एचआइभीको उच्च जोखिममा रहेका समुदाय सचेतनाबाटै वञ्चित

एचआइभीको उच्च जोखिममा रहेका समुदाय सचेतनाबाटै वञ्चित

82
SHARES

काठमाडौँ – समावेशी मञ्च नेपालका कार्यकारी निर्देशक डिलु बुदुजा (बद्री पुन) र प्रतिनिधिसभा निर्वाचनमा अन्य पहिचानकी एक मात्र उम्मेदवार पिंकी राईले एचआइभीको जोखिममा रहेका समुदाय परीक्षण र सचेतनाबाटै वञ्चित भएको बताएका छन्।

उनीहरूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका सबै समूहलाई एचआइभी तथा यौनसङ्क्रमणसम्बन्धी सूचना र सेवामा समान पहुँच नदिइएको भन्दै ध्यानाकर्षण गराएका छन्।

मायाको पहिचान नेपाल र नेशनल फेडेरेसन अफ जीएसएम नेपालको सहकार्यमा आयोजित सरोकारवालासँगको छलफलमा उनीहरूले समुदायका विभिन्न समूहको वास्तविक अवस्था पहिचान गर्न अनुसन्धान गर्नुपर्ने र एचआइभीसम्बन्धी आधारभूत जानकारी उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन्।

समावेशी मञ्च नेपालका कार्यकारी निर्देशक डिलु बुदुजा (बद्री पुन) ले पुरुष बाइसेक्सुअलहरू खुलेर अगाडि आएको अवस्था भए पनि बाइसेक्सुअल महिलाका समस्या गम्भीर रहेको बताए।

उनले नेपालको एचआइभी तथा यौनसङ्क्रमणसम्बन्धी कार्यक्रमको इतिहासमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका लेस्बियन, बाइसेक्सुअल महिला र तेस्राेलिंगी पुरुषलाई समेट्न नसकेको बताए।

उनका अनुसार राज्यका निकाय, विभिन्न सङ्घसंस्था, युएनडिपी, ग्लोबल फन्ड तथा समुदायभित्रै काम गर्ने संस्थाहरूले समेत यस समुदायको अवस्था पहिचान गर्न अनुसन्धान गर्नुपर्ने थियो। अनुसन्धान गर्न नसकेको अवस्थामा पनि एचआइभी कसरी सर्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने आधारभूत सूचना पाउने अधिकारबाट समुदायलाई वञ्चित गर्न नहुने उनको भनाइ थियो।

बुदुजाले समुदायका लागि अनुसन्धान गरेर आवश्यक सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए। अनुसन्धान हुन नसके पनि एचआइभीसम्बन्धी आधारभूत जानकारी प्राप्त गर्ने अधिकारबाट समुदाय पूर्ण रूपमा वञ्चित भएको उनको गुनासो थियो।

उनले भने, “कम्तीमा पनि अनुसन्धान गर्न नसकेता पनि एचआइभी हामी मानव भएको हुनाले यो–यो कारणले लाग्छ है भन्ने सूचना प्राप्त गर्ने अधिकार थियो। तर, त्योबाट टोटल्ली जिरो भएको हुनाले अबको कार्यक्रममा न त सरकारले बहाना गर्न पाउँछ, न त युएनडिपीले, न त ग्लोबल फन्डले।”

बुदुजाले यस विषयमा आफूले विगतदेखि नै आवाज उठाउँदै आएको बताए। ब्लु डायमन्ड सोसाइटीमा कार्यरत रहँदा पनि यही विषयका कारण आफू विवादित भएको उनको भनाइ थियो।

उनले भने, “तर पनि मैले मेरो इस्युलाई कहिले पनि डगमगाइनँ। अहिले आएर पनि यही इस्यु उठाउँछु, बढाउँछु नै। त्यसै भएर कोही कसैले बहाना गर्ने र बिर्सिने काम नगर्नु।”

उनले एचआइभीसम्बन्धी कार्यक्रम बनाउँदा जोखिममा रहेका समुदायका सबै समूहलाई समेट्नुपर्ने र उनीहरूलाई आवश्यक सूचना तथा सेवा उपलब्ध गराउनुपर्ने बताए।

कन्डम किने पनि लुब्रिकेन्ट पाउन समस्या

प्रतिनिधिसभा निर्वाचनमा अन्य पहिचानकी एक मात्र उम्मेदवार पिंकी राईले एचआइभी रोकथामका लागि आवश्यक सामग्री प्राप्त गर्नसमेत समस्या रहेको बताइन्।

उनका अनुसार पछिल्लो डेढ वर्षदेखि कतिपय व्यक्तिले कन्डम किनेर प्रयोग गरिरहेका छन्। तर, लुब्रिकेन्ट किन्न नपाउने र बजारमा पाइने सामग्री महँगो हुने समस्या छ।

