ने सङ्केतसमेत अर्थमन्त्री वाग्लेले गरेका छन्। यद्यपि, प्रधानमन्त्रीको भारत भ्रमणको मिति भने तय भइसकेको छैन।
अर्थमन्त्री वाग्लेले सम्बोधन गर्नुअघि दर्शकदीर्घाबाट भारतीय विदेशमन्त्री एस. जयशंकरलाई प्रश्न गरेका थिए। जयशंकरको प्रवचनको अर्थमाथि प्रतिप्रश्न गर्दै वाग्लेले विश्व नयाँ व्यवस्थातर्फ गइरहेको हो भन्ने जिज्ञासा राखेका थिए। उनले ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ?’ भनेर प्रश्न गरेका थिए।
नेपालमा सरकार परिवर्तन भएपछि काठमाडौँ र नयाँदिल्ली नयाँ राजनीतिक नेतृत्वअन्तर्गत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासमा छन्। प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणलाई यही राजनीतिक परिवर्तन र दुई देशबीचको सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउने प्रयाससँग जोडेर हेरिएको छ।
अर्थमन्त्री वाग्ले भारत भ्रमणमा रहेकै बेला रास्वपा सभापति रवि लामिछाने पनि भारत गएका छन्। लामिछानेले कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारत गएको बताएका छन्। आफ्नो भ्रमण व्यक्तिगत भएकाले यसलाई राजनीतिसँग नजोड्न र व्यक्तिगत भ्रमणलाई खिचडी नबनाउन उनले आग्रह गरेका छन्।
सभापति लामिछानेको निजी सचिवालयले उनको भारत भ्रमणलाई निजी तथा पारिवारिक तीर्थाटन भनेको छ। भ्रमणको उद्देश्य व्यक्तिगत तथा धार्मिक रहेको सचिवालयको भनाइ छ। यद्यपि, रास्वपाका सभापतिसमेत रहेका लामिछानेको भ्रमणलाई राजनीतिक घटनाक्रमबाट पूर्ण रूपमा अलग राखेर हेर्ने कि नहेर्ने भन्ने विषयमा सार्वजनिक चर्चा भइरहेको छ।
रास्वपाका नेता अङ्कित यादवले भने लामिछानेको धार्मिक भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो बनाउन सहयोग पुग्ने बताएका छन्।
सत्तारुढ दलका नेता तथा मन्त्रीहरूको लगातारको भारत भ्रमणलाई लिएर विभिन्न टिप्पणी सार्वजनिक भइरहेका छन्। सत्ता परिवर्तनका विषयसमेत उठ्न थालेका छन्। स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले भने वालेन्द्र शाह नेतृत्वको सरकारलाई पाँच वर्ष नै काम गर्न दिनुपर्ने बताएका छन्।
नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, सांस्कृतिक तथा जनस्तरमा लामो समयदेखि सम्बन्ध रहँदै आएको छ। यस्तो अवस्थामा नेपालका प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेता तथा मन्त्रीहरूको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.