काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको ६ महिनाको अवधिमा ४५ हजार ३२२ जना मतदाताको मृत्यु भएको छ। निर्वाचन आयोगले मृत्यु भएका ४५ हजार ३२२ जना मतदाताको नाम मतदाता नामावलीबाट हटाइएको जनाएको छ।
आयोगका अनुसार दोहोरो नाम समावेश भएको, नागरिकता त्याग गरेको वा रद्द भएको तथा दाबीविरोधलगायतका कारणबाट थप १ लाख ५८ हजार २६४ जनाको नाम हटाइएको छ।
मतदाता नामावलीमा महिला ९४ लाख २७ हजार ६५०, पुरुष ९८ लाख ६७ हजार ९० र अन्य २२१ गरी कुल १ करोड ९२ लाख ९४ हजार ९६१ जनाको विवरण समेटिएको थियो। अद्यावधिक प्रयोजनका लागि आयोगले २०८३ असोज १ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको थियो।
आयोगको विवरणअनुसार प्रतिनिधिसभा निर्वाचनपछि थपिएका २१ जना अन्य पहिचानका मतदातामध्ये ७ जनाको मृत्यु भएको छ। अन्य पहिचानका मतदाताको सङ्ख्या २१४ कायम भएको आयोगले जनाएको छ।
प्रारम्भिक मतदाता नामावलीबाट कुल २ लाख ३ हजार ५८६ जनाको नाम हटाइएको छ। त्यसपछि अन्तिम मतदाता नामावलीमा कुल १ करोड ९० लाख ९१ हजार ३७५ जना मतदाता कायम भएका छन्।
अन्तिम मतदाता नामावलीमा कायम मतदातामध्ये पुरुष ९७ लाख ६९ हजार ८२५, महिला ९३ लाख २१ हजार ३३६ र अन्य पहिचानका २१४ जना रहेका छन्।
आयोगका अनुसार २०८२ चैत २२ देखि २०८३ भदौ १५ गतेसम्मको अवधिमा १८ वर्ष उमेर पूरा गरेका ४ लाख ३० हजार ३५२ जनाको नाम मतदाता नामावलीमा समावेश गरिएको थियो। नियमित अद्यावधिक प्रक्रियाअन्तर्गत मृत्यु, दोहोरो नाम, नागरिकता त्याग वा रद्दलगायतका कारणबाट ३९ हजार ८० जनाको नाम हटाइएको थियो।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कायम रहेको अन्तिम मतदाता नामावलीमा ३ लाख ९१ हजार २७२ मतदाताको नाम थप गरी २०८३ असोज १ गते प्रारम्भिक मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा कायम रहेको अन्तिम मतदाता नामावलीमा महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य पहिचानका २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए।
आयोगका अनुसार उक्त निर्वाचन सम्पन्न भएपछि २०८२ चैत २२ गतेदेखि नियमित रूपमा मतदाता नामावलीमा नाम दर्ता गर्ने, विवरणमा रहेका त्रुटि सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका मतदाताको नाम हटाउनेलगायतका कार्य सञ्चालन हुँदै आएको थियो।
आयोगका सहसचिव राजेन्द्रकुमार केसीका अनुसार अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा कायम मतदाता सङ्ख्याको तुलनामा हालको अन्तिम मतदाता नामावलीमा कुल १ लाख ८७ हजार ६८६ जना मतदाता वृद्धि भएका छन्।
अद्यावधिक प्रयोजनका लागि प्रकाशित प्रारम्भिक मतदाता नामावलीउपर प्रचलित कानुनबमोजिम दाबी विरोध तथा विवरणको जाँचबुझ गरी आवश्यक संशोधन र अद्यावधिकका कार्य सम्पन्न गरिएको आयोगले जनाएको छ।
अन्तिम मतदाता नामावली सर्वसाधारणको सहज पहुँचमा पुर्याउने उद्देश्यले आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मा प्रकाशन गरिएको छ। सातै प्रदेश, जिल्लागत, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रगत, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रगत तथा स्थानीय तहगत मतदाता सङ्ख्याको विवरणसमेत आयोगको वेबसाइटमा सार्वजनिक गरिएको जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.