राईले मेडिकलमा पाइने लुब्रिकेन्ट महँगो हुनुका साथै थोरै समयका लागि मात्र पुग्ने भएकाले कतिपयले त्यसको सट्टा अन्य सामग्री प्रयोग गरेको आफूले पाएको बताइन्।

उनले भनिन्, “कन्डम हामी विगत एक–डेढ वर्षदेखि किनेरै चलाउँछौँ भने लुब्रिकेन्ट किन्न नपाइएको अवस्था छ। मेडिकलमा पाइनेहरूमा त्यो अलि महँगो भएको र थोरै दिनका लागि, सानो टाइमका लागि मात्रै हुने भएकाले लुब्रिकेन्टमा धेरै समस्या हुने गरेको छ।”

राईले लुब्रिकेन्टको अभाव र महँगो मूल्यका कारण जोखिमपूर्ण विकल्प प्रयोग गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक रहेको बताइन्। आवश्यक सामग्री सहज र किफायती रूपमा उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो। राईले एचआइभी रोकथामका लागि समस्याको सतही समाधानमा मात्र केन्द्रित नभई आधारभूत तहदेखि नै काम गर्नुपर्ने बताइन्।

उनले पुतली र कोकुनको उदाहरण दिँदै समुदायका विभिन्न समूहलाई हेर्ने दृष्टिकोण र जोखिमसम्बन्धी बुझाइमा पुनर्विचार गर्नुपर्ने धारणा राखिन्। उनले भनिन्, “म एउटा पुतली भएँ भने अशोक चाहिँ एउटा कोकुन हो। उहाँबाट नै म हुन्छ। त्यसै भएर हामीले सेक्स वर्कर, ट्रान्सजेन्डरबाट हाइ रिस्क हुन्छ भन्ने मानसिकता सबैको छ। यो हामीमा अलिकति कमै हुन्छ।”

राईका अनुसार यौनकर्मी तथा तेस्रोलिङ्गी समुदायलाई मात्र एचआइभीको उच्च जोखिमसँग जोडेर हेर्ने सोचले अन्य समूहको जोखिमलाई ओझेलमा पार्न सक्छ। आफूहरू सचेत भइसकेको ठान्ने व्यक्तिहरूमा समेत आवश्यक जानकारी र सेवाको अभाव हुन सक्ने भएकाले आधारभूत तहदेखि नै सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

उनले एचआइभी रोकथामका कार्यक्रमले जोखिममा रहेका सबै समूहलाई समेट्नुपर्ने र समुदायका वास्तविक आवश्यकता पहिचान गर्नुपर्नेमा जोड दिइन्।

राईले नेपालमा एचआइभीको अवस्था र जोखिमबारे चर्चा गर्दै रोकथामका उपायमा सुरुदेखि नै ध्यान दिनुपर्ने बताइन्। उनले विगतमा एचआइभीको जोखिम न्यूनीकरण हुँदै गएको भनिए पनि अहिले पुनः जोखिम बढेको आफ्नो बुझाइ रहेको उल्लेख गरिन्।

उनले भनिन्, “यस्तै हो भने अबको ३०–४० सम्म पुग्न त पार्टनरलाई पहिला टेस्ट गरेर अनि मात्रै बिहेको कुरा हुने अवस्था हामीले सिर्जना गर्न सक्छौँ।”

राईले आफूले चिनेजानेका व्यक्तिलाई निजी अस्पताल तथा मेडिकलमा परीक्षणका लागि पठाउँदा बढी शुल्क लिइएको गुनासोसमेत सुनेको बताइन्।

उनका अनुसार परीक्षणका लागि जाने व्यक्तिले कति शुल्क तिर्नुपर्ने हो भन्ने स्पष्ट जानकारी पाउनुपर्ने र अनावश्यक आर्थिक भारबाट जोगाउनुपर्ने आवश्यकता छ।

उनले भनिन्, “कतिपय मैले पनि मेरा फ्यानहरूलाई मैले चिनेको प्राइभेट हस्पिटल र मेडिकलहरूमा पठाउँदाखेरि अलि बेसी पैसा लियो, यति लियो, त्यति लियो भन्ने कुरा, अनि कसैले नगर्ने, पैसा बेसी लिनुपर्‍यो भन्ने गुनासाहरू पनि मैले धेरै सुनेको छु।”

राईले एचआइभी परीक्षण सहज, सुलभ र पहुँचयोग्य बनाउन के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाले ध्यान दिनुपर्ने बताइन्।

उनको भनाइमा एचआइभी रोकथामका लागि समुदायलाई आधारभूत जानकारी दिनु, आवश्यक सामग्री उपलब्ध गराउनु, परीक्षणमा सहज पहुँच सुनिश्चित गर्नु र सेवाको शुल्क पारदर्शी बनाउनु आवश्यक छ।

समाचार शेयर गर्नुहोस्
82
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.