काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ। मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो।
लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खस आर्य र थारू तर्फको मतगणना पनि राति अबेर सकिएको उनले बताए। उनका अनुसार सबैको मतपरिणाम रुजु गर्ने र नतिजा सार्वजनिक गर्ने तयारी छ। अन्य पदहरूको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो।
मतगणना कार्य झन्डै एक हप्तामा सकिएको हो। असोज २३ गते मतदान गरी सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो।
अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो। १४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए।
उनका अनुसार गणना शुरू भएकै दिनदेखि २५ समूह बनाएर गणना गराइएको थियो। मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सृजना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनले सुनाए।
यस पटक झन्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनले बताए। कूल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो।
अघिल्लो महाधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालको दाबी छ। उनका अनुसार प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दशैँ लगत्तै गर्ने तयारी भएको छ। त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन्।
खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने
महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचना आफैँले मर्मत गर्ने काग्रेसले जनाएकाे छ। सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने भएको हो।
असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा पुगेको क्षति पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन कांग्रेसले आफ्नै खर्चमा नयाँ दुबो रोप्ने तथा मर्मत सम्भार गर्ने सम्झौता गरेको छ।
काठमाडौँ महानगरपालिकाको नियम र मापदण्डअनुसार खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई जिम्मेवारी दिएको छ।
मर्मत सम्बन्धी सम्झौतापत्रमा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चभित्रका सम्पूर्ण भागहरूमा भूमि सम्म्याएर उच्च गुणस्तरको दुबो घाँस रोप्ने र प्राविधिक रेखदेखसहित त्यसको उचित स्याहार गरिनेछ। यस कार्यका लागि लाग्ने सम्पूर्ण आर्थिक भार तथा लागत नेपाली कांग्रेस स्वयंले बेहोर्ने सहमति भएको दुलालले जानकारी दिए।
पुनःस्थापनाका लागि ४५ दिनको समयसीमा निर्धारण गरिएकोमा शुरूआती १५ दिनभित्र दुबो रोप्ने कार्य सम्पन्न गरिनेछ भने बाँकी ३० दिन दुबो हुर्काउने, सिँचाइ गर्ने र पूर्ण रूपमा हराभरा बनाइने छ।
दुबो रोप्ने एवं स्याहार संरक्षण गर्ने कार्यमा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिलाई कांग्रेस केन्द्रीय कार्यालयले स्वयंसेवकको जिम्मेवारी सुम्पिएको छ। यसको संयोजन काठमाडौँ महानगरका सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन्। काम पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौँ महानगरपालिकाको मापदण्डअनुसार महानगरलाई बुझाउन योग्य अवस्थामा खुलामञ्च परिसर हस्तान्तरण गरिने वैद्यले बताए।
कूल सम्झौता रकममध्ये ८० प्रतिशत पेस्की उपलब्ध गराइने र बाँकी २० प्रतिशत रकम कार्य सम्पन्न भएपछि प्रदान गरिने वित्तीय सम्झौतापत्रमा उल्लेख छ। सार्वजनिक कार्यक्रम आयोजना गरिसकेपछि सो स्थललाई अझ सुन्दर र व्यवस्थित बनाएर फर्काउने कांग्रेसको यो कदमले नागरिकस्तर तथा वातावरणीय वृत्तमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.